पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्नेहरुको कोरोना परीक्षण सुरु भएको छ।
त्यहाँ रहेका सबैको र्यापिड डायग्नस्टिक टेष्ट (आरडीटी) बिधिबाट परीक्षण गरिनेछ।
सो अपार्टमेन्टमा अहिले १ हजार ८८ जना रहेको अपार्टमेन्ट वेलफेर सोसाइटीले जनाएको छ।
संक्रमण भएका आमा छोरा बस्ने ए ब्लकबाटै र्यापिड टेष्ट सुरु गरिएको छ। तीन ठाउँबाट एक साथ परीक्षण भइरहेको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले बताए।
यो भवनमा २ सय ४२ जना छन्। संक्रमित भेटिएका परिवारको घरमा कार्यरत दुई जनालाई भने छुट्टै राखेर अन्तिममा परीक्षण गरिने सोसाइटीका सचिव तिलक खतिवडाले जानकारी दिए।
सोमबार यहाँ रहेका तीन जनालाई कोरोना संक्रमण भएको आशंकामा पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। ती मध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरु चैत ४ गते बेलायतबाट दोहा हुँदै काठमाडौं फर्किएका थिए।
उनीहरुसँगै कतार एयरलाइन्समा दोहाबाट फर्किएकाको पनि प्रहरीले खोजी सुरु गरेको छ। उक्त जहाजमा १ सय ५३ जना फर्किएका थिए। सनसिटीमा अहिले आवतजावत पुर्णरुपमा रोकिएको छ।
अपार्टमेन्टमा रहेका परिवारलाई खाद्य सामग्रीका लागि त्यहीँ लगिदिने गरी ग्रोसरीसँग मिलेर व्यवस्था गरिएको छ । ग्रोसरीले खानेकुराहरु प्याकेटमा ल्याएर गेटमा उपलब्ध गराउनेछ।
याे पनि:
सनसिटी अपार्टमेन्टमा स्वास्थ्यकर्मी, यसरी हुँदै छ र्यापिड टेस्ट (फोटोफिचर)

प्रतिक्रिया