त्यो बेला म कक्षा ८ को विद्यार्थी थिएँ, धनकुटा बजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयको। कक्षा ७ सम्म मात्रै पढाइ हुने धनकुटा नगरकै वारिपात्लेको भाषा निम्न माध्यमिक विद्यालयबाट नयाँ विद्यार्थीका रूपमा गोकुण्डेश्वरमा पुगेको थिएँ। पञ्चायती व्यवस्थाले आफ्नो रजत जयन्ती उत्सव मनाइसकेको समय थियो त्यो।
हामी केही अन्तरङ्ग सहपाठीबीच कहिलेकाहीँ खासखुस चल्थ्यो, सोही विद्यालयमा कक्षा १० मा पढ्दै गरेकी एक दिदीको विषयमा। साथीहरूमध्ये कोही फुसफुसाउँथे, ‘उसको बाउले राजालाई बम हान्देको रे, अनि उसको बाउलाई पनि सरकारले मार्देको रे!’
ओहो, कस्तो खतरनाक कुरा!
आफ्नो बुबाको यस्तो खतरनाक इतिहास बोकेकी ती दिदी हामीलाई भद्र र शालिन लाग्थिन्। राम्रो नेतृत्व विकास भएकोले अतिरिक्त क्रियाकलापहरूमा उनको सहभागिता पनि राम्रै देख्थ्यौँ।
किशोरावस्थामा जसको बारेमा हामीले खासखुस गर्यौँ, पञ्चायत ढलेपछि मात्रै उनको बुबाको बारेमा केही थाहा भयो। वामपन्थी नेता राधाकृष्ण मैनालीको ‘लुटिएको दुई थुँगा फूल’ पढेपछि ती दिदीका बुबा अर्थात् राजालाई बम हानेको अभियोगमा मृत्युदण्ड भोग्ने मानिसको बारेमा जति थाहा पाइयो, अझ धेरै खुलदुली मच्चियो।
एक दिन त्यही मृत्युदण्ड भोग्ने मानिस अर्थात् भीमनारायण श्रेष्ठको घरमा पसेँ, अनेकौँ खुलदुली लिएर। बुबा सूर्यनारायण श्रेष्ठले पुराना कागजका पोकाहरू खोल्न थाले, जेठा छोरा मनोजनारायण श्रेष्ठले सर्वोच्च अदालतले गरेको फैसलाको प्रति फिजाए। उनीहरूले नै सुझाएअनुसार सहिद भइसकेका भीमनारायणको शव बुझ्न गएका वीरेन्द्रनारायणलाई भेट्न विराटनगर पुगेँ। त्यही क्रममा भीमनारायणको जीवनरक्षाका लागि बहस गर्ने वकिलमध्येका एक कुसुम श्रेष्ठ र मृत्युदण्डको पक्षमा फैसला गर्ने तत्कालीन सर्वोच्चका न्यायाधीश वासुदेव शर्मालाई भेट्न धनकुटादेखि विराटनगर हुँदै काठमाडौँसम्मको यात्रा गरियो।
खयगुली श्रेष्ठ परिवार
भीमनारायण श्रेष्ठको व्यापार व्यवसाय थियो, छापाखाना। पछिसम्म उनका छोराहरूले धानेका थिए यो व्यवसाय। लेटर प्रेसको जमाना सकिएसँगै उनीहरूले छापाखाना बन्द गरे। ती छापाखानाका केही अवशेष अहिले सहिदपुत्र मनोजनारायण श्रेष्ठले सञ्चालन गरिरहेको निजी सङ्ग्रहालयमा देख्न सकिन्छ।
व्यापारको सिलसिलामा विभिन्न ठाउँबाट आएका नेवारहरूले बसाएको बस्ती हो, धनकुटा नगरको मूलबजार क्षेत्र। यो क्षेत्र तराई र हिमाली क्षेत्र जोड्ने मुख्य व्यापारिक मार्ग भएको आजभन्दा दुई सय ६ वर्षअघि फ्रान्सिस ह्यामिल्टनको ‘एन एकाउन्ट अफ किङडम अफ नेपाल’ (सन् १८१९:१५७) मा उल्लेख छ। त्यहाँ लेखिएअनुसार त्यसबेला अरुणतिरको हटिया र तमोरतिरको ओलाङचुङगोलामा व्यापार चल्थ्यो। यी दुई केन्द्रको बीचमा रहेको पोकाङ (छोकाङ?) ठूलो व्यापारिक केन्द्र थियो। विजयपुर केन्द्रबाट मूलघाटबाट तमोर नदीको किनार भएर एउटा बाटो उत्तर लाग्छ भने अर्को चाहिँ तमोर तरेर धानकोट (धनकुटा) हुँदै माङमाया खोलाको बाटो भएर पोकाङ पुग्न सकिन्छ भनी ह्यामिल्टनले उल्लेख गरेका छन्।
