समाज


विज्ञ भन्छन्ः यसकारण नेपालमा कोरोनाका बिरामी धमाधम निको भइरहेका हुन्

विज्ञ भन्छन्ः यसकारण नेपालमा कोरोनाका बिरामी धमाधम निको भइरहेका हुन्

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ३:५९,

चीनको उहानबाट कोरोना भाइरस (कोभिड-१९) संक्रमण सुरु भई अहिले विश्वभर फैलिएको ४ महिना भइसकेको छ।

तर विश्वका अन्य देशमा यसबाट संक्रमित र मृत्यु हुने जुन भयावह स्थिति देखिएको छ, त्यस्तो अवस्था अहिलेसम्म नेपालले भोग्नुपरेको छैन। जुन सौभाग्यकै कुरा हो।

अहिलेसम्मको तथ्यांकअनुसार नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५४ पुगेको छ भने तीमध्ये पनि १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। कोरोना संक्रमणकै कारण मृृत्यु त अहिलेसम्म कसैको भएको छैन।

यसको अर्थ अब नेपालमा कोरोना भाइरसको संक्रमणबाट कोही पनि मृत्युसम्म पुग्दैनन् भन्ने हो?

बुधबार बिहान नेपालखबरले राखेको यो प्रश्नमा इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले यसो भनेः

कुरा के हो भने यो भाइरसले महिनैपिच्छे, दिनैपिच्छे आफ्नो स्वरूप (जिन) परिवर्तन गरिरहेको पाइएको छ। यस क्रममा संसारमा अहिलेसम्म यो भाइरस ३० किसिमका भइसकेका छन्। तीमध्ये नेपालमा अलि कमजोर अर्थात् नरम खालकै भाइरस प्रवेश गरेको हाम्रो अहिलेसम्मको निष्कर्षले देखाएको छ।

कोरोनाका ५४ बिरामीमध्ये ५ जनाजतिलाई मात्र ज्वरो आएको पाइएकाे छ। अन्यलाई खासै लक्षण देखिएको छैन। 

नेपालमा एउटा भाइरसको मात्रै जेनेटिक परीक्षण गरेका छौं। अरूको यस्तो परीक्षण गर्न सकिएको छैन। तैपनि अहिलेसम्मको हाम्रो निष्कर्षले नेपालमा नरम खालकै कोरोना रहेको देखिन्छ।

तर लकडाउन खोल्ने, लापर्बाही गर्ने गर्न थालियो भने यो बढ्न सक्छ। यसले दिनदिनै आफ्नो रूप र क्षमता परिवर्तन गर्ने भएकाले थप अध्ययन नगरी नेपालमा मृत्युसम्मको स्थिति आउँदैन भनेर अहिले ग्यारेन्टी गर्नचाहिँ गाह्रो हुन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad