यतिबेला रुघाखोकी लागेका बिरामीको सङ्ख्या बढ्दै गएको छ। त्यसो त अन्य समयमा रुघाखोकी लागेमा दुई चार दिनमा निको हुने गरेकामा यो वर्ष भने दुई हप्ताभन्दा बढी समय लाग्ने गरेको हो।
उनले भने, ‘रुघाखोकीसँगै घ्यारघ्यार भए निको हुन अरू बढी समय लाग्छ।’ खोकी, स्वास्वा हुनेजस्ता समस्या लिएर बिरामी आउने गरेको भन्दै उनले अझै एक महिना यस्तो समस्या रहने बताए। दुई महिनायता यो समस्या बढी मात्रामा देखिएको हो। सरकारी अस्पताल, मेडिकल कलेजहरू र निजी अस्पताल एवं क्लिनिकमा समेत समेत यस्ता बिरामीको चाप रहेको डा खतिवडा बताउँछन्। उनले मास्कको प्रयोग गर्न, भीडभाडमा नजान सुझाव दिए।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा डा शीतल अधिकारी स्वासप्रश्वासका बिरामीमा अहिले बढी समस्या देखिएको बताउँछन्। रुघाखोकीसँगै अहिले देखिएको प्रदूषणले तत्कालीन रूपमा खोकी र श्वास फेर्ने समस्याबाहेक दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने र रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम रहेको उनको भनाइ छ।
विशेषगरी बालबालिका, वृद्ध, मुटु र मिर्गौलाका रोगीहरूलाई जोगाउनुपर्नेमा उनको जोड छ। हाल अस्पतालमा आउने बिरामीमध्ये धेरैलाई खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र कतिपयको खकारमा कालो र फोहर मिसिएकोजस्तो देखिने गरेको छ। रुघाखोकीसँगै देखिएको श्वासप्रश्वासको समस्या निको हुन समय लागेको उनी बताउँछन्।
पुष्पाञ्जली अस्पतालका फिजिसियन डा भोजराज अधिकारी आफूले मधुमेह, थाइराइड, उच्च रक्तचापका बिरामी धेरै हेर्ने गरेकोमा अहिले रुघाखोकी र श्वासप्रश्वासका बिरामीहरू धेरै आउने गरेको बताउँछन्। उनले भने, ‘दैनिक कम्तीमा १० जना श्वासनली बज्यो, छाती घ्यारघ्यार भयो, रुघा निको भएन भनेर आउनुहुन्छ।’ कतिपय भर्खरै निको भएको तर पुनः समस्या आयो भन्दै अस्पताल आउने गरेको उनले जानकारी दिए।
यस्तो समस्या निको हुन धेरैलाई दुई हप्ता लागेको उनले बताए। पहिले रुघाखोकी दुई तीन दिनमा निको हुने गरेको थियो। यसको कारण बदलिएको कोभिड पनि हुनसक्नेतर्फ उनले सङ्केत गरे। इन्फुन्जा नेपालमा रहेको भन्दै उनले भने, ‘रोग के कारणले लागेको हो भन्ने हामीकहाँ अध्ययन भएको छैन।’
वायु प्रदूषण अर्को कारण हुनसक्ने डा अधिकारीको भनाइ छ । अहिलेको समयमा विवाह, व्रतबन्ध, भोजभतेरजस्ता मानिसको भीड हुने कार्यक्रम धेरै भएकाले पनि यो फैलिएको डा अधिकारी बताउँछन्।
यससँगै राजनीतिक समर्थन र विरोधका कार्यक्रममार्फत पनि सङ्क्रमण फैलिएको उनले बताए। कोभिडको समयमा अपनाईएका स्वास्थ्य सुरक्षाका विधिहरू अपनाउन डा. अधिकारीको सुझाव छ। रासस
Shares

प्रतिक्रिया