हिमाली क्षेत्र र तराई जोड्ने बीचको पहाडी व्यापारिक मार्ग धनकुटामा दुई सय वर्षभन्दा पहिलेदेखि नेवारहरूले बजार बसाएको इतिहास भेटिन्छ। बीच बजारमा रहेको नेवारहरूको इष्टदेव भीमसेनको मन्दिरसम्बन्धी वि.सं. १८७६ भदौ वदी ५ रोज ३ लेखिएको एक पत्र योगी नरहरिनाथले ‘इतिहास प्रकाश सन्धिपत्र सङ्ग्रह भाग १’ (२०५५:३०४) मा छापेका छन्।
तत्कालीन राजाबाट धनकुटामा खटिएका काजीबहादुर भण्डारीको नाममा लेखिएको रुक्कामा ‘धनकुटाका... पुजा अक्षता धूप वाति निमित्य. तेसै जगामा ७६ सालमा झाराले का बिह्रौटामध्ये पार्सि मुरि। २० साधन्यको पधेर्या मुरि। २० जम्मा षेतमुरि। ४० गुठ राषि बक्स्यौँ’ भन्ने परेको छ। योगी (२०५५:३०५) ले धनकुटामा खटिएका काजीबहादुर भण्डारीका छोरा बखतवारसिंह भण्डारीको नाममा वि.सं. १८९७ असोज सुदी ७ रोज ६ मा लेखिएको रुक्कामा ‘धनकुटामा तेरा बाबले र तैले थापना गर्याको र पौवा पाटी पक्की घर बनायाको गुठ निमित्य पौवा पाटी पक्की घरमाँ पसल राषन्या नेवार जति छन् तिन्हरूलाई ञहाँबाट जान्या भारदारहरूले रकम दै दस्तुर देउ भनि टंटा गर्छन्. तेस पाटी पौवामाँ पसल राषन्या नेवारलाई रकम कलम दस्तुरादमाँ टंटा नगर्नु डंड कुंड भया ताँहाँका आमदानीले ...लाई धुप दीप नैवेद निमित्य. फिर्ता गरिदिनू न लिनू’ भन्ने उल्लेख छ।
इतिहासकार नरपति पोखरेलले ‘नरपति पोखरेलका कृति’ (२०६६:४५०) अन्तरगत ‘धनकुटाको इतिहास’ खण्डमा त्यसबेला बखतावरसिंह भण्डारीले भीमसेनको पूजा चलाउन बजारमा लाइन मिलाई १० वटा झिंगटीको छानो भएका पक्का घर बनाएका थिए भन्ने परेबाट धनकुटालाई गुल्जार बनाउने काम नेवारहरूले नै गरेका हुन् भन्नेमा कुनै शङ्का रहेन। अझ बीच बजारको भीमसेनस्थानमा बख्तावरसिंह भण्डारीले ठड्याएको वि.सं. १८८१ को शिलालेखले पनि त्यो मन्दिर निर्माण भएकै दुई सय वर्षभन्दा बढी भइसकेको प्रमाणित गर्छ।
यस्तै भीमसेनस्थानदेखि नजिकै निशान भगवतीस्थानमा काजी जसपाउ थापाले ठड्याएको वि.सं. १८७९ को शिलालेखमा कोतशाला स्थापना गरिएको उल्लेख भएबाट धनकुटा बजार क्षेत्रको बस्ती यसै ठाउँबाट विस्तार हुँदै गएको झल्को मिल्छ।
नेवारहरूमा भीमसेनको पूजाअघि गणेशको पूजा गर्ने चलन रहेकोले सिरान बजारमा गणेशस्थान स्थापित छ। त्यहीँ गणेशस्थान छेउमा १० पुस्ताअघि भक्तपुरको खोपासीबाट व्यापारको सिलसिलामा धनकुटा आइपुगेको खयगुली श्रेष्ठ खलक परिवारको बसोबास छ। यसै परिवारले आफ्नो पुत्ररत्न भीमनारायण श्रेष्ठलाई देशको परिवर्तनका लागि आहुतिमा समर्पित गर्यो।
कागजले बेरिएको त्यो डल्लो
भाइ वीरेन्द्रनारायण श्रेष्ठको विवाहका लागि भीमनारायण धनकुटाबाट विराटनगर झरेका थिए। उनी २०३० फागुन २२ गते विवाहको सामान किन्न भाइसँगै भारतीय बजार फारवेसगन्ज पुगे। तर एउटा सल किन्न छुटेछ, त्यसका लागि पुनः भीमनारायण एक्लै फारवेसगन्ज पुगे। फागुन २६ गते विवाह सम्पन्न भयो।
छुटेको सामान किन्न भीमनारायण फारवेसगन्ज पुग्दा त्यहाँ निर्वासित कांग्रेस कार्यकर्ता कप्तान यज्ञबहादुर थापासँग भेट भयो। यज्ञबहादुर धनकुटामा सेनाको तत्कालीन गुल्मपति हुँदादेखि नै भीमनारायणको उनीसँग राम्रो चिनाजान थियो। यज्ञबहादुर धनकुटामा रहँदा हालः धनकुटा नगरको खानेपानी कार्यालय रहेको परिसरमा घर पनि बनाएका थिए।
२०४५ सालको भूकम्पमा परी घर भत्किसक्यो। त्यो घर सरकारी अधिग्रहणमा परिसकेको थियो। समयक्रममा राजनीतिक विचारले यज्ञबहादुर नेपाली कांग्रेसमा आबद्ध हुँदै निर्वासित भएका थिए। सशस्त्र क्रान्तिमा ओखलढुङ्गा कब्जा गर्न अगाडि बढ्दा उनी पक्राउ परे, राज्यविप्लवको अभियोग लगाई उनले पनि मृत्युदण्ड पाए।
भीमनारायण पुनः फागुन २५ गते फारवेसगन्ज पुग्दा यज्ञबहादुरले भीमनारायणलाई कागजले बेरिएको एउटा गह्रौँ वस्तु ‘फलानोलाई दिनू है’ भनी थमाएका थिए।
त्यही सलसँगै उनको साथ सीमावार भई विराटनगर भित्रिएको कागजमा बेरिएको गह्रौँ वस्तु उनले थापाको निर्देशनअनुसार विराटनगरको ट्राफिक चोकनेरको आफन्त गोपालनाथ श्रेष्ठले चलाएको तत्कालीन ‘धरान होटल’को गोप्य कोठामा नेविसंघका तत्कालीन सक्रिय कार्यकर्ता रामकृष्ण श्रेष्ठलाई हस्तान्तरण गरे।
त्यो बेला राजा वीरेन्द्रको पूर्वाञ्चल भ्रमण थियो। त्यही सिलसिलामा उनी विराटनगरमा थिए। २०३० चैत ३ गते उनको भ्रमण समीक्षालयतिर हुँदै थियो। राजाको सवारी हेर्न भनी रामकृष्णको पछि लागेर भीमनारायण त्यसतर्फ जाँदै थिए। आमाको लागि औषधि किन्न भनी रामकृष्ण अस्पताल परिसरतिर जाँदै गर्दा अचानक ठूलो विस्फोट भयो। विस्फोटमा परी रामकृष्ण र अर्का व्यक्ति नगेन्द्रप्रसाद पराजुलीले ज्यान गुमाए। भीमनारायणसहित पचासौँ घाइते भए।
राजाको भ्रमणको बेला विस्फोटमा परी मृत्यु हुने रामकृष्ण श्रेष्ठको पहिचान र उनको राजनीतिक पृष्ठभूमि पत्ता लाग्नु अनि सँगै घाइते हुने रामकृष्णका छिमेकी तथा साथी भीमनारायण श्रेष्ठ सँगै रहनु। यसबाट तत्कालीन राज्य व्यवस्थाको शंका भीमनारायणतिर सोझियो।
तर आत्मरक्षाका लागि अन्तिम अवस्थासम्म मानिस लड्छ भिड्छ नै, भीमनारायण श्रेष्ठले पनि अन्तिम अवस्थासम्म आत्मरक्षाका लागि उक्त विस्फोटमा आफ्नो संलग्नता नभएको इन्कारी बयान दिँदै रहे।
बम विस्फोटको बेला ‘लवराजा’ भनिने वीरेन्द्रबहादुर शाह कोसी अञ्चलका अञ्चलाधीश थिए, अनि डीआईजी (पछि आईजीपी) थिए– दुर्लभकुमार थापा। यिनीहरू दुईमा घटनाको प्रमुख जिम्मेवार व्यक्ति पत्ता लगाउनुपर्ने चुनौतीपूर्ण जिम्मेवारी थियो। विस्फोटको तीन दिनपछि भीमनारायण सख्त घाइते अवस्थामै गिरफ्तार भए। घटनामा घाइते एक बालकलाई प्लास्टर गरिएको उनको हात हल्लाएर भीमनारायणकै गोजीबाट एउटा डल्लो झरेको बयान प्रहरीबाट गराइयो।
घटनामा मृत्यु भएका नगेन्द्रप्रसाद पराजुलीका दाजु टङ्कबहादुर पराजुली र तत्कालीन प्रहरी निरीक्षक मोहनबहादुर पाण्डे जाहेरवाला बने।
दिउँसो अस्पताल र राति डीआईजी कार्यालयमा बयानका लागि भीमनारायणको यातनापूर्ण ओहोरदोहोर चल्यो। अन्ततः यातना खप्न नसकेर उनले बमकाण्डमा आफ्नो संलग्नता रहेको बयान दिए। जोगवनीस्थित प्रहरी गणभित्र राखिँदा उनलाई यति गोप्य राखियो कि तीन महिनासम्म परिवारले उनको बारेमा केही थाहापत्तो पाएन।
अब भीमनारायण श्रेष्ठलाई राजाको गाथगादी ताकेको राजद्रोहजस्तो अत्यन्तै गम्भीर प्रकृतिको अभियोग लाग्यो।

राजनीतिक साइनो
विस्फोटमा परी तत्कालै ज्यान गुमाउने रामकृष्ण श्रेष्ठ खाँटी नेविसंघका कार्यकर्ता थिए। भीमनारायण श्रेष्ठ भने त्यो बेला राजनीतितिरभन्दा पनि व्यापार व्यवसाय र घरव्यवहारतिर बढी व्यस्त थिए।
तर, २०१५ सालको चुनावमा कांग्रेसलाई जिताउन दिलोज्यान दिएर खटेको पृष्ठभूमि बोकेका भीमनारायणको परिवारको २००७ सालको क्रान्तिसँग पनि विरासत जोडिएको छ। २००७ सालमा कांग्रेसले हतियार उठाउने निर्णय गरेको बेला गणेशमान सिंह, सीबी सिंह तथा बीबी चेम्जोङले दार्जिलिङमा पुगी त्यहाँ पढिरहेका विद्यार्थीलाई विभिन्न समूहमा बाँडेर नेपाल प्रवेश गराई राणा शासनविरोधी प्रचार अभियानमा जुटाउँदा तत्काल पढाइलाई स्थगन गरी दार्जिलिङबाट नेपाल फर्कनेहरूमा धनकुटाका रामनारायण श्रेष्ठ पनि एक थिए भनी २००७ सालका क्रान्तिका सशस्त्र योद्धा श्यामकुमार तामाङले ‘जनमुक्ति सेना एउटा नलेखिएको इतिहास’ (२०६३:४५)मा उल्लेख गरेका छन्।
धनकुटाको खयगोली श्रेष्ठ वंशका रामनारायण र भीमनारायण एउटै बराजु तुलसीनारायणका पनाति हुन्।
यो परिवारले २००७ सालको क्रान्ति सफल पार्न एउटा बन्दुक कांग्रेसलाई दिएको रहेछ, क्रान्ति सफल भएपछि फर्काउने प्रतिज्ञासहित। भीमनारायणको घरमा पुग्दा उनको बुबाले एउटा पोकाबाट झिक्दै कांग्रेसका तत्कालीन राजनीतिक कमिसार गिरिजाप्रसाद कोइरालाले बन्दुक बुझेको भर्पाई देखाए। कोइरालाको हस्ताक्षर रहेको भर्पाईको बेहोरा यस्तो छ–
२००७/९/२५ मा
धरान जुद्धनगर बस्ने श्री जयनारायण श्रेष्ठको ५ फायर मार्जर धं गौ.नं. मोगो नं.बन्दुक थान एक र त्यस्को टोटा गोटा २५ एस कांग्रेस अफिस (विराटनगर)मा दाखिल भयो। जनक्रान्तिको समयमा लडाईँको निम्ति प्राप्त भयो। क्रांतीपछि यो बन्दूक तपाईलाई फिर्ता दिइने छ
गिरिजाप्रसाद कोइराला
पोलिटिकल कमिशनर
भर्पाईमा लेखिएअनुसार बन्दुक बुझाउने जयनारायण श्रेष्ठ चाहिँ गायक दीप श्रेष्ठका बुबा हुन्। बन्दुकको लाइसेन्सअनुसार यसको हकदार सूर्यनारायण हुन्। सूर्यनारायण जयनारायणका सहोदर भाइ हुन्।
