इलाका प्रशासन कार्यालय लहानले अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरुआत गरेको छ।
सूचना अधिकारी शशिकुमार चौधरीले ४० वटै वडा कार्यालयबाट नागरिकले सहज ढङ्गबाट त्रुटिरहित र जन्मदर्तासँगै नागरिकता विवरणमा एकरुपता ल्याउने उद्देश्यले यो सेवा सुरु गरेको जानकारी दिए।
उनले भने, ‘वडामा अनलाइन दर्ता गर्दा केही कागजात अपुग भए अनलाइनमै इलाका प्रशासनले सच्याउन लगाउँछ। अनलाइन भइसकेका कागजात हेरेर नागरिकता दिने गर्छ।’
विस्तारै कागज लिएर आउनु नपर्ने बनाउने कार्य भइरहेको उनले बताए।
कार्यालयका अनुसार वडामा अनलाइन भरिसकेका सेवाग्राही कार्यालयबाट अब नागरिकता लिएर मात्र फर्किन्छन्। पहिलेजस्तो धेरैपटक दौडधुप गर्ने अब हुँदैन।
इलाका प्रशासन कार्यालय लहनाको कार्यक्षेत्रमा लहान नगरपालिका, भगवानपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिकाका सबै वडा र धनगढीमाई नगरपालिकाको वडा नं १२, १३ र १४ यस्तै लक्ष्मीपुरपतारी गाउँपालिकाका वडा नं २, ६ र नवराजपुर गाउँपालिकाको वडा नं १ रहेको कार्यालयले जनाएको छ। रासस
Shares

प्रतिक्रिया