समाज


ट्रमा सेन्टरमा ‘दुरविन’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया

ट्रमा सेन्टरमा ‘दुरविन’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया

फाइल तस्बिर


नेपालखबर
भदौ ९, २०८२ सोमबार १३:५६, काठमाडौँ

राष्ट्रिय ट्रमा सेन्टरमा इन्डोस्कोपिक स्पाइन सर्जरी (दुरविनबाट गरिने मेरुडण्डको शल्यक्रिया) प्रविधिबाट गरिने भएको छ। दुरविनबाट मेरुडण्डको शल्यक्रिया गर्दा बिरामीलाई धेरै सहज हुने छ। 

सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा बद्री रिजालले दुरविन प्रविधिबाट मेरुदण्डको गरिने शल्यक्रियाको सबै तयारी पूरा भइरहेको जानकारी दिए। शल्यक्रियाका लागि सेन्टरमा उपकरण आइसकेको छ। सेन्टरमा यसअघि नशा च्यापिएकालाई माइक्रोस्कोपिक सर्जरी (थोरै चिरेर गरिने शल्यक्रिया) हुने गर्दथ्यो। 

उनले चीनमा सेन्टरका तीन जना चिकित्सकलाई तालिममा पठाएर यही महिनाभित्र नै सेवा सञ्चालन गर्ने बताए। उनका अनुसार दुरविनबाट सानो प्वाल पारेर मेरुदण्डमा नशा च्यापिएको शल्यक्रिया गरिन्छ। ‘मेरुदण्डमा नशा च्यापिएको हुन्छ र चोटपटकले गर्दा पनि नशा च्यापिएको हुन्छ, दुरविनबाट शल्यक्रिया गर्दा रक्तस्राव कम हुने, ठूलो घाउ नहुने र अस्पतालको बसाइ पनि बिरामीको कम हुन्छ’, उनले भने।

सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा रिजालले इन्डोस्कोपिक स्पाइन सर्जरी महँगो भए पनि बिरामीलाई सरकारले उपलब्ध गराएको १ लाखमा गर्ने बताए। सेन्टरका वरिष्ठ हाडजोर्नी शल्य रोग विशेषज्ञ डा राजेश चौधरी स्पाइन सर्जरी जटिल भएकाले समयमा नै बिरामीले उपचार गर्न सके निको हुने बताउँछन्। 

‘बिरामीहरु मेरुदण्ड दुख्यो भने इन्जेक्सन लगाएर केही समय सञ्चो हुने चलन बिरामीलाई छ, यसले केही बेर सन्चो भएको महसुस गरे पनि दीर्घकालीन उपचार यो होइन’, उनले भने, ‘मेरुदण्डको नशा च्यापिएरको दीर्घकालीन समस्या समाधान शल्यक्रिया नै हो।’

यस्तै सेन्टरले घुँडा र हिपको जोर्नीको प्रत्यारोपण पनि गर्दै आइरहेको छ। घुँडा खिइएको, उमेर पुगेपछि घुँडाले काम नगर्ने, घुँडा बिग्रेको घुँडाको नशा च्यातिएकोजस्ता घुँडाका समस्याको पनि प्रत्यारोपण हुँदै आएको सेन्टरका मेडिकल सुपरिन्टेन्डेन्ट डा रिजालले जानकारी दिए। हप्तामा १० देखि १५ वटा प्रत्यारोपण अस्पतालमा हुँदै आएको छ। 

‘जोर्नी खिइएर मानिसलाई हिँड्न र नसक्ने, उठ्न सक्दैनन्। जोर्नी खिइएर जोर्नीको आकार बिग्रेर हिँड्न नै समस्या हुने गर्दछ, चोटपटकले गर्दा जोर्नी बिग्रेपछि जोर्नी फेर्नुपर्ने अवस्था हुने गर्दछ’, उनले भने, ‘ती सबैको शल्यक्रियामार्फत उपचार गरिन्छ।’

खेल खेल्दा घुँडाको नशा च्यातिने र ढाडमा चोट लागेर पनि नशा च्यापिने गर्दछ। यसैगरी सेन्टरमा न्यूरो सर्जरी टाउकोमा लागेको चोट पटक, हाडजोर्नी र मासुमा हुने ट्युमरको पनि सेन्टरमा शल्यक्रिया गरेर उपचार हुने गर्दछ। 

उपचारपछि ट्रमाका बिरामीलाई पुनः स्थापनामा समस्या 

अस्पताललाई उपचार गरेका बिरामीलाई स्थानान्तरण गर्ने ठाउँको अभावले अस्पतालमा नै राख्नुपर्ने बाध्यता रहेको छ। उपचारपछि फिजियोथेरापीका लागि स्थानान्तरण गर्न सके अरु बिरामीको उपचारको सेवा अस्पतालले दिनसक्ने थियो।  

‘उपचारपछि बिरामी अयन्त्र सार्न नपाएको हुनाले ती बिरामीको बसाइ अहिले औसतमा नौ दिन भइरहेको छ’, उनले भने, ‘यदि पुनःस्थापना केन्द्र भइदिएको भए हामी यहाँ बिरामीको औसत बसाइ तीनदेखि चारदिन मात्र हुने थियो, धेरै दिन बिरामीलाई अस्पतालमा राख्दा अन्य बिरामीले अस्पतालबाट सेवा पाएका छैनन्।’

हाडजोर्नीमा चोटपटक लागेका बिरामीलाई तीन/चार दिनको अस्पतालमा उपचार गरेपछि पुनः स्थापना केन्द्रमा राखेर उपचार गर्न सकिन्छ। सेन्टरले ललितपुरको गोदावरीमा जग्गा प्राप्तिको प्रक्रियामा रहेको छ । सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा रिजालले यही वर्षदेखि भाडामा ठाउँ लिएर भए पनि सञ्चालन गर्ने तयारी गरिएको बताए।

सेन्टरमा एमआरआई सेवा पनि यसै वर्षदेखि सञ्चालन गर्ने तयारी रहेको उनले बताए। अस्तपालमा सघन उपचार कक्ष (आइसियु) ११, हाइडिपेडेन्सी युनिट आठ र मोडुलेटर शल्यक्रिया कक्ष ५ वटा अस्पतालमा सञ्चालन भइरहेका छन्। अस्पतालमा दैनिक ५०० बिरामी उपचार गर्न आउँदछन्। 

आर्थिक वर्ष २०८१/८२ मा एक लाख १४ हजार ८०० बिरामीको सेन्टरमा उपचार गरिएको थियो। तिमध्ये ७ हजार ८१७ जनाको शल्यक्रिया गरिएको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad