भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको विस्तारा एयरलाइन्सको विमानमा बम नभएको पुष्टि भएको छ।
मंगलबार साँझ नेपाली सेनासहितका सुरक्षाकर्मीका टोलीले ६ घण्टा लगाएर गरेको जाँचपछि बम नभएको पुष्टि भएको हो।
‘विस्ताराको विमानको सुरक्षा जाँच पूरा भयो। केही पनि भेटिएन। सबै नर्मल छ,’ त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले भने, ‘अब विमान फर्किन पाउँछ।’
मंगलबार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेको विस्तारा एयरलाइन्सको विमानमा बम भएको हल्लापछि सुरक्षाकर्मीले विमान र यात्रुका लगेज जाँच गरेको थियो।
अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आईकाओ) को नियमानुसार यस्तो अवस्थामा कम्तीमा ६ घण्टासम्म सर्च गर्नुपर्ने हुन्छ।
विस्तारा एयरमा ‘बम’को खोजी भइरहँदा यस्तो देखियो विमानस्थलको अवस्था (तस्बिरहरू)
जहाजमा बम रहेको हल्लापछि बम डिस्पोजलसहितको टोलीले विमानलाई छुट्टै राखेर यात्रुहरूको लगेज एक्स–रे गरेको थियो।
यस्तै विमानभित्र अहिले नेपाली सेनाको बम डिस्पोजल टोली, बम पत्ता लगाउने कुकुरसहित नेपाल प्रहरीले संयुक्त रूपमा सर्च गरेको थियो।
काठमाडौँ उपत्यका प्रहरी प्रमुख एआईजी किरण वज्राचार्यका अनुसार, विमानमा १४७ जना यात्रु र १० जना क्रू मेम्बर (विमानका कर्मचारी) थिए।
विमानस्थल केहीबेर अवरुद्ध हुँदा यात्रुको भिड लागेको थियो।
Shares

प्रतिक्रिया