२००७ सालको क्रान्ति सफल भयो तर पूर्वप्रतिज्ञाअनुसार बन्दुक भने फिर्ता भएन। बन्दुकको लाइसेन्स अहिले पनि यो परिवारसँग सुरक्षित छ। बन्दुकका हकदार सूर्यनारायणको २०६७ साल वैशाख १६ गते ९५ वर्षको उमेरमा देहान्त भयो।
यताबाट हेर्दा विराटनगरमा विस्फोट भएको बम सीमावार गर्ने भीमनारायण श्रेष्ठको परिवारसँग पुरानो राजनीतिक विरासत रहेको पनि स्पष्टै हुन्छ।
फैसला गर्ने बीपीका साढुभाइ
बम विस्फोटनको तीन वर्षपछि सर्वोच्च अदालतले भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिने फैसला गर्यो। २०३३ साल फागुन ६ गते बिहीबार सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरू वासुदेव शर्मा र झपटसिंह रावलले भीमनारायणलाई राजगद्दी ताकेको र श्री ५ माथि आक्रमण गर्न खोजेको अभियोग लगाई पञ्चायती कानुनको राजकाजको (अपराध र सजाय) ऐन २०१९ दफा १६ तथा राजगद्दी ऐन २०१५ दफा १६ अनुसार मृत्युदण्डको फैसला सुनाएको थियो। उनीसँग यज्ञबहादुर थापाले पनि मृत्युदण्डको सजाय पाए। उनलाई राज्यविप्लवको अभियोग लागेको थियो।
मलाई यो मुद्दामा फैसला गर्ने न्यायाधीशहरूसँग भेट गर्ने इच्छा भयो। कुरा २०५७ सालको हो। धनकुटाबाट ती न्यायाधीशहरूसँग भेट गर्ने उत्सुकताका साथ काठमाडौँ पुगेर फोन पत्ता लगाई सम्पर्क गर्दा वासुदेव शर्माले सौहार्द पुरानो बानेश्वरस्थित आफ्नो घरमा बोलाए। झपटसिंह रावलको चाहिँ देहान्त भइसकेको रहेछ।
शर्मासँग भेट गरेपछि अर्को आश्चर्यमा परेँ, उनी बीपी कोइरालाको सहोदर साढुभाइ रहेछन्। बीपी गृहमन्त्री हुँदा स्वकीय सचिव अनि उनकै तजबिजमा भोजपुरका बडाहाकिम पनि भएका। पछि उनले न्यायसेवा रोजेका रहेछन्। उनैले आफूले दुर्गानन्द झालाई पनि मृत्युदण्ड दिने फैसला गरेको घटना पनि आफ्नो लागि अविस्मरणीय भएको सुनाए।
सोही फैसला गर्ने अर्का न्यायाधीश झपटसिंह रावलको न्यायसेवाको इतिहासमा १९९७ सालका चार सहिदलाई मृत्युदण्ड दिने फैसला जोडिएको देखियो।
इतिहासकार डा. राजेश गौतम, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा–परिषद्को भूमिका भाग १’ (२०६२:१३४) पढ्दा त्यसबेला गठन भएको विशेष अदालतमा उनी विचारी पदमा रहेको देखिन्छ। उनले त्यसबेला गिरफ्तार गरिएका क्रान्तिकारीहरूसँग लिइएको बयान लेख्ने काम गरेका थिए।
राणाकाल र पञ्चायतकालका झपटसिंह रावल एकै व्यक्ति हुन् वा फरक? यसबारे उच्च अदालतका पूर्व मुख्य न्यायाधीश शेषराज शिवाकोटीसँग जिज्ञासा राख्दा एकै व्यक्ति हुन् भन्ने थाहा पाइयो। शिवाकोटीकाअनुसार रावल अछाम जिल्ला ओलीगाउँका हुन्।
‘यसरी दुर्गानन्द झा, यज्ञबहादुर थापा र भीमनारायणजस्ता आफ्ना कार्यकर्तालाई मृत्युदण्डको फैसला गर्दा तपाईँसँग बीपीले चित्त दुखाएनन्?’ जिज्ञासा राख्दा शर्माले भनेका थिए, ‘उहाँ त विशाल हृदय भएको मानिस, कहाँ चित्त दुखाउनु!’
विराटनगरमा बम विस्फोट भएको समयमा त्यहाँ रहेका तत्कालीन अञ्चलाधीश वीरेन्द्रबहादुर शाह र डीआईजी दुर्लभकुमार थापालाई पनि भेट्ने प्रयासस्वरुप सम्पर्क गरेको थिएँ। तर दुवैले भेट्ने चाहना देखाएनन्।
पीडामा परिवार, समाजमा आतङ्क
सर्वोच्च अदालतले मृत्युदण्ड दिने फैसला गरेको झन्डै दुई वर्ष भीमनारायणले मृत्यु कुरेर केन्द्रीय कारागारको गोलघरमा बिताए। यता परिवारमा भने दिनदिनैको रुवाबासी।
मृत्यु कुरेर बसेकाहरूको अन्तिम क्षण कस्तो थियो त?
भीमनारायण श्रेष्ठ र यज्ञबहादुर थापासँगै केन्द्रीय कारागारमा बन्दी जीवन बिताएका वामपन्थी नेता राधाकृष्ण मैनालीले ‘लुटिएका दुई थुँगा फूल’ (२०५२ : ४९–५१)मा यी दुवैको अन्तिम क्षणको बारेमा उल्लेख गरेअनुसार रातको सुनसानमा अनायसै प्रहरीलगायत जेलभित्रका नाइके र कामदारसहित २०/२५ समूह थापाको कोठाअगाडि आएर उनलाई ‘बा! एकछिन किन हो बाहिर बोलाएको छ’ भने। उनीबाहिर आउनेबित्तिकै चौकीदारले ‘उहाँका कपडा, कागजपत्र सबै पोको पारेर बाहिर’ भने। त्यसपछि थापाले मैनालीलाई बोलाउँदै भने, ‘अब बाँच्नु यति नै रहेछ भन्ने बुझियो।’ उनले मोहनचन्द्र, केपी ओलीसँग पनि भेट गर्दै बिदा मागे।

भीमनारायण पनि तयार हुँदै थिए। उनले नयाँ पाइन्ट, सर्ट, छालाको जुत्ता र नयाँ मोजा लगाए। मैनालीहरू उनीहरूलाई ढाढस दिँदै मार्दैनन् होला भन्दै थिए। त्यसबीचमा थापाले आफूले त्यहाँ रहँदा केही सरसापट चलाएकोले त्यो हिसाब मिलाइदिन मैनालीलाई आग्रह गर्दै भने, ‘साथीहरूलाई भनेर बुझाइदिनू र कथंकदाचित उताबाट व्यवस्था भएन भने म ऋण खाएर मर्ने बदनामी हुन नपरोस्।’
स्वेटर लगाएर तयार भएका भीमनारायणको अनुहार रातो देखिन्थ्यो। अस्वाभाविक रूपमा सास बढिरहेको थियो। कोठाबाट बाहिर निस्केर सबैभन्दा पहिले उनी केपीको कोठाअगाडि पुगेर फलामको रडबाट निकालिएका हातमा कसेर हात मिलाए। त्यसपछि मैनालीले रडबाहिर हात निकालेर उनका नरम र तातो हात कसेर पक्रे। उनमा भावुकता र जीवनप्रतिको आशा बराबरी थियो। उनले अन्तिम वाक्यका रूपमा साथीहरूलाई भने, ‘जीवन रहे भेट हुन्छ। मिलेर सङ्घर्ष गरिन्छ। नरहे हाम्रो भेट यति नै हो। बाँचेकाले क्रान्ति गर्नू, मेरो यही खबर सुनाइदिनू।’ उनले मोहनचन्द्रसँग पनि अन्तिम भेट गरे। दुवैलाई प्रहरी भ्यानमा राखेर हिडाउँदा बिहानको ४ बजेको थियो।
यता काठमाडौँमा गृह प्रशासन मृत्युदण्ड कार्यान्वयन गर्न र यसबारे समाचार प्रसारण गर्ने तजबिज मिलाउँदै थियो। त्यसबेला राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकार भैरव रिसाललाई आफ्नो कार्यालयमा बोलाएर बागमतीका अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठले राति अबेर एक महत्त्वपूर्ण समाचार आउने भएकोले साथीहरूलाई कुरेर बस्न भनेछन्। रिसालले ‘हिमालखबर’ (२०७५ असोज २८–कात्तिक १०)मा यससम्बन्धी संस्मरण लेखेका छन्।
थापा र श्रेष्ठलाई पोखरामा राजालाई भेट्न लैजाने भनी झुक्याएर हेटौँडा बजारको दक्षिणतर्फ राजमार्गदेखि दाहिनेतर्फको जङ्गलभित्र रुखमा बाँधेर गोली हानिएछ भनी रिसालले लेखेका छन्।
तर यो गलत छ।
मैले यज्ञबहादुर थापाको छोरा आनन्द थापालाई २०५७ सालमा भेट्दा उनले आफू नै बुबाको शव बुझ्न पुगेको बताएका थिए। उनका अनुसार थापाको पृष्ठभूमि सैनिक भएकोले उनको मृत्युदण्डको कार्यान्वयन सेनाले गरेको थियो। उनी ओखलढुङ्गा काण्डमा संलग्न भएकोले सगरमाथा अञ्चलमा उनलाई मृत्युदण्ड दिनुपर्ने भएकोले कमला नदीको किनारमा पुर्याइएको थापाले बताएका थिए।
श्रेष्ठको मृत्युदण्डको कार्यान्वयन भने प्रहरीले कोसी नदीको किनारमा गरेको उनका भाइ वीरेन्द्रनारायण श्रेष्ठले मसँग बताएका थिए।
भीमनारायणको गृहनगरमा त्यस दिन उनलाई राजाले माफी दिँदैछन् भन्ने ठूलो हल्ला चलेको थियो। उता विराटनगरमा रहेका भीमनारायणका भाइ वीरेन्द्रनारायणलाई अञ्चलाधीश कार्यालयबाट अचानक बोलावट आएपछि उनी त्यहाँ पुगेका थिए। उनलाई त्यहाँ निकैबेर कुर्न लगाइयो। उनी असाध्यै अधैर्य र भयभीत हुन पुगे।
उनलाई माघ २४ गते नै अञ्चलाधीशको निवासमा बोलाइएको थियो। त्यहाँ शाखा अधिकृत कृष्णप्रसाद दाहालले उनलाई ‘आज तपाईँको दाइलाई यहाँ ल्याइँदैछ, तपाईँले बुझेर लैजानु पर्छ’ भने। अल्मल्याउँदै राखेर उनलाई भोलि १० बजे कार्यालयमा आउन भनियो। कुर्दा कुर्दा दिक्क र भयभीत भएका उनी स्वेटर लगाएर आउँछु भनेर त्यहाँबाट भागी नजिकैको नातेदार ईश्वरबहादुर श्रेष्ठसँग भेटी उनलाई सबै कुरा बताए।
ईश्वर अञ्चलाधीशको कार्यालयमा पुगी बुझ्दा वीरेन्द्रनारायणलाई जस्ताको तस्तै फर्काउने भनिएपछि फेरि उनी अञ्चलाधीश कार्यालयमा पुगे। साँझ ५ बजे उनलाई गाडीमा राखेर हिँडाइयो। उनले भेउ पाएअनुसार गाडी पश्चिमतिर लाग्दै थियो। बीच बाटोमा तेल भर्ने क्रममा गाडी रोकिँदा उनले प्रभु नामका एक चिनारुलाई भेटे। उनले आफ्नो अवस्थाबारे उनलाई जानकारी दिए।
कोसी ब्यारेजमा गाडी रोकियो। त्यसअघि इनरुवामा गाडी रोकिएको थियो। त्यो बेला सुनसरी जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी भगवानसिंह खाजा खाँदै थिए।
कोसी ब्यारेजमा पुगेपछि फेरि अल्मल्याउने काम भयो। तास पो खेलाउन थालियो। राति ९ बजेतिर एक व्यक्ति आई प्रजिअ सिंहसँग मसिनो स्वरमा वार्तालाप गरेर उनलाई त्यहाँबाट लिएर हिँडेपछि वीरेन्द्रनारायण थप भयभीत भए। आफूलाई नै मार्न लाग्दैछन् भन्ठानेर वीरेन्द्रनारायण पान किन्ने निहुँले कोसी ब्यारेजबाट दक्षिणतिर भाग्न लम्के। तर मर्नुपरे पनि आफ्नै देशमा मरौँला भन्ठानेर उनी फर्के। उनलाई एक सरकारी अधिकारीले ‘तपाईँको दाजुलाई कोसी टप्पु पुर्याइसकिएको छ। अब भेट्न उतै जाऔँ’ भने।
उनलाई कोसी टप्पु पुर्याइयो। उनी पुग्दा दाजुलाई त भेटे, तर चितामाथि सेतो कपडाले बेरिएको शवको रूपमा। अनुहार खोलेर हेर्दा उनका दाजु मौन थिए। उनले दाजुको अनुहार छामे। शव आलै थियो। भर्खरै मारेछन् भन्ठाने। रातको १ बजेको थियो।
यसरी वि.सं. २०३५ माघ २६ गते भीमनारायण श्रेष्ठले सहादत प्राप्त गरे।

धनकुटा नगरका वामपन्थी नेता तथा पूर्वउपमेयर जीवप्रसाद पोखरेल (हाल दिवंगत)सँग धनकुटाको राजनीतिक इतिहासका बारेमा बेला बेलामा कुरा गर्ने अवसर पाएको थिएँ। उनले यज्ञबहादुर र भीमनारायणलाई मृत्युदण्ड दिइएको बेलाको धनकुटाको अवस्थाका बारेमा बताएको बेहोरा यस्तो छ-
‘जब बीबीसीको हिन्दी सेवाले त्यो बेला भीमनारायण श्रेष्ठ र यज्ञबहादुर थापालाई मृत्युदण्ड दिएको समाचार प्रसारण गर्यो, तब भीमनारायणको घरका पुरेत वासुदेव पोखरेल डरले मरणासन्न भए। उनी मेरा साइनोका काका हुन्। उनी हत्त न पत्त अर्का पुरेत मेरा बुबा शिवप्रसादलाई भेट्न आएर भनेछन्, ‘दाजु, म यो काजक्रिया उठाउन सक्दिनँ।’ शिवप्रसादले भने, ‘तेरो काम पनि मै गरिदिऊँला। हदै भए हामी दुईलाई जेल लग्लान्, त्यहाँ हामी दुवै बसौँला, तँ भात पकाउन जानिहाल्छस्।’
यसरी दुई पुरेत मिलेर भीमनारायणको काजक्रिया सम्पन्न भयो।
त्यस घरमा जान मानिसहरू डराउँथे। नजिकका नातेदारहरू गोप्य रूपमा भेट्थे। पीडामाथि पीडा थियो। परिवार आँसुको आहालमा डुबेको थियो।

धेरैपछि भीमनारायणका जेठा छोरा मनोजनारायण आफ्ना काका वीरेन्द्रनारायणका साथ आफ्नो बुबालाई गोली दागिएको ठाउँमा अनुमान गर्दै पुगे। उनी थामिन सकेनन्, साह्रै नमज्जाले रोए। मृत्युदण्ड पाउने एक राजद्रोहीको सन्तानका रूपमा पञ्चायतकालमा पाएको राजनीतिक र मनोसामाजिक पीडा अहिले पनि खुलेर व्यक्त गर्न सक्दैनन्। सहिदपत्नी आफ्नी आमाको स्याहारमा आफूलाई पूर्णत: समर्पित गरेका अविवाहित उनी भन्छन्, ‘भो, हिजो हामीले भोगेको मनोवैज्ञानिक पीडाको कुरा नगरौँ। आज पनि आँसु आउँछ।’
भीमनारायण २०७२ साल फागुन १९ गते सहिद घोषित भए। सरकारलाई सहिदको सम्मान गर्ने मन भएछ। २०७८ असोज ३ गते सुप्रसिद्ध जनसेवाश्री पदकले उनलाई विभूषित गर्दा उनलाई ‘राजनीतिक योद्धा’ भनियो। यसमा सहिद परिवार असन्तुष्ट रह्यो। पदक ग्रहण गरिएको छैन। सहिदलाई सहिद सम्बोधन गरिए मात्रै पदक ग्रहण गर्ने अडान कसेर बसेको छ, यो परिवार।
आफ्नो बुबालाई राजद्रोहको अभियोग लाग्नेगरी भएको विराटनगर बम विस्फोटताका बबिता श्रेष्ठ केवल २२ महिनाकी थिइन्। उनी कक्षा १० मा पढिरहेको बेला हामी कक्षा ८ मा पढ्ने केही सहपाठी कानेखुसी गर्दै फुसफुसाउँथ्यौँ, ‘उसको बाउले राजालाई बम हान्देको रे, अनि उसको बाउलाई पनि सरकारले मार्देको रे!’
Shares

प्रतिक्रिया