समाज


हनुमानढोका दरबारमा अखिल बलिपूर्ति, नवदुर्गाको प्रसाद लगाउने क्रम अन्त्य

हनुमानढोका दरबारमा अखिल बलिपूर्ति, नवदुर्गाको प्रसाद लगाउने क्रम अन्त्य

फाइल फोटो


नेपालखबर
असोज २०, २०८२ सोमबार २०:२०, काठमाडौँ

हनुमानढोका दरबारको दसैँघरमा ५४ बोका र ५४ राँगाको बलि दिई अखिल बलिपूर्ति सम्पन्न गरिएको छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति गरेसँगै यस वर्षको बडादसैँमा मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम पनि समाप्त हुन्छ। 

हनुमानढोका दरबार हेरचाह अड्डाका पुरातत्व अधिकृत सविताकुमारी जोशीले ५४ बोकामध्ये नौ बोकालाई दसैँघरमा र बाँकी बोका तथा ५४ राँगालाई भने हनुमानढोका दरबारको मूलचोकमा बलि दिइएको बताइन्। 

अखिल बलि पूर्ति गरिएसँगै दसैँघरमा घटस्थापनाका दिन राखिएको जमरा सेलाइएको छ। जमरा सेलाएसँगै टीका र प्रसाद लगाउने क्रम अन्त्य भएको हो। 

यसैगरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले असोज ६ गते घटस्थापनाका दिन घरघरका पूजा कोठा एवं दसैँघरमा राखेको जमरा पनि आज नजिकको ताल, तलाउ, पोखरी वा तीर्थस्थलमा सेलाएका छन्। 

आज राति धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातमा जाग्राम बसेसँगै १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व समापन गरिन्छ। आजको दिनलाई कोजाग्रत पूर्णिमा र कौमुदी पूर्णिमा पनि भन्ने गरिन्छ।

आज जाग्राम बसेर महालक्ष्मीको पूजाआराधना गरे घरमा लक्ष्मीले बास गर्ने धार्मिक विश्वास छ। नेपालमा सबैभन्दा बढी समय बिदा हुने बडादसैँ पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाइन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad