समाज


जन्ती बस दुर्घटनाका प्रत्यक्षदर्शी: ‘गाडी पछाडि गुड्न थालेपछि हामफालेँ, रुखमा अड्किएर बाँचेँ’

जन्ती बस दुर्घटनाका प्रत्यक्षदर्शी: ‘गाडी पछाडि गुड्न थालेपछि हामफालेँ, रुखमा अड्किएर बाँचेँ’

बस दुर्घटनामा बाँच्न सफल अम्मरराज जोशी


नेपालखबर
माघ २३, २०८२ शुक्रबार १५:५९, काठमाडौँ

सुदूरपश्चिमको पहाडी भेगमा सडक दुर्घटनाका शृङ्खला रोकिनुको साटो झन् भयावह बन्दै गएका छन्। 

बैतडी पुर्चौडी नगरपालिका–७ को मढगाउँ (बढगाउँ) मोडमा बिहीबार राति ८ बजे भएको विवाहको जन्ती बोकेको पवनदूत यातायातको (सु.प्र. ०२९००१ ख १११९० बस दुर्घटनामा परी हालसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको छ।

दुर्घटनामा ८ जनाको घटनास्थलमै र ५ जनाको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा अधिकांश बझाङको बित्थडचिर गाउँपालिका–७ का वासिन्दा र बेहुलाका नजिकका आफन्त छन्। गम्भीर घाइते ३ जनालाई धनगढीमा उपचार भइरहेको छ। दुर्घटनामा बेहुला बेहुली भने सकुशल छन्।

यही कहालीलाग्दो घटनाबाट 'चमत्कारिक' रूपमा बाँच्न सफल भएका अम्मरराज जोशीको अनुभव उनकै शब्दमा :

बझाङको बित्थडचिर–७ बाट बिहीबार बैतडीको पुर्चौडी–७ भौने गाउँमा बेहुली लिन जन्ती आएका थियौँ। रमाइलो वातावरण थियो। बेलुकी साढे ६ बजेतिर बेहुलीको घरबाट बिदा भएर ५ मिनेटको पैदल दूरीमा रहेको बसपार्क पुग्यौँ। बेहुला–बेहुली र जेठा भाइ सोमराज जिपमा बसे। म र बेहुलीका कान्छा भाइ सुशीलसहित अन्य जन्तीहरू बस चढ्यौँ।

म ढोका नजिकै उभिएको थिएँ। जिप अघिअघि र हाम्रो बस पछिपछि थियो। यात्रा सुरु भएको १५ मिनेट मात्र भएको थियो, पुर्चौडी–७ को मढगाउँ मोडमा पुग्दा उकालोमा बस एक्कासि बन्द भयो। चालकले अघि बढाउन खोजे तर बस अघि गएन, ब्याक भयो। फेरि प्रयास गर्दा पनि बस रोकिएन र पछाडि गुड्न थाल्यो। अब गाडी खस्छ भन्ने निश्चित भएपछि मैले ढोकाबाट हाम फालेँ।

संयोगले त्यहाँ एउटा उत्तिसको रुख रहेछ, म त्यहीँ अड्किएँ। मेरो आँखाअगाडि बस बल्ड्याङ खाँदै भीरबाट तल खस्यो। केही समय म शून्य भएँ, वरिपरि चिच्याहटबाहेक केही थिएन। अलि सम्हालिएपछि मैले नै प्रहरीलाई फोन गरेर दुर्घटनाको खबर दिएँ।

दुर्घटनामा म त बाँचेँ, तर मसँगै बसेको बेहुलीको भाइ सुशीललाई बचाउन सकिएन। डडेल्धुरा अस्पताल लैजाँदै गर्दा उसले बाटोमै प्राण त्याग्यो। म सधैँ दैवी शक्तिमा विश्वास गर्ने मान्छे हुँ, आज त्यही विश्वासले मलाई पुनर्जन्म दिएको महसुस गरिरहेको छु। परिवारको माया र बिहानको घाम फेरि देख्न पाउनु कुनै संयोग मात्र होइन, मेरो लागि यो 'दोस्रो जीवन' हो।

यो पनि: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad