समाज


फर्टिलिटी सेन्टरमा किशोरीको डिम्बको व्यापार : स्वास्थ्यमा पर्न सक्छ यस्तो असर

कानुन बनाएर नियन्त्रण गर्न विज्ञको सुझाव, स्वास्थ्य मन्त्रालयले बनायो समिति
फर्टिलिटी सेन्टरमा किशोरीको डिम्बको व्यापार : स्वास्थ्यमा पर्न सक्छ यस्तो असर

एआईनिर्मित सांकेतिक तस्बिर


प्रज्ञा तिम्सिना
साउन ५, २०८२ सोमबार २०:२०, काठमाडौँ

किशोरीहरूबाट डिम्ब (अण्डा) निकालेर अर्को व्यक्तिमा प्रयोग गरेको आरोपमा असार २९ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिकित्सकसहित ५ जनालाई पक्राउ गर्‍यो।

१८ वर्षमुनिका किशोरीहरूको डिम्ब झिकेर व्यापारिक प्रयोजनमा उपयोग गरेको आरोपमा उनीहरूलाई थुनामा राखी अनुसन्धान गर्न प्रहरीले भोलिपल्ट अदालतमा उपस्थित गरायो।

तर, काठमाडौँ जिल्ला अदालतले थुनामा राखेर अनुसन्धानका लागि अनुमति दिन अस्वीकार गरिदियो। अदालतले थुनामा राख्न अनुमति नदिए पनि सीआईबीले अनुसन्धान रोकेको छैन। क्लिनिकका सञ्चालक, चिकित्सक र अन्य कर्मचारीलाई हाजिरी जमानीमा राखेर सोधपुछ र अनुसन्धान गरिरहेको छ।

काठमाडौँको बबरमहलस्थित होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालिको टिममाथि अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता एसपी युवराज खड्काले बताए। उनीहरूमाथि आर्थिक प्रलोभनमा पारेर अवैध डिम्ब बेचबिखन गरेको आरोप छ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले अहिले बालबालिका ऐनअन्तर्गतका कसुरमा अनुसन्धान चलिरहेको र अनुसन्धान गर्दै जाँदा पछि अन्य कसुर पनि स्थापित भए त्यसैअनुसार अभियोजन गर्न सकिने नेपालखबरसँग बताए।

‘हाजिरी जमानीले छोडे पनि उनीहरूमाथि बालबालिका ऐन अन्तर्गत अनुसन्धान भइरहेको छ,’ काफ्लेले भने, ‘१८ वर्षमुनिका बालबालिकामा डिम्बको कारोबार भएकाले बालबालिका ऐन त आकर्षित हुन्छ नै, भोलि अन्य कसुर पनि स्थापित हुन सक्ने हुन्छ। मुद्दा दर्ता भइसकेको छैन। अनुसन्धानकै चरणमा छ।’

सीआईबीका अनुसार अहिलेसम्म दुईजना किशोरीले आफूलाई औषधि दिएर डिम्ब निकाल्ने गरेको भन्दै उजुरी दिएका छन्।

अनुसन्धानको खुलासा : यसरी गरिन्थ्यो डिम्बको व्यापार
रजस्वला भएको तेस्रो दिन एजेन्ट मार्फत किशोरीहरूलाई होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालिमा लैजाने गरिथ्यो।  किशोरीहरूलाई १० दिनसम्म राखेर र नाइटोवरपर १० वटा सिरिन्ज लगाउने गरिन्थ्यो। १३ औँ दिनमा बेहोस बनाएर ओभरीमा जम्मा भएको डिम्ब निकालेर निःसन्तानहरूलाई ट्रान्सफर गरिन्थ्यो। 

किशोरीहरूमा महिनावारी हुने बित्तिकै सुई लगाउने र डिम्बाशयलाई हर्मोनको माध्यमबाट विस्तार गरेर धेरै अण्डा बनाउने गरिन्थो। यो गरेबापत किशोरीलाई १५ हजारसम्म दिने गरिन्थ्यो। 

यसो गरिरहँदा किशोरीहरूमा अनेक स्वास्थ्य समस्या देखिन थाल्यो। किशोरीहरू दुब्लाउने, खाना अरुचि हुने र महिनावारीमा गडबडी हुन थालेपछि यो घटना उनीहरूको अभिभावकसम्म पुगेको थियो। घटनाको विवरण लिएर अभिभावक सहित २ किशोरी ब्युरोमा उजुरी दिन पुगेका थिए।

डिम्ब निकाल्नमा संलग्न प्रसूति रोग तथा आईभीएफ बिशेषज्ञ डा स्वस्ति शर्मा, असीम अधिकारी, मालिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधान पक्राउ परेका थिए। तर, कानुन नभएका कारण काठमाडौँ जिल्ला अदालतले थुनाबाहिर नै राखेर अनुसन्धान  गर्न भनेपछि उनीहरूलाई हाजिरी जमानीमा छोडिएको हो।

डिम्ब निकाल्न सकिने किशोरी खोजिदिने एजेन्टलाई ४० हजार दिने गरेको र निःसन्तान दम्पतीहरूले क्लिनिक सञ्चालकहरूलाई २० लाखसम्म तिर्ने गरेको प्रहरी अनुसन्धानमा भेटिएको छ। 

सीआईबीले क्लिनिक सञ्चालकहरूले कृत्रिम गर्भधारण (आईभीएफ) प्रविधिको नाममा कानुन विपरीत किशोरीहरूको डिम्ब निकालेर बेचेको आरोपमा अनुसन्धान गरिरहेको छ। 

स्वास्थ्य मन्त्रालयले पनि सुरु गर्‍यो अनुसन्धान 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  १८ वर्षमुनिका किशोरीहरूको डिम्बको कारोबार गरेको घटना बाहिर आएपछि निसन्तान उपचार केन्द्रका नाममा खुलेका दुई सेन्टरमाथि छानबिन सुरु गरेको छ। 

मन्त्रालयले होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि र एन्जल फर्टिलिटी क्लिनिकको छानबिनका लागि समिति गठन गरेको हो। प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा ज्वाला थापाको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा मन्त्रालयमा कार्यरत डा सुनिता लम्साल र कानुन अधिकृत सुरेश चौलागाईं सदस्य छन्।  

कानुनको अभाव
नेपालमा डिम्बदान सम्बन्धी कानुन बनाउन विज्ञहरूले सुझाव दिएका छन्। १८ वर्षमुनिका किशोरीहरूको डिम्बको कारोबार गरेको घटना बाहिर आएपछि विज्ञहरूले कुन उमेर समूहलाई वीर्य र डिम्बदान गर्न दिने भन्ने विषयमा छलफल गरी ठोस नीति बनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन्। 

भेरी अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा कीर्तिपाल सुवेदी वीर्य र डिम्ब दान प्रक्रियालाई सुरक्षित र व्यवस्थित बनाउनुपर्ने बताउँछन्। 

‘हामीले कल्पना गर्नै नसक्ने घटना घटेको छ, यसले डिम्बको माग र आवश्यकतालाई पनि बुझाउँछ, यसले निसन्तानको समस्यामा नयाँ बहस सुरु गरेको छ। यस्ता घटनालाई नियन्त्रण गर्ने हो भने कानुनी प्रावधान बनाउनुपर्छ,’ डा सुवेदी भन्छन्, ‘डिम्बदान गलत होइन, तर किशोरीबाट लिनु गलत हो।’

आर्थिक प्रलोभनमा परेर किशोरीहरूले डिम्बदान गर्दा उनीहरूमा स्वास्थ्य समस्या देखिनसक्ने उनको भनाइ छ।

‘भारतमा पनि २१ वर्षमाथिका विवाहित र सन्तान भइसकेका महिलाले दिन पाउँछन्। यो प्रक्रिया गलत होइन तर गलत व्यक्तिमा गरियो त्यो गलत हो,’ उनले भने, ‘कति वर्षपछि डिम्बदान गर्न पाउने, कति वटा सन्तान जन्माएका महिलाबाट लिने भन्ने विषयमा बहस गर्न पर्छ, निसन्तान समस्या बढ्दो छ। कानुनी प्रावधान नभए भविष्यमा पनि यस्ता घटना आउन सक्छन्।’

ढिलो विवाह, बच्चा ढिलो योजना बनाउनु, जीवनशैलीका कारण निसन्तापनको समस्या बढ्दो रहेकाले सन्तान प्राप्तिका लागि अवैधानिक घटना हुन सक्नेमा अब सबैको ध्यान जानुपर्ने उनले बताए।

‘निसन्तापनको समस्या भएकालाई अरुको डिम्ब चाहिने रैछ भन्ने सन्देश दिएको छ। साथै कानुनी प्रावधान नभएका कारण लुकिछिपी गर्नुपरेको अवस्था उजागर गर्‍यो,’ उनले भने, ‘त्यसकारण पनि हामीलाई कानुन चाहिन्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार देशभर २५ वटा आईभीएफ सेन्टर  दर्ता भएर सञ्चालनमा छन्। आईभीएफ सेन्टरको मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले अनुगमन गर्छ। महाशाखाका अनुसार धेरै आईभीएफ सेन्टर काठमाडौँ उपत्यकामा सञ्चालित छन्। 

काठमाडौँमा १६ र ललितपुरमा ६ वटा, पोखरामा दुई, पर्सा, रूपन्देही र विराटनगरमा एकएकवटा छन्। कतिपय सेन्टरले कानुनी छिद्रको फाइदा उठाउँदै किशोरीको शरीरलाई प्रयोगशाला बनाएको पाइएको छ।

डिम्ब निकाल्दा किशोरीको स्वास्थ्यमा भयानक असर
कलिलो उमेरका किशोरीको डिम्ब जथाभावी झिक्दै जाने हो भने पछि उनीहरूमा  डिम्ब बाँकी नरहने चिकित्सक बताउँछन्। 

वरिष्ठ स्त्रीरोग विशेषज्ञ सुवेदी प्रत्येक महिनावारीमा महिलाको डिम्ब खेर जाने र डिम्ब सकिएपछि महिनावारी सुक्न सक्ने जोखिम रहेको बताउँछन्।

‘डिम्ब निकाल्ने औषधि प्रयोग गर्दा धेरै डिम्ब निस्कने भएकाले किशोरीको प्रजनन् क्षमतामा असर गर्न सक्छ। विवाह नगरेका, सन्तान नजन्माएका किशोरीको डिम्ब जथाभावी झिक्दै जाने हो भने भोलि उनीहरूका लागि नै डिम्ब बाँकी नरहन सक्छ,’ सुवेदीले भने, ‘अविवाहित र यौन क्रियाकलापमा सरिक नभएका किशोरीको योनीबाट अल्ट्रासाउन्ड गर्ने ब्रोप राखेर डिम्ब झिक्नु पर्छ, त्यो गाह्रो कुरा हो। आरोपित चिकित्सकहरूले कुन प्रयोग प्रयोग गर्नुभयो। किशोरीबाट डिम्ब निकाल्नु जोखिमयुक्त नै हो त्यसले उनीहरूको स्वास्थ्यमा असर पार्छ।’

त्यस्तै डिम्ब निकाल्न दिइने औषधिले पनि पछि के असर गर्छ भन्न नसकिने उनको भनाइ छ।

डा सुवेदी पुरुषको शुक्रकीट बन्ने र महिलाको डिम्ब बन्ने प्रक्रिया फरक भएकाले जथाभावी डिम्ब निकाल्न नमिल्ने बताउँछन्।

‘पुरुषहरूमा नियमित रूपमा शुक्रकीट बन्ने प्रक्रिया चलिरहन्छ तर डिम्बमा त्यस्तो नियमित प्रक्रिया हुँदैन,’ उनले भने, ‘डिम्बको सञ्चिति कम भएमा महिनावारी चाँडै सुक्ने र महिनावारी चाँडै सुक्दा हाड पातलो हुने, योनीमा सङ्क्रमण हुने, रक्तश्राव हुने, हार्मोनमा गडबडी भई पछि अण्डा नै उत्पादन नहुन सक्छ।’

विदेशमा के छ प्रावधान?
विश्वमा सन् १९७८ मा आईभीएफ विधि सुरु भए सँगै डिम्ब दान सम्बन्धी अनुसन्धान सुरु भएको मानिन्छ। सन् १९८४ मा डिम्बदानबाट पहिलोपटक बच्चा जन्माइएको थियो। अमेरिकाबाट सुरु भएको डिम्बदानको व्यवस्था हाल केही देशहरूमा लागू गरिएको छ। 

दक्षिण एसियाली देशहरूमा भारतमा मात्र डिम्बदान गर्ने कानुनी प्रावधान छ। भारतमा २१ वर्ष पुगेका विवाहित र बच्चा जन्माइसकेका महिलाले डिम्बदान गर्न पाउँछन्। 

कस्तो अवस्थामा चाहिन्छ अरुको डिम्ब?
वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा श्रीप्रसाद अधिकारी पछिल्लो समय ढिला विवाह गर्ने तथा ढिला बच्चा जन्माउने, असुरक्षित यौन सम्पर्क, असुरक्षित गर्भपतन, जथाभावी गर्भनिरोधक औषधिको सेवन, मोटोपन, असन्तुलित खानपान, मद्यपान, धूम्रपान आदिका कारण बाँझोपनको समस्या बढ्दै गएको बताउँछन्। 

महिलाको नियमित महिनावारी भइरहेको छ भने गर्भाशयमा महिनामा एकपटक अण्ड उत्पादन हुन्छ। महिनावारी भएको दिनबाट गन्ती गर्दा १४ दिनमा अण्डा उत्पादन हुन्छ। केही महिलामा योनी मार्ग, पाठेघरको मुख, पाठेघरको बनावट, डिम्बवाहिनी नलीको अवस्था ठीक नभएमा, डिम्ब धेरै उत्पादन हुने तर परिपक्व नहुँदा, पाठेघरको बनावटमा जन्मजात खराबी भएमा र पाठेघरको भित्री तहमा मासु पलाएमा अण्डा उत्पादन नभएर बच्चा नहुन सक्छ। 

सामान्यतया  विवाहित दम्पती एक वर्षसम्म सँगै बसेर कुनै अस्थायी साधन प्रयोग नगरी शारीरिक सम्पर्क गर्दा पनि गर्भाधान नभए त्यसलाई निःसन्तान समस्या वा बाँझोपन भनिन्छ। 

निःसन्तानको समस्या भएका महिलाको पाठेघरको सुरूवाती अवस्थालाई विस्तृत अध्ययन गरी महिनावारी हुने बित्तिकै सुई लगाइन्छ र उसको डिम्बाशयलाई हर्मोनको माध्यमबाट विस्तार गरेर अण्डा बनाइन्छ। तर, केही महिलामा डिम्ब (अण्डा) नै उत्पादन नहुने समस्या हुन्छ। पाठेघरले अण्डा उत्पादन नगरेपछि अन्य महिलाको अण्डा आवश्यक पर्छ। सो अवस्थामा अन्य महिलाको निकालेर प्रजनन् गराउने गरिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad