नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको तयारी भएको छ। प्रहरीमा जनपदतर्फ २० एसएसपीको दरबन्दी रिक्त छन्।
केही डीआईजीमा बढुवा भएका र केही एसएसपीबाटै अवकाश भएपछि रिक्त पद संख्या २० पुगेको हो। यसअघि एआईजी र डीआईजी बढुवा भएकाले अब एसएसपीमा बढुवा गर्न लागिएको हो। प्राविधिकतर्फ रिक्त एसएसपीमा बढुवा सिफारिस भइसकेको छ।
जनपदतर्फ भने आकांक्षीको संख्या धेरै हुँदा बढुवा सिफारिसमा सकस परेको हो। रिक्त २० पदका लागि २ ब्याचका एसपीहरू लबिइङ गरिरहेका छन्। २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका एसपीहरू अहिले बढुवाका लागि जोड गरिरहेका छन्।
यीमध्ये पनि दुईपटकमा एसपी भएका ३८ जना मुख्य दाबेदार देखिएका छन्। एसपीकै वरीयता एसएसपीमा पनि निश्चित नभएकाले यसअघि पछि परेकाहरू पनि शक्तिकेन्द्र रिझाएर बढुवा हुने कोसिसमा छन्।
९ वर्षपहिले नै एसपीमा बढुवा भएका विमल बस्नेत यसपटक एसएसपी बन्ने लाइनमा छन्। हालका एसपीमा उनी सबैभन्दा वरिष्ठ हुन्। तर कारबाहीमा परेका कारण उनको बढुवा रोकिएको थियो।
२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएको टोलीका उनी मात्रै एसपीमा रोकिएका हुन्। उनकै ब्याचका सिद्धिविक्रम शाहसहितका अधिकारीहरू डीआईजीमा बढुवा सिफारिस भइसकेका छन्। बाँकी एसएसपी छन्। तर कारबाहीकै कारण बस्नेत भने छुटेका थिए। उनी यसपटक एसएसपीमा बढुवा हुने करिब निश्चित छ।
यस्तै, २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर पछि परेका एसपीहरू पनि अहिले बढुवाको लागि लबिइङ गरिरहेका छन्। उनीहरू २०५८ को टोलीसँग २०७५ माघमा एसपीमा बढुवा भएका थिए।
२०५६ को टोलीका गोविन्द अधिकारी, विनोद सिलवाल र विमलराज कँडेल पनि अहिले एसएसपीमा बढुवा हुने सूचीमा छन्।
बाँकी २०५८ सालको टोलीका एसपीहरू एसएसपी बन्ने सूचीमा छन्। यो ब्याचबाट रमेश थापा पहिलो नम्बरमा एसपी भएका थिए। उनी अहिले पनि अघिल्लो वरीयतामै बढुवा हुने सम्भावना बढी छ।
यस्तै प्रकाश रानाभाट, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपमशमशेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर पनि एसएसपीमा बढुवा हुन लागिरहेका छन्। रन्जु सिग्देल अहिले एसएसपीमा बढुवाका लागि एक्लो महिला प्रतिस्पर्धी हुन्।
कमल थापा भने अहिले अनुसन्धानमा तानिएकाले बढुवाको सम्भावना कम छ। उनीमाथि भैँसेपाटीको हनी ट्र्याप प्रकरणमा अनुसन्धान भएको थियो। अहिले पनि उनीमाथि अनुसन्धान गर्न जिल्ला सरकारी वकिल कार्यालयले निर्देशन दिएको छ। तत्कालै उनको बढुवा हुने सम्भावना कम देखिएको छ।
यही ब्याचका तर एसपी बढुवामा पछि परेका टोलीबाट पनि केही अधिकारीहरू एसएसपीमा बढुवा हुनेछन्। २०७७ वैशाखमा एकसाथ २४ डीएसपीलाई एसपीमा बढुवा गरिएको थियो।
त्यतिबेला पहिलो नम्बरमा बढुवा भएका थिए तुलबहादुर कार्की। उनीसहित होबिन्द्र बोगटी, वेद विष्ट, राकेश सिंह, राजीवबहादुर बस्नेत, सन्तोष सिंह राठौर, शिवकुमार श्रेष्ठ, शन्तिराज कोइराला, संजय सिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल र सन्तोषकुमार भट्टराई मध्येबाट पनि केही एसएसपीमा बढुवा हुनेछन्।
यही ब्याचका प्रकाश मल्ल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रवीण धिताल, दयानिधि ज्ञवाली र राजेन्द्रप्रसाद धमला पनि एसएसपी बन्न लबिइङमा छन्। उनीहरू सबै २०७७ मा एसपीमा बढुवा भएका हुन्।
सँगै भर्ना भए पनि २०७७ वैशाखभन्दा पछि एसपीमा बढुवा भएका अधिकारीको भने अहिले एसएसपी बन्ने सम्भावना न्यून छ।
Shares

प्रतिक्रिया