नेपालमा अबदेखि अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज (आइतबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको मात्र प्रभाव छ।
यसअघि शनिबार रातिसम्म नेपालको मौसममा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव पनि परिरहेको थियो। त्यसअघि शुक्रबार रातिसम्म बंगालको खाडीमा विकसित चक्रवात मोन्थाको समेत असर थियो। जसले गर्दा गत बुधबार रातिदेखि लगातार वर्षा भइरहेको थियो।
अब भने नेपालमा पश्चिमी वायुको मात्र प्रभाव रहेको मौसम महाशाखाले जनाएको छ।
यसैबीच पश्चिमी वायुको प्रभावले आज देशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
यस्तो छ, मौसम महाशाखाले गरेको तीन दिनसम्मको मौसम प्रक्षेपण-
कात्तिक १६ गते (आइतबार)
दिउँसो : कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशका पहाड भेगमा आंशिक बदली रहने तथा देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
राति : कोसी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड र हिमाल भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
कात्तिक १७ गते (सोमबार)
दिउँसो : देशका पहाड भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
राति : देशका पहाड भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका पहाड र हिमाल भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
कात्तिक १८ गते (मंगलबार)
दिउँसो : कर्णाली प्रदेश लगायत देशका पहाड भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड भूभागका थोरै स्थानमा तथा बाँकी पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
राति : देशका पहाड भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागका थोरै स्थानमा तथा बाँकी पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
मौसम महाशाखाले यहाँ 'दिउँसो' शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र 'राति' शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।
मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।
अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।
यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।
त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।
त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।
यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।
Shares

प्रतिक्रिया