समाज


२४ वर्षअघि इन्सपेक्टरमा छुटेका अर्याल र कार्की जब आईजीपीमा भेटिए

ब्याच नं १११ को दबदबा : दुवै संगठनमा तीन जना आईजीपी!
२४ वर्षअघि इन्सपेक्टरमा छुटेका अर्याल र कार्की जब आईजीपीमा भेटिए

उजिर कार्की
कात्तिक २८, २०८२ शुक्रबार ७:५, काठमाडौँ

नेपाल प्रहरीको ब्याच नं १११। २०५४ चैत १८ गते प्रहरी निरीक्षक (इन्सपेक्टर) मा भर्ना भएका थिए २९ जना। त्यसैमध्येका हुन् हिजाे (बिहीबार) नेपाल प्रहरीको महानिरीक्षक बनेका दानबहादुर कार्की र साढे तीन वर्षदेखि सशस्त्र प्रहरीको कमान्ड गरिरहेका राजु अर्याल। 

सँगै इन्सपेक्टर भए पनि २४ वर्षपहिले नै उनीहरूको बाटो फरक भएको थियो। राजु अर्याल २०५८ सालमा सशस्त्र प्रहरीमा स्थानान्तरण भए। कार्की नेपाल प्रहरीमै रहे। सशस्त्रमा जानासाथ अर्याल डीएसपी भए। त्यसपछि कार्कीले कहिल्यै उनलाई उही पदमा भेटेनन्। 

इन्सपेक्टरबाट छुटेको २४ वर्षपछि एकैचोटि आईजीपीमा उनीहरूको भेट भयो। र, एकसाथ दुई संगठन हाँक्ने अवसर मिलेको छ यी ब्याचमेटलाई। प्रहरी संगठनमा सामान्यतः एउटा ब्याचबाट एक जना मात्रै आईजीपी हुन्छन्। अरु एआईजी, डीआईजीबाटै अवकाशमा जान्छन्।

तर यो ब्याचबाट भने दुई प्रहरी संगठनमा तीन जनाले आईजीपी बन्ने अवसर पाउँदैछन्। अब अर्यालको अवकाशपछि सशस्त्र प्रहरीमा आउने नेतृत्व दानबहादुरकै ब्याची हुनेछन्। त्यहाँ आईजीपीको रोलक्रममा भएका एआईजी नारायणदत्त पौडेल कार्कीकै ब्याची हुन्। 

२०५४ सालमा ३० जना इन्सपेक्टरको लागि विज्ञापन खुलाए पनि लिखितमै २९ जना मात्रै पास भए। तीमध्ये ८ जना विभागीय (पहिल्यै तल्लो दर्जामा काम गरिरहेका) थिए। उनीहरू यसअघि नै अवकाश भइसकेका छन्। 

फ्रेस इन्सपेक्टर थिए, राजु अर्याल र दानबहादुर कार्कीसहितका २१ जना मात्रै। उनीहरूले इन्सपेक्टरको तालिम एकसाथ गरे। पहिल्यैबाट जागिर खाइरहेकाहरूले आंशिक तालिम गरे हुन्थ्यो, उनीहरूको तालिम पनि छुट्टै भयो। 

यीमध्ये पनि ५ जना २०५८ सालमा सशस्त्र प्रहरीतिर सरे। राजु अर्याल, एआईजी नारायणदत्त पौडेल, वंशीराज दाहाल, डीआईजी शम्भु सुवेदी र लोकनाथ घिमिरे। 

सशस्त्र प्रहरीमा सरेको केही समयमै शान्ति मिसनमा गएका घिमिरे उतै बसे। तर चार जना अझै कार्यरत छन्। नेपाल प्रहरीमा रहेका १६ जनामध्ये अहिले आईजीपी कार्कीसहित १० जना कार्यरत छन्। बाँकी ६ जनामा दीपक खरेल द्वन्द्वकालमा रोल्पामा बम विस्फोटमा परेर मारिए। राजेन्द्र सुनुवार र सुरेश भट्टराई जागिर छाडेर विदेशिए। अरु तीन जनाले पनि बीचैमा जागिर छाडे। 

दुवै संगठनका महत्त्वपूर्ण जिम्मेवारीमा ब्याच नं १११
प्रहरीको ब्याच नं १११ को टोली अहिले दुवै संगठनका महत्त्वपूर्ण जिम्मेवारीमा छन्। सशस्त्र प्रहरीमा तीनजना अतिरिक्त महानिरीक्षकको दरबन्दी छ। तीमध्ये दुई जना यही ब्याचका छन्।

एआईजी नारायणदत्त पौडेल कार्य विभाग र वंशीराज दाहाल मानव स्रोत विभागमा कार्यरत छन्। हालका महानिरीक्षक राजु अर्याल २०८३ वैशाख १८ गते अनिवार्य अवकाश हुनेछन्। अर्याल आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुन लागेका हुन्। आईजीपीको कार्यकालकै कारण उनी सेवा प्रवेशको २८ वर्षमै निवृत्त हुनेछन्। 

तर उनको अवकाशपछि पनि उनकै ब्याचका नारायणदत्त पौडेलेले सशस्त्रको नेतृत्व सम्हाल्ने सम्भावना छ। किनकि अर्यालसँगै डीएसपीदेखि डीआईजीसम्म बढुवा भएका पौडेल आईजीपीको रोलक्रममा छन्। 

ब्याची आईजीपी भएपछि गृह मन्त्रालयमा पुगेर बधाई दिँदै सशस्त्रका एआईजी नारायणदत्त पौडेल। उनी पनि वैशाखमा सशस्त्र प्रहरीको आईजीपी बन्ने लाइनमा छन्।

अर्का एआईजी दाहाल पनि उनकै ब्याचका हुन्। पौडेल र दाहाल जो आईजीपी भए पनि नेपाल प्रहरीको आईजीपी दानबहादुर कार्कीसँगै २०८४ चैत १८ गते ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन्। त्यससँगै दुवै संगठनबाट यो टोली निख्रिने छ।  

डीआईजी शम्भु सुवेदी भने आगामी पुसमै अवकाश हुनेछन्। सुवेदी हाल स्टाफ कलेज सानो गौचरणमा कार्यरत छन्। डीआईजीको चार वर्षे कार्यकाल गत वर्ष पुस २३ गते नै सकिएको थियो। तर सरकारले सशस्त्र प्रहरी नियमावलीमा भएको व्यवस्था अनुसार उनीसहित चार डीआईजीको एक वर्षे पदावधि थप गर्ने निर्णय गर्‍यो। 

तीमध्ये गणेश ठाडा मगर एआईजी भइसकेका छन्। उनको कार्यकाल लम्बिने छ, १११ ब्याचपछि संगठनको नेतृत्वमै पुग्ने सम्भावना पनि छ। तर सुवेदीसहित कमल गिरी र कुलबहादुर नेम्बाङ भने अनिवार्य अवकाश हुनेछन्। 

नेपाल प्रहरीमा पनि यो ब्याचको प्रभाव राम्रो छ। दुई जना एआईजी छन्। मानव स्रोत विभागमा राजन अधिकारी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख डा. मनोजकुमार केसी छन्। 

५ वटा प्रदेशका प्रहरी प्रमुख यही ब्याचका 
यो ब्याचका अहिले ७ डीआईजी छन्। त्यसमध्ये ५ डीआईजी अहिले प्रदेश प्रहरी प्रमुख भएर काम गरिरहेका छन्। कोसी प्रदेश प्रमुख छन् ईश्वर कार्की। दानबहादुर आईजीपी भएसँगै नेपाल प्रहरीमा एक जना एआईजी रिक्त भएको छ। अब बढुवा हुने सम्भावना ईश्वर कार्कीको छ। उनी डीआईजीको पहिलो वरीयतामा छन्। 

मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा छन् गोविन्द थपलिया। बागमतीमा अरुण पौडेल र गण्डकीमा दिनेशकुमार आचार्य प्रहरी प्रमुख छन्। लुम्बिनी प्रदेशका प्रहरी प्रमुख राजेन्द्रप्रसाद भट्ट पनि यही ब्याचका हुन्। उनीहरू २०८१ पुसमा एकसाथ डीआईजीमा बढुवा भएका थिए। 

त्यतिबेला छुटेका सुदर्शनप्रसाद कोइराला र दीपक रेग्मी २०८२ जेठमा डीआईजीमा बढुवा भए। कोइराला विशेष ब्युरोमा र रेग्मी अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन्। 

एपीएफमा जानेहरू बढुवामा अघिअघि 
सरकारले नेपाल प्रहरी छाडेर सशस्त्र प्रहरीमा स्थानान्तरण हुनेहरूलाई एक तह बढुवा सुरुमै दियो। इन्सपेक्टरबाट २०५८ सालमा सशस्त्र प्रहरीमा गएकाहरू त्यतिबेलै डीएसपी भए। 

तर, त्यसपछि पनि सशस्त्र प्रहरीमा जानेहरू छिटो–छिटो बढुवा हुँदा नेपाल प्रहरीमा रहनेहरूले भने १२ वर्षसम्म इन्सपेक्टरमै रोकिनु पर्‍यो। नेपाल प्रहरीमा रहेकाहरू डीएसपी हुनु तीन वर्ष पहिल्यै सशस्त्र प्रहरीमा जानेहरू एसपी भइसकेका थिए। सशस्त्र प्रहरीमा जाने अर्यालसहितको टोली २०६३ सालमा एसपी भएको थियो। नेपाल प्रहरीमा रहेका दानबहादुरसहित एसपी भएको एक वर्ष नपुग्दै सशस्त्र प्रहरीमा अर्यालसहितको टोली डीआईजी भएको थियो। 

अर्याल २०७० सालमा एसएसपी र २०७५ सालमा डीआईजीमा बढुवा भएका थिए। तर नेपाल प्रहरीमा कार्की २०७४ मा मात्रै एसपी भए। उनीहरू एसपीमै रहँदा अर्याल सशस्त्र प्रहरीको महानिरीक्षक भइसकेका थिए। अर्याल २०७९ वैशाखमा एआईजी भएको केही दिनमै वैशाख १८ गते आईजीपी नियुक्त भएका थिए। 

तर नेपाल प्रहरीमा रहेकाहरू २०७९ साउनमा मात्रै एसएसपीमा बढुवा भए। २०८१ जेठमा पहिलो टोलीमा तीन जना डीआईजी भए, दानबहादुर, राजन र मनोज। २०८२ वैशाख ११ गते एआईजी बनेका कार्की ६ महिनापछि आईजीपी बन्न सफल भए। अब उनले करिब ६ महिना अर्यालसँग र त्यसपछिको बाँकी कार्यकाल नारायणदत्त पौडेलसँगै सहकार्य गर्नेछन्। यही अवस्थामा उनीहरूको अवकाश पनि २०८४ चैत १८ गते एकसाथ हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad