भदौ २४ गते जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंक लुटपाट गरेको रकमले एक युवकले मोटरसाइकल किनेको प्रहरीले जनाएको छ। दोलखाको बैतेश्वर गाउँपालिका ८ का २७ वर्षीय दीपक श्रेष्ठले बैंकबाट लुटेको रकमले मोटरसाइकल खरिद गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।
बैंक लुटपाटमा संलग्न भएको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। असोज ७ गते पक्राउ परेका श्रेष्ठमाथि प्रहरीको अनुसन्धानपछि अदालतमा डाँका चोरीको मुद्दा दर्ता भएको छ।
जिल्ला अदालत काठमाडौँले श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
जेनजी आन्दोलनमा सहभागी भएका श्रेष्ठ २४ गते अपरान्ह ५ बजेतिर बैंक लुटपाटमा संलग्न भएका थिए। उनले वाणिज्य बैंकबाट २ लाख ५० हजार रुपैयाँ, सुनका बाला ३ थान, एउटा बेरुवा औँठी, गणेश भगवानको लकेट भएको एउटा सिक्री लुटपाट गरेका थिए।
रकम खर्च गरिसके पनि सुनका गहना र कुर्सी प्रहरीले बैंकलाई फिर्ता गरेको छ।
यसरी बैंकबाट लुटेको रकम र त्यसमा आफूसँग भएको एक लाख ७२ हजार रुपैयाँ थप गरी श्रेष्ठले रातो कालो रंगको बागमती प्रदेश ०२–०४६प ०४४४ नम्बरको रोयल एन्फिल्ड मोटरसाइकल खरिद गरेको पाइएको छ। बैंक लुटेको ५ दिनपछि भदौ २९ गते उनले उक्त मोटरसाइकल भक्तपुरको सूर्यविनायक ५ सल्लाघारीको एक्स्ट्रिम मोटो डिल्स नामको मोटरसाइकल रिकन्डिसन पसलबाट खरिद गरेका थिए।
मोटरसाइकलधनी अन्जारुल हकलाई पूरै रकम दिए पनि मोटरसाइकल पास भने भइसकेको थिएन। भदौ ३१ गते उनीहरु मोटरसाइकल पास गर्न यातायात व्यवस्था कार्यालय गुर्जुधारामा पुगेका थिए। सनाखत कागज भए पनि नामसारी गर्न बाँकी थियो।
श्रेष्ठले उक्त मोटरसाइकल खरिद गर्न २ लाख ५० हजार रुपैयाँ बैंकबाट लुटेकै रकम प्रयोग गरेको बयान दिएका छन्। उनले बैंकबाट एउटा कुर्सी पनि चोरी गरेको खुलेको छ। उनले चोरेर लगेको कुर्सी प्रहरीले डेराबाट बरामद गरेको छ।
उनले बैंकबाट लुटेको ४२.२२ ग्राम, ३०.३३ ग्राम र २३.४३ ग्रामका गरी तीनवटा बाला, २३.२९ ग्रामको बेरुवा औँठी, २८.०२ ग्रामको लकेटसहितको सिक्री पनि प्रहरीले बरामद गरेको छ। मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।
सुरुमा कुर्सी लगेका श्रेष्ठ साँझ ७ बजे पुनः बैंक लुट्न फर्किएका थिए। त्यतिबेला बैंकमा नगद र सुन लुट्नेबीच खोसाखोस नै चलेको बयान पनि उनले दिएका छन्।
उनी आफैँ व्यापार व्यवसायमा संलग्न छन्। काठमाडौँ महानगरपालिका ३१ नयाँ बानेश्वरमा उनी श्रीमती र २ छोरासहित बस्दै आएका छन्।

वाणिज्य बैंक लुटपाटमै संलग्न अर्का नाबालकलाई भने नेपाली सेनाले भकुण्डेबेसीमा पक्राउ गरेको थियो। सिरहा घर भएका ती नाबालकले पनि बैंकबाट ३ लाख ५० हजार रुपैयाँ नगद, सुनका सिक्री तीन थान, औँठी एक थान, छड्के तिलहरी एउटा र मंगलसूत्र लुटेका थिए। उनी २ महिना पहिले काठमाडौँ आएका थिए।
काठमाडौँ महानगरपालिका ९ सिनामंगल भत्केको पुलमा डेरा बस्ने उनी घर बनाउने ज्यामी काम गर्दै आएका थिए। भदौ २४ गते काम रोकिएपछि उनी पनि आन्दोलनमा सहभागी भएको बताएका छन्।
साँझ ५ बजेपछि वाणिज्य बैंकमा उनी पुग्दा बैंक लुटपाट गर्नेको भीडभाड थियो। आफूले पनि त्यतिबेला उक्त नगद र सुनका गहना लिएर साथीको कोठामा गएको उनले प्रहरीलाई बयान दिएका छन्। २६ गते राति कोटेश्वरबाट सिरहा जाने माइक्रो बसमा चढेर बाटो लागेका थिए।
तर भकुण्डेबेसीमा नेपाली सेनाले रोकेर चेकजाँच गरेको थियो। त्यसक्रममा उनको साथबाट ३ लाख ५० हजार नगद र उक्त सुनका गहना बरामद भएको थियो। उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा राखेर बैंकका कर्मचारीलाई पनि उक्त गहना एकिन गर्न झिकाइएको थियो।
ती नाबालकले भने आफूले बैंक लुटपाट नगरेको तर लुटपाट गर्नेहरुको बीचमा खोसाखोस चल्दा खसेको पोको बोकेर फर्किएको बताएका छन्।
बैंकमा अघिल्लो दिन २३ गते नै ढुंगा प्रहार भएको थियो। बैंकको भवनका सिसा फुटेका थिए। भदौ २४ गते आन्दोलनकै कारण बैंकको सेवा बन्द थियो। संसद् भवननजिकै रहेको बैंक आसपास दिउँसैदेखि हुलदंगा भइरहेको थियो। तर साँझ ५ बजेतिर ठूलो समूह आएर बैंकमा आक्रमण र तोडफोड सुरु गरेको बैंकका सुरक्षागार्ड बाबुराम तामाङले बताएका छन्।
आन्दोलनकारीले तोडफोड र आगजनी सुरु गरेपछि सुरक्षागार्डहरु भागेका थिए। त्यसपछि बैंकमा रहेको ५ करोड १५ लाख १६ हजार ६३८ रुपैयाँ ३५ पैसा लुटपाट भएको थियो। यस्तै कर्जाको सुरक्षणबापत धरौटी राखेको १७ किलो ७६९.४१ ग्राम सुनका गहना लुटपाट भएको बैंकले दाबी गरेको छ।
बैंक लुटपाटमा संलग्नलाई आवश्यक कारबाहीको माग गर्दै बैंकका शाखा प्रबन्धक प्रद्युम्न कार्कीले प्रहरीमा जाहेरी दिएका थिए। नगद र गहना गरी ३७ करोड ८५ लाख ९८ हजार १६८ रुपैयाँ २२ पैसा चोरी डकैती भएको दाबी बैंकले गरेको छ।
यस्तै बैंकको कार्यालय भवन तोडफोड र आगजनी, सीसीटीभी, कम्प्युटर, एटीएम मेसिन तोडफोड गरी भौतिक सम्पत्ति ४ करोड १३ लाख १२ हजार ९३ रुपैयाँ ४३ पैसा क्षति भएको बैंकले जनाएको छ। यो सबै बिगो रकममा उनीहरु दुईजनाबाट बरामद रकम घटाई बाँकी बिगो कायम गरिएको छ।
यो कसुरमा दोषी ठहर भए ५ वर्षदेखि १० वर्षसम्म कैद, ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र क्षतिपूर्ति भराइदिनु पर्ने कानुनी व्यवस्था छ। नाबालकविरुद्ध जिल्ला अदालत भक्तपुरमा छुट्टै अभियोग पेस गरिएको छ।
Shares

प्रतिक्रिया