समाज


पुस १७ देखि नेपाल घुम्न आउने विदेशी पर्यटकको ‘ट्र्याकिङ’ गरिँदै

पुस १७ देखि नेपाल घुम्न आउने विदेशी पर्यटकको ‘ट्र्याकिङ’ गरिँदै

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १६:१२, काठमाडौँ

अध्यागमन विभागले पुस १७ गतेदेखि नेपाल घुम्न आउने विदेशी पर्यटकको ट्र्याकिङ सुरु गर्ने भएको छ। यसअघि असोज १ गतेदेखि लागू हुने गरी कार्योजना तयार पारिएको भए पनि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उक्त कार्य सुरु हुन सकेको थिएन। 

विभागका प्रवक्ता तथा निर्देशक टीकाराम ढकालले बिहीबार एक सूचना जारी गर्दै विदेशी नागरिकको ट्र्याकिङ कार्य अनिवार्य रुपमा कार्यान्वयन गरिने बताएका हुन्।  

‘नेपाल पक्ष राष्ट्र भएका धेरै अन्तराष्ट्रिय कानुन र प्रबन्धहरूले सबै सदस्य राष्ट्रहरूलाई अध्यागमनसम्बन्धी अभिलेख व्यवस्थापन गर्ने दायित्व सिर्जना गरेका छन्। यस्ता अन्तर्राष्ट्रिय दायित्व र प्रतिबद्धताहरुप्रति पूर्ण प्रतिबद्धता प्रकट गर्दै विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरुको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको विकास गरेको छ,’ सूचनामा भनिएको छ, ‘उक्त प्रणाली २०८२ असोज १ देखि लागू गर्ने गरी कार्य योजना तयार पारिएकोमा मुलुकमा विकसित पछिल्लो घटनाक्रमका कारण कार्यान्वयन हुन नसकेको हुँदा वि. सं. २०८२ पुष १७ (सन् २०२५ जनवरी १) देखि अनिवार्य रुपमा कार्यान्वयन गर्ने तयारी गरिएको छ।‘ 

यस्तो छ सूचना 

अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार नेपालभित्र विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमन एवम् नेपाली नागरिकहरुको प्रस्थान र आगमनलाई व्यवस्थापन गर्नु अध्यागमन प्रशासनको प्रमुख कार्य हो। अध्यागमन नियमन, यात्रुहरुको स्वतन्त्र र सुरक्षित आवागमन एवम् पर्यटन प्रबर्द्धनकाबीच कुशल संयोजन कायम गरी राष्ट्रिय सुरक्षा र सुशासन प्रबर्द्धन गर्ने दिशामा अध्यागमन विभागले कार्य गरिरहेको छ। मुलुकको अन्तराष्ट्रिय प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिबृद्धि, पर्यटन प्रबर्द्धन र बैदेशिक लगानी प्रबर्द्धनका लागि मुलुकभित्र हुने सबै आवागमन र गतिविधिहरु राज्यको जानकारीमा रहनु पर्दछ।

नेपाल पक्ष राष्ट्र भएका धेरै अन्तराष्ट्रिय कानून र प्रबन्धहरुले सबै सदस्य राष्ट्रहरुलाई अध्यागमनसम्बन्धी अभिलेख व्यवस्थापन गर्ने दायित्व सिर्जना गरेका छन्। यस्ता अन्तर्राष्ट्रिय दायित्व र प्रतिबद्धताहरुप्रति पूर्ण प्रतिबद्धता प्रकट गर्दै विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरुको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (Foreign Nationals Management Information System) को विकास गरेको छ। उक्त प्रणाली २०८२ असोज १ देखि लागू गर्ने गरी कार्य योजना तयार पारिएकोमा मुलुकमा विकसित पछिल्लो घटनाक्रमका कारण कार्यान्वयन हुन नसकेको हुँदा वि. सं. २०८२ पुष १७ (सन् २०२५ जनवरी १) देखि अनिवार्य रुपमा कार्यान्वयन गर्ने तयारी गरिएको छ। 

यस प्रणालीको कार्यान्वयन मार्फत् नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरुको बसाईँ तथा उनीहरुको गतिबिधिसम्बन्धी व्यवस्थित अभिलेख राख्ने र आपतकालीन अवस्थामा खोज, उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने विश्वास लिइएको छ। यसका साथै सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायहरुबीच सूचना आदानप्रदानको प्रक्रियालाई सरल र प्रभावकारी बनाई पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ।

यस प्रणालीलाई पहिलो चरणमा वि. सं. २०८२ पुष १७ (सन् २०२६ जनवरी १) गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरुमा अनिवार्य रुपमा लागू गरिनेछ। दोस्रो चरणमा वि. सं. २०८२ फागुन १७ (सन् २०२६ मार्च १) देखि देशभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरहरुमा र क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिनेछ।  
तसर्थः विदेशी नागरिकहरुलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था एवम् निजी कम्पनीहरुलाई यस प्रणालीमा अनिवार्य रुपमा आबद्ध हुन अनुरोध गरिन्छ। उक्त प्रणालीमा दर्ता हुने प्रक्रिया र Manual यस विभागको वेभसाईट https://www.immigration.gov.np मा हेर्न सकिनेछ। यस सम्बन्धी थप जानकारी आवश्यक भएमा विभागको सूचना प्रविधि शाखा वा विभागका कम्प्युटर ईञ्जिनियर श्री सन्तोष कुमार शाह (मोबाईल नं ‌+९७७ ९७६१४२३६३७) लाई सम्पर्क गर्न सकिनेछ।

उक्त प्रणालीको कार्यान्वयन सम्बन्धमा अनुगमन गर्न ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिहरुलाई पत्राचार गरिसकिएकोले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् नियमित रुपमा अनुगमन हुने व्यहोरा समेत जानकारी गराइएको छ।

टीकाराम ढकाल
प्रवक्ता/निर्देशक

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad