समाज


बाबु र भाइको हत्या भएपछि राति साढे ३ बजे स्कुटरमा निस्केका थिए मिलन

बाबु र भाइको हत्या भएपछि राति साढे ३ बजे स्कुटरमा निस्केका थिए मिलन

उजिर कार्की
पुस ८, २०८१ सोमबार २०:४५, काठमाडौँ

भक्तपुरको बालकोटमा मृत भेटिएका बाबु–छोराको हत्या शनिबार राति नै भएको खुलेको छ। प्रारम्भिक अनुसन्धानपछि घटना शनिबार राति नै भएको र हत्यामा मृतककै जेठा छोराको जेठा छोराको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको हो। 

सूर्यविनायक नगरपालिका २ बालकोटस्थित डेरामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षका प्रवीण आचार्य मृत फेला परेका हुन्। 

सोमबार बिहान बाहिरबाट ताला लगाएको अवस्थामा भित्र छुट्टाछुट्टै कोठाभित्र उनीहरूको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। 

शनिबार राति ३ बजेअगाडि नै हत्या भइसकेको निष्कर्ष प्रहरीको छ। घटनास्थल आसपासका सीसीटीभी फुटेज, लोकेसन ट्र्याक लगायतका आधारमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

उनीहरूसँगै बसेका जेठा छोरा मिलन आचार्यको घटनामा संलग्नता रहेको आशंकामा प्रहरीले उनको खोजी गरिरहेको छ। 

मिलन शनिबार राति साढे तीन बजे खैरो रङको स्कुटरमा चढेर सो स्थानबाट  गएको सीसीटीभी फुटेजबाट खुलेको छ। आइतबार बिहान उनी सातदोबाटो पुगेको पनि अनुसन्धानमा प्रहरीले पत्ता लगाएको छ। तर त्यसपछि कहाँ गए भन्ने पत्ता लगाउन सकेको छैन। 

स्कुटर भने मिलनको नभएको खुलेको छ।

‘हामी स्कुटरसम्म पुगेका छौँ। तर एउटाले उसलाई दिएको छु भन्छ, उसले अर्कैले चलाएको थियो भन्छ, हामी थप प्रमाण जुटाएर हेर्दैछौँ,’ प्रहरी अधिकारीले भने। 

सबै प्रमाणको आधारमा उनको खोजी गरिरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए। 

दुवैजनाको हत्यामा कोठाभित्रैका समान प्रयोग भएको प्रहरीको भनाइ छ। मृतक दुवैको टाउको लगायतका भागमा चोट देखिएको छ।

जेठा छोरा मिलन र कान्छा प्रवीण पढ्नका लागि त्यहाँ २ वटा कोठा भाडामा लिएर बसेका थिए। मिलन लोकसेवाको तयारी गरिरहेका र कान्छा प्रवीण विज्ञान संकायमा  स्नातक पढिरहेका थिए। बाबु कुलप्रसाल जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख (नायब सुब्बा) पनि हुन्। 

उनी एक साताअघि नै काठमाडौँ आएको खुलेको छ। कार्यालयको काम पनि रहेको र छोराहरूसँग पनि भेटघाट गर्ने भनेर काठमाडौँ आएका उनको गत शुक्रबार कार्यालयका कर्मचारीसँग कुरा भएको पाइएको प्रहरीले जनाएको छ। कर्मचारीसँग कुरा हुँदा उनले शुक्रबार आफू हुलाक विभागमा रहेको बताएका थिए। 

नजिकै डेरामा बस्नेहरूले प्रहरीलाई बताए अनुसार शनिबार बेलुका उनीहरू तीनैजनाले सँगै खाना खाएका थिए। तर आइतबार बिहान भने उनीहरूका दुवै कोठामा चाबी लगाइएको थियो। छिमेकीहरूले बाबु आएकाले उनीहरू बिहानै कतै गएको होलान् सोचेका थिए।  

आइतबार बेलुकासम्म पनि ढोका खुलेन। सोमबार बिहानसम्म पनि ढोकामा ताला लगाइरहेको देखेपछि सोही डेरा नजिक बस्ने मानिसहरूले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी परिसर भक्तपुरको टोली पुगेर कोठा फोडेर हेर्दा भित्र बाबुछोराका शव छुट्टाछुट्टै कोठामा फेला परेको थियो। 

प्रहरीले सोधखोज गर्दा उक्त डेरामा अर्का व्यक्ति पनि बसेको खुलेको थियो। त्यसपछि ती व्यक्तिको खोजी गर्न प्रहरीले सुरु गरेको हो। तर मिलन अझै सम्पर्कमा छैनन्। 

घटनास्थलमा चिकित्सकसहित प्रहरीले अनुसन्धान गरेको छ। दुवै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad