समाज


याक्थुङलाई लिम्बू सम्बोधन कसले गर्‍यो?

याक्थुङलाई लिम्बू सम्बोधन कसले गर्‍यो?

राजकुमार दिक्पाल
कात्तिक ३, २०८२ सोमबार ७:०, काठमाडौँ

लिम्बूहरूको दर्शनशास्त्र मुन्धुम हो। तर मुन्धुममा लिम्बूहरूलाई जनाउने वा चिनाउने गरी ‘लिम्बू’ शब्द कहीँकतै परेको पाइँदैन। लिम्बूहरूले आफूलाई आफ्नो मातृभाषामा ‘याक्थुङ’ भन्छन्। तीमध्ये लिम्बू पुरुषले आफूलाई ‘याक्थुङ्बा’ र स्त्रीले ‘याक्थुङ्मा’ भन्छन्। त्यसैले याक्थुङहरूले आफूले आफैँलाई नभई अरू कसैले उनीहरूलाई लिम्बू सम्बोधन गरेका हुन् भन्ने स्पष्ट छ।

लिम्बूहरूको समूहमा आआफ्नो प्राचीन मूल कर्मथलो वा रजस्थलको ठूलो महत्त्व छ। यसलाई ‘माङ्गेना यक’ भनिन्छ। शुभकार्य वा शोककार्यमा मुन्धुममा यसलाई पुकार्नु पर्छ।

लिम्बूहरूको दुई वा सोभन्दा बढी थरगत समूहको झुन्डको एउटै यक हुन सक्छ। जस्तो आङ्छङ्बो, यक्सो, सवेनहाङ, इङ्वासम र साम्राहरूको माङ्गेना यक ‘यक्चे यक’ हो, जो ताप्लेजुङको उत्तरी गाउँ खेजेनिममा अवस्थित छ।

यस्तै, फेदाप थुमका लिम्बूहरू तुम्बाहाम्फे, पयाङ्गु, निङ्लेखु, खापुङ, सिङ्गक, लुम्फुङ्वा लगायत सत्र लिम्बूहरूको माङ्गेना यक सिम्ले गाउँको ‘पोक्लावाङ् यक’ हो। यस्ता धेरै यकहरू लिम्बू बस्तीमा रहेका छन्।

लिम्बू भाषाको ‘यक’लाई नेपाली भाषामा गढी भनिन्छ। गढी सैन्यशक्ति एकत्रित भएर रहने वा सैन्यशक्ति परिचालन गर्ने सामरिक स्थल हो। पहिले याक्थुङ हाङ (लिम्बू प्रमुख)हरूले आआफ्नो यकबाट शासन, प्रशासन वा राजनीति चलाउँथे।

यक र थङ मिलेर ‘याक्थुङ’ शब्द व्युत्पत्ति भएको मानिन्छ। यकको अर्थ गढी र थङको अर्थ हल्लने वा सामर्थ्य भन्ने लाग्छ। कतिपयले यक (गढी) र तुम (जेठो) मिलेर अर्थात् ‘यक तुम’ हुँदै ‘याक्थुङ’ शब्द व्युत्पत्ति भएको पनि अर्थ लगाउने गरेका छन्। लिम्बूहरूको मौलिक र प्राचीन दर्शनशास्त्र मुन्धुममा लिम्बूहरूलाई जनाउन याक्थुङ सम्बोधनलाई व्यवहार गरिएको पाइन्छ।

लिम्बू शब्द व्युत्पत्तिका तर्क
याक्थुङहरूलाई लिम्बू कसरी भनियो भन्नेबारे प्राज्ञिक परिभाषा गर्ने पहिलो इतिहासकार हुन्, इमानसिंह चेम्जोङ। उनले १० याक्थुङ सरदारहरूले धनुकाँडको भरमा युद्ध लडी सावा येत्हाङ (आठ जना पुराना सामन्त)हरूको अधिपत्यलाई समाप्त गरेकोले आफूलाई ‘लिम्बू’ र आफूले अधिपत्यमा ल्याएको भूभागलाई ‘लिम्बुवान’ भनेर उल्लेख गरेका छन्। चेम्जोङको पुस्तक ‘किरात इतिहास’ (२०५९:१९)मा इस्वीको छैटौँ शताब्दीमा आठ आपुङ्गी राजालाई १० सरदारले युद्धमा जितेपछि धनुर्वाणको सहायताले जितेको हुनाले त्यसको नाम लिम्बुवान राखिएको र ‘लि’को अर्थ धनु, ‘आबु’ को अर्थ हान्ने (हान्यो) र वानको अर्थ नाम लगाउने अर्थात् किराती भाषामा धनुर्वाणले जितेको देश लिम्बुवान हुन पुग्यो भन्ने उल्लेख छ।

याक्थुङ मुन्धुममा लिम्बू शब्द नै नपर्नु र त्यो समय एउटा समूहको मात्रै होइन, प्रायः सबैजसो समूहको मुख्य अस्त्र नै गुलेली वा धनुकाँड हुनुले धनुकाँडको प्रयोगकै आधारमा १० याक्थुङ सरदारहरूले आफूलाई लिम्बू र आफूले अधिपत्य जमाएको भूभागलाई लिम्बुवान नामकरण गरे भनी पत्याइहाल्न चाहिँ त्यति सहज लाग्दैन।

लिम्बू शब्दको व्युत्पत्तिबारे केही विद्वान्‌ले चेम्जोङभन्दा फरक मत पनि राखेका छन्। यसमा डा. रमेशकुमार ढुङ्गेल (हालः योगमाया आयुर्वेदिक विश्वविद्यालयका उपकुलपति) र डा. डम्बर चेम्जोङ (सोही विश्वविद्यालयका रजिस्टार)ले छुट्टाछुट्टै लेखमा व्यक्त गरेको लिम्बू शब्दको व्युत्पत्तिसम्बन्धी मतलाई लिएर अब केही विचार गरौँ।

चेम्जोङले ‘कान्तिपुर’ (२ वैशाख २०६७:७)मा लेखेको ‘लिम्बुवान नामको राजनीतिक पक्ष’ शीर्षकको लेखमा लिम्बू शब्दको प्रयोगलाई ल्याटिन भाषातिर लगेर त्यतातिरबाट यो शब्द आएको हो कि भन्ने भान पार्न खोजेका छन्। उनले आफ्नो लेखमा सिमानामा बस्ने भएकोले याक्थुङ्वाहरूलाई अरूले लिम्बू भनेको देखिन्छ भन्ने तर्क राख्दै जीव र चिकित्सा विज्ञानको शब्दकोशमा ‘लिम्बस’को अर्थ बोर्डर जोन हुने र ल्याटिन भाषामा पनि ‘लिम्बस’ भनेको बोर्डर प्रदेश हो भनेका छन्। यो प्रसङ्गलाई याक्थुङ्वाहरूको बसोबासको वास्तविक भौगोलिक क्षेत्रसमेत नेपाल, सिक्किम र ब्रिटिस भारतको फ्रन्टियरसँग गाँस्दै त्यसको राजनीतिक प्रासङ्गिकतासँग जोडेर हेर्न सकिन्छ भनेका छन्, चेम्जोङले। उनले भनेअनुसार त लिम्बू शब्दको व्युत्पत्ति ल्याटिन भाषाको ‘लिम्बस्’बाट भएको हो भन्ने बुझ्नुपर्ने भयो।

अर्का विद्वान ढुङ्गेलले ‘हिमाल’ (१–१४ असोज २०६९:२२) मा  लेखेको ‘लिम्बू कि याक्थुङ’ शीर्षकको लेखमा लिम्बू शब्दको व्यवहारको सम्बन्ध तिब्बती भाषासँग जोडेका छन्। याक्थुङ्वाहरूलाई तिब्बतीहरूले ‘लिङ्स-पो वा लिङ्स-वो’ शब्दबाट सम्बोधन गरेको विषयमा पनि विचार गर्न सकिन्छ भन्दै तिब्बती लेखाइमा ‘लिङ्स-पो वा लिङ्स-वो’ को अर्थ टाढिएको, सीमान्त क्षेत्र वा अनकन्टार जङ्गल इलाकामा शिकारी भई पसेर हराएको भन्ने लाग्छ भन्ने धारणा डा. ढुङ्गेलको रहेको छ। उनको तर्क हेर्दा लिम्बू शब्दको व्युत्पत्ति तिब्बती भाषाको ‘लिङ्स-पो वा लिङ्स–वो’बाट भएको हो भनी पत्याउनुपर्ने भयो।

लिम्बू शब्दको व्युत्पत्ति सम्बन्धमा माथि उल्लेख भएकामध्ये इमानसिंह चेम्जोङको मत निकै पहिले आएको र डा. रमेशकुमार ढुङ्गेल र डा. डम्बर चेम्जोङका पछिल्ला धारणालाई पत्याइहाल्नु चाहिँ अलि हतारो हुनेछ। त्यसैले लिम्बू शब्दको व्युत्पत्ति र व्यवहारबारे अन्य स्रोतमाथि पनि टेकेर यसबारे विश्लेषण हुन आवश्यक देखिन्छ।

लिम्बू शब्दलाई मुन्धुममा व्यवहार भएका शब्दको ध्वनि र अर्थ विश्लेषणका साथै ऐतिहासिक दृष्टिले शासकहरूले आफ्नो मोहरहरूमा व्यवहार गरेको लिम्बू र लिम्बुवान शब्दलाई केलाई, निफनी निष्कर्षमा पुग्ने प्रयास यो लेखमार्फत गरिएको छ।

लिम्बू शब्दको आधार ‘लुङबुङ’
चेम्जोङ (२०५९:१९)को ‘लि’ र ‘आबु’ मिलेर लिम्बू शब्दको व्युत्पत्ति भएको हो भन्ने भाष्य लिम्बूहरूमा राम्रैसँग स्थापित हुन पुगेको छ। यस परिभाषा उल्लेख भएको उनको ‘किरात इतिहास’ को पहिलो संस्करण सन् १९४८ मा छापिएकोले अधिकांश लिम्बूको मनमा यो परिभाषाले जरोकिलो नै गाडेको छ।

निकैपछि यो परिभाषालाई भत्काएर लिम्बू शब्दको व्युत्पत्तिलाई मुन्धुमसम्मत बनाउने प्रयास केही विद्वानले गरेका छन्। तीमध्येका एक हुन्, सिक्किमका लिम्बू मुन्धुम र भाषाका साधक बी.बी. मुरिङ्ला। यस मतलाई बलशाली बनाउन अरू दुई विद्वान अर्जुनबाबु माबुहाङ र लक्ष्मण लावतीले गरेको प्रयास पनि उल्लेखनीय छ।

मुरिङ्लाले लिम्बू शब्द मुन्धुममा प्रशस्तै व्यवहार हुने ‘लुङ्बोङ्बा’ शब्दबाट आएको उल्लेख गरेका छन्। उनको अप्रकाशित कृति ‘हिजको सिक्किम’लाई उद्धृत गर्दै सन्तोष आलेले ‘मगर जातिको इतिहास अनि संस्कृति सिक्किमको सन्दर्भ’ (सन् २००३:११)मा ‘लिम्बू’ शब्द ‘लुङबोङ्वा’बाट आएको र यसको अर्थ खाँटी ढुङ्गा हुन्छ भन्ने उल्लेख गरेका छन्।

मुन्धुममा ‘लुङजिरी साहा? लुङ्बोःङ्वासाहा?’ तथा ‘खाम्जिरी साहा? खाम्बोङ्वा साहा?’ नामधारीहरू आउँछन्। उनीहरूमध्ये लुङजिरी साहा? लुङ्बोःङ्वासाहा? अर्थात् ढुङ्गाबाट बनेका ढुङ्गाका सन्तति र खाम्जिरी साहा? खाम्बोङ्वा साहा? अर्थात् माटोबाट बनेका माटोका सन्तति हुन्। तिनै ‘लुङ्बोङ्वा’बाट लिम्बू शब्दको व्युत्पत्ति भएको बी.बी मुरिङ्लाको ठहर छ।

मुन्धुमको वर्णनअनुसार पृथ्वीमा पहिले पानी थिएन। पानीको सृष्टिमा यी ढुङ्गा र माटोका सन्ततिहरूको भूमिकाबारे मुन्धुममा उल्लेख छ।

वैरागी काइँलाको ‘तङ्सिङ् तक्मा मुन्धुम’ (२०५२:१७८–८०)मा उल्लेख भएअनुसार भगवान्‌ तागेरा निङ्वाफुमाले पोरोक्मी याम्भामिवालाई सपनामा उँभो उत्तरतिर गएर बज्रझैँ कठोर, नफुट्ने छेलो हान्ने ढुङ्गा खोज्नु भन्ने आदेश दिन्छन्। 

लुङजिरी साहा? लुङ्बोःङ्वासाहा? र खाम्जिरी साहा? खाम्बोङ्वा साहा?हरू सिफाक्जङ तिगेन्जङमा बस्छन्; उनीहरूलाई बिन्ती गरेर पकवान चढाएर छेलो हान्ने ढुङ्गा माग्नू र त्यो ढुङ्गा शून्य अन्तरिक्ष जून र घामको किरण ठोकिने साखोङ्लुङ्मा खोःङ्मा भन्ने ठाउँमा अग्लो पहाड कोङकोङलुङमाथि गएर छेलो हान्नू भन्ने तागेरा निङ्वाफुमाबाट आदेश हुन्छ। 

यसरी पोरोक्मी याम्भामिवाले छेलो हानेपछि तोकिएको साँधमा छेलो ठोकिँदा पहाड थर्किन्छ, बादल उठ्छ, कुहिरो फैलन्छ। अनि देहधारी देवहरू उत्पन्न हुन्छन्। वर्षाद् हुन्छ, बिउविजन टुसाउँछन्, बोटबिरुवा उम्रन्छन्। फूलहरू फुल्छन् (येबाकान्छा धनराज थलङ थाक्थुङ्वा, ‘सुम्सेन्बा तङसिङ मुन्धुम’–२०८१:७२–७४)।

यताबाट हेर्दा लुङबुङ वा लुङ्बोङ्वाबाट लिम्बू शब्दको व्युत्पत्ति भएको तर्क मुन्धुमसम्मत हुनुका साथै अर्थको गहिराइबाट पनि लिम्बूहरूका लागि गौरवपूर्ण देखिन्छ। मुन्धुममा नै लिम्बूहरूलाई ढुङ्गा र माटोको सन्तति हुन् भन्ने वर्णन परिसकेपछि उनीहरूमा रहेको आदिवासी तत्त्वसम्बन्धी दाबीलाई पनि निकै बलशाली बनाउँछ।

सिफाक्जङ तिगेन्जङ लिम्बू देवारी येवाहरूको उत्पत्तिस्थल भएको र लुङ्बोःङ्बा तथा खाम्बोङ्वाहरू नै येवाहरूको पुर्खा हुन् भन्ने मान्यता रहेको भन्ने काइँला (२०५२:१७९)ले उल्लेख गरेबाट पनि लिम्बू शब्दको व्युत्पत्ति लुङ्बोःङ्बा वा लुङबुङबाट भएको हो भन्ने बीबी मुरिङ्लाको मत निकै तर्कपूर्ण लाग्छ।

लिम्बू शब्दको व्युत्पत्तिबारे मुन्धुमी पात्र ‘लुङ्बोङ्बा’ लाई जसरी एउटा आधारको रूपमा लिइएको छ, उसैगरी मुन्धुममा वर्णित आदिनारी मुजिङ्ना खेयङ्नाको गर्भबाट जन्मेका छोरा सुसुवैन लालावैनका सन्तति नै ‘सुसुवा लिलिम याक्थुङ’ हुँदै लिम्बू कहलाए भन्ने तर्क पनि अघि सारिएको छ।

यसबारे पनि अलिकति चर्चा गरौँ।

मुन्धुमविद् वैरागी काइँलाको ‘मुजिङ्ना खेयङ्ना मुन्धुम्’ (२०७०:३)अनुसार भगवान्‌ तागेर निङ्वाफुमाले पहरो र ठूलो चट्टानमाथि पन्छीको विष्टा र मालिङ्गोको खरानी मुछेर एक जना स्त्रीको सृष्टि गरे। धर्तीपुत्रीको रूपमा देखापरेकी उनी मुजिङ्ना खेयङ्ना नामबाट प्रशिद्ध भइन्।

उमेर पुगेपछि उनमा यौन तृष्णा जागृत हुँदै जान्छ। फारिएको ठूलो हाँगामा बसेर उनी गीत गाइरहेको बेला वायु बतासको रूपमा तागेरा निङ्वाफुमाले सोधुगेन लेप्मुहाङलाई पति वा पुरुष बनाएर पठाउँछन्। त्यसपछि मुजिङ्ना खेयङ्नाको देह शितल हुन्छ। उनको गर्भबाट सुसुवैन लालाङवैन नामको छोराको जन्म हुन्छ (काइँला, २०७०:९–२१)।

मुजिङ्ना खेयङ्नाले एउटा खुट्टा उचालेर रुखको हाँगामा थाम्दै सितल हावालाई बोलाएर यौन तृष्णा मेटाएको सिङकप्फे लिङ्कप्फे नामको ठाउँ ताप्लेजुङको ताप्पेथोकको वेत्ताङगु गाउँमा पर्छ। यसरी वायु बतासको छोराको रूपमा मुजिङ्ना खेयङ्नाको गर्भबाट जन्मेका सुसुवैन लालाङवैनका सन्तानलाई नै ‘कालान्तरमा सुसुवा लिलिम याक्थुङ’ भनियो भन्ने मुन्धुममा आधारित तर्क लेखकद्वय अर्जुनबाबु माबुहाङ र लक्ष्मण लावतीले ‘दसलिम्बूवान सत्रथुमको नीति’ (२०७८:५)मा राखेका छन्।

माबुहाङ र लावती (२०७८:११) ले ब्रायन हज्सनले सङ्कलन गरेको पाण्डुलिपिको खण्ड ८६, पत्र सङ्ख्या ९ मा समेटिएको आफ्नो वाणीमा सिरिजङ्गाले आफूलाई ‘सुसुवा लिलिम याक्थुङहाङका सन्तान’ भनेकोलाई पनि आफ्नो तर्कको आधार मानेका छन्।

लिम्बू शब्दको व्युत्पत्तिबारे माबुहाङ र लावती (२०७८:६५–६७)ले लिम्बूहरूको मूल आवादस्थलका मुख्य १० स्थानको नाम उल्लेख भएको हज्सन पाण्डुलिपिमै ‘दश लुङबुङ’ शब्द परेकोलाई पनि ध्यानमा राखेर याक्थुङहरूले आफूलाई लुङ्बोङ्वा खाम्बोङ्वा अर्थात् भूमिपुत्र भन्ने गरेकोलाई त्यही ‘लुङबुङ’ शब्दलाई सेन राजाहरूले लिम्बू भनेको हुनुपर्छ भन्ने अनुमानिक तर्क पनि पेस गरेका छन्। यसबारे विचार गर्न आवश्यक देखिन्छ।

याक्थुङलाई कसले लिम्बू भन्यो?
लिम्बूहरूले आफूलाई आफ्नो भाषामा लिम्बू नभई याक्थुङ भन्छन् भन्ने माथि उल्लेख भइसकेको छ। त्यसैले उनीहरूलाई अरूले नै लिम्बू भनेका हुन् भन्ने स्पष्ट छ। त्यसो भए सबैभन्दा पहिले उनीहरूलाई कसले लिम्बू भनेका हुन् ? 

अब यस प्रश्नको चित्तबुझ्दो उत्तरको खोजीतिर लागौँ।

माबुहाङ र लावती (२०७८:६२–६४)ले लिम्बू शब्द परेको भनी एउटा पत्र प्रस्तुत गरेका छन्। पत्रको सक्कल भनी प्रचारित डिजिटाइज गरिएकै सामग्रीमा ‘१० लिंवु’ भन्ने शब्द परेको छ। यसैको आधारमा मावुहाङ र लावती सेनकालमै लिम्बू शब्द प्रयोग भएको भन्ने निष्कर्षमा पुगेका छन्।

‘देवान साहेब’ ले जारी गरेको भनिएको यो पत्र जारी गरिएको तिथि वि.सं. १८२४ पुस वदी ४ रोज २ उल्लेख छ र तिथिकै लहरमा ‘मकर संग्राही’ (मकर संग्राती) उल्लेख छ। तर पत्रको विश्वसनीयतामाथि थुप्रै प्रश्न उठाउन सकिने अवस्था छ।

यो पत्र २०२२ सालमै योगी नरहरिनाथले ‘इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह भाग १’मा प्रकाशका ल्याइसकेका थिए। उक्त पुस्तकको दोस्रो संस्करण (२०५५:६८४–८५) मा पनि यो पत्रको बेहोरा छापिएको छ। त्यहाँ योगीले मकर संग्राहीलाई मकर संग्राती भनेका छन्। इतिहासकार भगिराज इङ्नामले पनि ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ (२०७७:२७०–७१)मा यो पत्र प्रकाशित गरेर सेनकालमै लिम्बू शब्द प्रयोग भएको दाबी गरेका छन्।

योगी र इङ्नामले उक्त पत्र लिप्यान्तर गर्दा पत्र जारी गर्ने व्यक्ति ‘बडा देवान साहेब’ उल्लेख गरेका छन् भने मावुहाङ र लावतीले ‘महा देवान साहेब’।

यो पत्रको विश्वसनीयतामाथि प्रश्न उठाउने पहिलो इतिहासकार हुन्- कृष्णविक्रम नेम्वाङ। उनले आफ्नो पुस्तक ‘इतिहास पहिचान’ (२०७८:१७४)मा यो पत्र नक्कली भएकोले यसले भ्रम उब्जाएको उल्लेख गरेका छन्।

नेम्वाङ (२०७८:१७४–७६)ले यस पत्रमाथि टिप्पणी गर्दै सेन राजाहरूले पत्रको माथिल्लो भागमा श्रीराम, लक्ष्मीनारायण वा श्री बराहजीव आदि लेख्ने गरेकोमा यो पत्रमा त्यस्तो केही नदेखिएको, हालसम्म विजयपुरबाट जारी कुनै पनि पत्रमा छोटा वा बडा देवानको व्यवस्था भएको नपाइएको, पत्रको पेटबोली वि.सं. १८२४ सालसम्मका कुनै दस्तावेजसँग मेल नखाएको, उहिलेका अभिलेखमा जथाभावी भ्रष्टभाषा प्रयोग नहुने तर यो पत्रमा व्यवहार भएको भाषा भ्रष्ट नेपाली भएकोले यो पत्र सक्कली हुन नसक्ने तर्क प्रस्तुत गरेका छन्।

प्रशस्तै मैथिली भाषाका सेनकालीन स्याहामोहरहरूलाई सरल नेपाली भाषामा अनुवाद गर्ने इतिहासकार इमानसिंह चेम्जोङले ‘किरातकालीन विजयपुरको सङ्क्षिप्त इतिहास’ (२०५९:६४)मा उल्लेख गरेअनुसार विजयपुरको राजभाषा मैथिली चलेकोले तत्कालीन राजा कामदत्त सेनले सारा पहाड र तराईवासीहरूमा मैथिली भाषा सिक्न प्रोत्साहन गरेका थिए।

यस्तै, तत्कालीन पाल्पाली सेनको भाषा विकसित राजस्थानी तथा मकवानपुर र विजयपुरको राजभाषा मैथिली भएकोले भाषागत पक्षबाट हेर्दा पनि उक्त पत्र सेन राजा वा उनको कुनै मन्त्रीले जारी गरेको भन्ने ठाउँ पाइँदैन (नेम्वाङ, २०७८:१७६–७७)।

यो पत्रको तिथि वि.सं. १८२४ भएकोले त्यसबेला विजयपुरमा देवान बुद्धिकर्ण राय थिए। सोही सालको माघ सुदी १४ मा देवान बुद्धिकर्ण रायले रामभद्र पण्डितलाई बिर्ता गरिदिएको मोहर इतिहासकारहरू शंकरमान राजवंशीले ‘पुरातत्त्व पत्र सङ्ग्रह’ (२०१८:१७–१८) र ज्ञानमणि नेपालले ‘नेपाल निरुक्त’ (२०७४:२८८) मा प्रकाशित गरेका छन्। यो पत्रको भाषासँग पनि माथि उल्लेख गरिएको पत्रको भाषा मेल खाँदैन।

माथि उल्लेख गरिएको पत्रको अक्षर पनि सेनकालीन देवान बुद्धिकर्ण रायले जारी गरेको पत्रको अक्षरसँग मेल खाँदैन। अम्बिकाप्रसाद आङ्देम्बेले ‘लिम्बूको सङ्क्षिप्त इतिहास र आङ्देम्बे वंशावली’ (२०६६:१९२)मा प्रकाशित बुद्धिकर्ण रायले आफ्नो समयमा कुम रायको नाममा जारी गरेको पत्रको सक्कलसँग माथि उल्लेख गरिएको पत्रको अक्षर, बेहोरा र भाषा दाँजेर हेर्न सकिन्छ।

अक्षर लेख्ने बेग्लाबेग्लै व्यक्ति हुनसक्ने भएकोले अक्षर फरक हुनसक्ने तर्क त राख्न सकिएला, तर लेख्ने व्यक्ति फरक भए पनि उनीहरूले प्रयोग गर्ने भाषा भने फरक हुन सक्दैन।

यो पत्रको विश्वसनीयतामाथिको समस्याको अर्को कारण हो- पत्र जारी भएको तिथिमिति। पत्र वि.सं. १८२४ माघ वदी ४ रोज २ मा जारी गरिएको भनिएको छ। साथै पत्रमा मकर संग्राही (मकर संग्राती) उल्लेख भएको छ।

अब यसलाई पुरानो पात्रोबाट परीक्षण गरेर हेरौँ।

वि.सं. १८२४ को पुस वदी ४ सोमबार नभई शुक्रबार पर्छ। पात्रोअनुसार उक्त तिथिको मिति पुस २८ गते शुक्रबार पर्ने हुँदा पत्रमा उल्लेखित तिथिले मकर संग्राती अर्थात् माघ १ गते भेट्दैन। माघ १ गतेको तिथि चाहिँ पुस वदी ७ पर्छ। त्यसैले तिथिमितिमै पनि यो पत्र गडबडपूर्ण भएकोले यो पत्रलाई सक्कली नै हो भनी विश्वास गर्न बिल्कुलै कठिन छ।

बरु सेनकालमा प्रजाको नाममा केही लिम्बू थरहरूलाई सम्बोधन गरिएको पाइन्छ। चेम्जोङ (२०५९:५९) ले प्रकाशमा ल्याएको राजा कामदत्त सेनले वि.सं. १८१८ माघ वदी १० मा विजयपुरबाट जारी गरेको एक मोहरमा ‘प्रजा गाउँ बाह्र’ भन्दै लिम्बू थरहरू बजी, थामदेन (थाङ्देन), थोफरा (थोप्रा) र फागोदेव (फागो) उल्लेख भएको पढ्न पाइन्छ।

सेनकालमै लिम्बू सम्बोधन भएको भन्ने अर्को यस्तै मोहर पनि प्रकाशमा आएको छ। लीलाबहादुर तुम्बाहाम्फेले ‘याक्थुङ साप्मुन्धुम लिम्बू र लिम्बुवान इतिहास’ (२०८१:८–९) मा माजु वाई (खम्बु राई?) लाई जग्गा जमिन घरघडेरी दश लिम्बूसरह भोग गर्न भन्दै वि.सं. १८१८ चैत सुदी १५ को तिथिमा जारी गरिएको भनिएको मोहर प्रकाशमा ल्याएका छन्।

यो मोहर सेन राजा वा उनको देवानमध्ये कसले जारी गरेको हो, त्यो खुलेको छैन। सक्कलबाट सारेर सुरक्षित राखिएको यो मोहर खस गोरखाली र भाकामा लेखिएकोले सेनकालीन हो भनी पत्याउन सकिँदैन। मोहरमा जारी भाषा र भाका हेर्दा यो कुनै शाहकालीन राजाले जारी गरेकोमा कुनै शङ्का छैन।

बरु सक्कलबाट सारेर राख्दा भुलवश साल तलमाथि भएको हुन सक्छ। सेनकालमा कस्तो भाषा र भाका व्यवहार हुन्थ्यो भन्ने थाहा पाउन स्वयम् तुम्बाहाम्फे (२०८१:४–५)ले प्रकाशित गरेको राजा कामदत्त सेनले वि.सं. १८१८ माघ वदी १० मा हंशु रायको नाममा विजयपुरका तत्कालीन देवान सिरिकान्त रायलाई रुजु गराई जारी गरेको मोहर हेर्दा स्पष्ट हुन्छ।

पृथ्वीनारायण शाहको लिम्बू सम्बोधन
वास्तवमा याक्थुङहरूलाई पहिलोपटक लिम्बू सम्बोधन गर्ने र उनीहरूको अवस्थललाई लिम्बुवान भन्ने राजा पृथ्वीनारायण शाह हुन्। 

यसबारे प्रमाणप्रमेय अब चर्चा गरिन्छ।

पृथ्वीनारायण शाहले खार्पाली पोखरेल हरिनन्द र चौडण्डीका सरदार स्वरुपसिंह कार्कीको निम्तोमा माझकिराततिर अभियान चलाउँदा अमरसिंह थापालाई नायव गराएर सरदार रामकृष्ण कुँवर सैन्य नेतृत्त्व गरी पूर्वतिर लागेका थिए।

उनीहरूलाई हरिनन्द र त्रिलोचन पोखरेलले दूधकोशी र सुनकोशीको दोभानमा रातको समयमा डुङ्गाबाट तारी वि.सं. १८२९ भदौ १३ गते माझकिरातमा घुसाए (बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’–२०६१:४१७–१८)।

यसअघि नै युद्धको तयारी गर्दै त्यस क्षेत्रको परिस्थिति बुझ्न बाङ्ग्या बस्न्यातलाई त्यहाँ पठाएर सक्रिय गराइएको थियो।

पृथ्वीनारायण शाहले आफ्ना सेनाहरूलाई माझकिरातमा लडाइँभिडाइमा व्यस्त गराइरहेको बेला विजयपुर पनि सजिलै हात लिन लिम्बू सुब्बाहरूसँग कुटनीतिक संवाद सुरु गरेका थिए।

यससम्बन्धी पत्रको सक्कल नै उपलब्ध छ। सोही पत्रमा लिम्बू शब्द परेको छ। यसलाई अकाट्य प्रमाणको दृष्टिले राजकीय रूपमा कुनै राजाले याक्थुङहरूलाई पहिलोपटक लिम्बू सम्बोधन गरेको मान्न सकिन्छ। यो पत्र पाँचथर नवमीडाँडाका हर्कबहादुर आङ्देम्बेले आफ्नो पुर्ख्यौली नासोका रूपमा सुरक्षित राखेका छन्।

पृथ्वीनारायण शाहले वि.सं. १८२९ मा लिम्बू सम्बोधन गरेको लालमोहर (स्रोतः अर्जुनबाबु माबुहाङ)

पृथ्वीनारायण शाहले हर्कबहादुरका पुर्खा पुनि रायलाई लेखेको यो पत्रको सुरुमा ‘स्वस्तिश्री सर्वोपमा योग्य राजभारासामर्थ श्री पुनि रायि लिंवुके आशिषपूर्वक पत्रमिदं.’ उल्लेख छ।

यो पत्रमा दुई ठाउँमा लिम्बू सम्बोधन गरिएको छ। तीमध्ये एउटा पुनि रायलाई लिम्बू सम्बोधन गरिएको र अर्को सिरिंग्या (सेरेङ)हरूलाई लिम्बू भनी उल्लेख गरिएको छ। 

पुनि रायलाई विजयपुरका सेन राजा तथा देवानहरूले लेखेको पत्रहरू पनि पाइएकोले उनी सेनकालीन एक विश्वसनीय भारदार रहेको पुष्टि हुन्छ। उनीमार्फत लिम्बूहरूलाई हात लिएर विजयपुरमा अधिपत्य जमाउने रणनीतिस्वरुप पृथ्वीनारायण शाहले उनलाई यो पत्र लेखेको स्पष्ट हुन्छ।

पृथ्वीनारायण शाहले मोहरमा कामदत्त सेनको निधन भइसकेकोले अब उनको ठाउँमा आफूलाई राजा थाप्न आग्रह गरेका छन्। कामदत्तको सेवकलाई पनि आफ्नो सेवकको रूपमा आफूले पिछा लिने उल्लेख गर्दै पृथ्वीनारायण शाहले अरू लिम्बूहरूसँग पनि सल्लाह गरेर आफूसँग मिल्न आउन आग्रह गरेका छन्। त्यसो गरेबापत आफूले सुन, मोती, हात्ती आदि बक्सिस दिने लोभ पनि देखाएका छन्। मोहरको बेहोरा यस्तो छः

स्वस्तिश्री सर्वोपमा योग्य राजभारासामर्थ श्री पुनि रायि लिंवुके आशिषपूर्वक पत्रमिदं. ञाहां कुशल ताहा कुशल चाहिए जेहिते परमानंद होइ. आगे इहाको समाचारप्रति आपनु हालकीगत लिकन काल् पुरि गोसाञिलाइ ञाहा पठाया कागत विंति गर्‍या. सुनिउं. वाकि. हिजो पनि कामदत्त सेनका पालामहा यो आज उन्को परलोक भैगयो त पनि कुन् उनका सेवक. कुन हाम्रा हौ. तुम्रो छ यहां जति लिंवु सिरिंग्या छन् हात् गरि हाम्रो पाव भन्या तेतावाट रि काज गर्‍याको दिन. सुनका कंडा मोति. हाति सर सिर्पाउ वेश गरिवक्सन्छौ. काज गर. वांकि राजी हुन्या भन्याको त राजाका वसलेप हुंछन् सेवकका जहां छन्. तिमि हामि मिलिकन ताहा राजा थापन्या अर्थ गर किमधिकं माघ शुदि ४ रोज ३ मुकाम कांतिपुर शुभम्।

यो पत्रमा महिना, तिथि र बार मात्रै उल्लेख छ। साल भने उल्लेख गरिएको छैन। तत्कालीन पात्रोअनुसार १८३१ को माघ सुदी ४ को दिन शनिबार पर्छ। यो दिन माघ महिनाको २५ गते पर्छ। सोही सालको माघ १ गते पृथ्वीनारायण शाहको निधन भएकोले उक्त सालमा यो पत्र लेखिएको ठहर्दैन।

वि.सं. १८३० मा लेखिएको हो कि भनी अनुमान गर्दा माघ सुदी ४ आइतबार पर्ने भएकोले बार मिलेन। वि.सं. १८२९ को माघ सुदी ४ मंगलबार नै पर्ने भएकोले बार मिल्न पुग्यो। त्यसैले पृथ्वीनारायण शाहले यो मोहर वि.सं. १८२९ मा पाँचथर थुमका लिम्बू सुब्बा पुनि रायलाई पठाएको स्पष्ट हुन्छ।

यो पत्रमा काल पुरी नामका गोसाई (महन्त)को नाम उल्लेख भएकोले त्यो बेला उनी पृथ्वीनारायण शाहको दूतको रूपमा लिम्बूहरूलाई हात लिन सक्रिय थिए भन्ने देखिन्छ।

यो पत्र लिम्बूहरूलाई फकाएर हात लिने उद्देश्यले लेखिएकोले उनीहरूलाई सम्मानजनक रूपमा लिम्बू सम्बोधन गरिएको स्पष्ट छ। लिम्बू मुन्धममा लुङबुङ वा लुङ्बोङ्बाका सन्तति भन्ने शब्द प्रचलित रहेको हुँदा सोही शब्दलाई समेट्दै पृथ्वीनारायण शाहले याक्थुङहरूलाई कुटनीतिक भाषाको प्रयोगका क्रममा लिम्बू सम्बोधन गरेका थिए भन्ने ठहर हुन्छ। तर, लिम्बूहरूलाई हात लिने पृथ्वीनारायण शाहको यो प्रयास तत्काललाई सफल भने हुन सकेन। उनले लिम्बूहरूसँग युद्ध नै गर्नु पर्‍यो।

पृथ्वीनारायण शाहको सालिक

विजयपुर हात लिइसकेपछि सुन राय, कुम राय र जङ्ग रायलाई पृथ्वीनारायण शाहले वि.सं. १८३१ साउन सुदी १ रोज २ मा दिएको मोहर इतिहासकार शंकरमान राजवंशीले पुरातत्त्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ संख्या ३ (वैशाख २०२५:२९–३०)मा प्रकाशित गरेका छन्। उनले यो पत्र इलाम तथा भद्रपुरमा अध्ययन भ्रमणमा जाँदा आफूले सङ्कलन गरेको उल्लेख गरेका छन्।

यो मोहरमा ‘तिम्रो लिम्बुवान मुलुक हाम्रो प्रतापले तिम्रा पुर्खा तूतू तुम्याहांग प्रताप हान्यो...तिमीहरू हाम्रै छौ तिम्रा जहानको पिछा हामीले लियौं’ भन्ने उल्लेख भएकोले लिम्बूहरूको आवाद क्षेत्रलाई लिम्बुवान भन्ने पहिलो राजा पनि पृथ्वीनारायण शाह नै देखा परेका छन्।

यस्तै मोहरमा ‘तम्रा खाइन् पाइन् लुङ्गवांग वाङसिंग वांगगङ जिमी भूमी हिजको आपुंगी सवै थमीवक्स्यौं’ भन्ने पनि परेको छ। मोहरमा लिम्बू शब्द व्युत्पत्तिको सम्भावना भएको लुङ्गवांग (लुङबुङ वा लुङबोङ्वा) शब्द पनि परेकोले यो शब्द र लिम्बू शब्दको सम्बन्धको निकटतालाई पृथ्वीनारायण शाहको यो मोहरबाट पनि अनुभूत गर्न सकिन्छ।

यो मोहर इलाम, जमुनका कहरसिंह लिम्बूले सारिराखेको नक्कलबाट नक्कल उतारी ल्याइएको राष्ट्रिय अभिलेखालयको माइक्रोफिल्मिङ रेकर्डमा उल्लेख छ। यसको डीएनए ७/६० रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad