समाज


भुजुङकी च्योना, जसलाई पिरती र गुजाराको माध्यम बन्यो रोधीघर

भुजुङकी च्योना, जसलाई पिरती र गुजाराको माध्यम बन्यो रोधीघर

आयुषा ढकाल
माघ २५, २०८२ आइतबार १३:५७, काठमाडौँ

उमेरले करिब छ दशक टेक्न लागेकी च्योना गुरुङ पिँढीमा बसेर राडी बनाउन भेडाको ऊनबाट धागो कात्दैछिन्।

लमजुङ जिल्लाको एउटा सुन्दर अनि टाढाको गाउँ भुजुङकी उनी आफ्नै सीपले आम्दानी गर्न सक्षम छिन्। यही उद्यमका भरमा उनी जीवन चलाइरहेकी छन्।

उनको जीवनका सबैभन्दा महत्त्वपूर्ण कुरा दुइटा छन्ः उनका श्रीमान् अनि यही राडीपाखी बुन्ने सीप रोज्छिन्। उनलाई लाग्छ– यी दुई हुन्थेनन् भने जिन्दगी नै कसरी चल्थ्यो र!

रोचक कुरा, यी दुवै उनका लागि रोधीघरकै उपहार हुन्।

भुजुङमा गुरुङहरूको ठूलो बस्ती छ। दिनभरि काम गरेको थकान मेटाउन र सीप सिक्न गाउँका युवा–युवती रोधीघरमा जान्थे। ४३ वर्षअगाडि च्योना पनि आफ्नो समुदायको प्रचलन अनुसार रोधी जाने गर्थिन्। उनले त्यहाँ गएर राडी, बख्खु, पुआ, राम्जै, चकटी आदि बनाउन सिकेकी थिइन्।

‘पहिला–पहिला त रोधीमा जानै पर्ने थियो। रोधीमा गएपछि सीप सिकियो, बुट्टा हाल्ने, चकटी बुन्ने, चर्खा बेर्ने काम सिकेँ,’ उनले पुरानो दिन सम्झिइन्, ‘रोधीमा केटाहरू पनि आउँथे, नाचगान पनि हुन्थ्यो अनि पछि सुत्ने बेला आफ्नै ठाउँमा जान्थे। केटाहरू एकछिन बस्न आउँथे, अनि रोधीघरकै बा–आमाले केटाहरू जाऊ, केटीहरू यतै सुत भन्नुहुन्थ्यो।’

रोधीमा सिकाइने यस्ता सीपमूलक कामले गर्दा त्यहाँका महिलाहरू आत्मनिर्भर पनि छन्।

त्यतिबेला च्योना १५-१६ वर्षकी मात्र थिइन्। जब उनको भेट रोधीघरमा समनसिंह गुरुङसँग भयो। समन पनि डोको, मान्द्रो बुन्न कम्ता जान्ने थिएनन्। रोधीघरमा उनले च्योनालाई असाध्यै मनपराए। 

च्योना निकै सुन्दर अनि सीपालु थिइन्। रोधीको भाकासँगै च्योनाले भेडाको रौँबाट धागो (ऊन) निकाल्दै गर्दा डोको बुन्दै गरेका समन उनलाई हेरेको हेर्‍यै भए। उतिबेलाको पिरतीको त्यो झझल्को अझै आइरहने च्योना सुनाउँछिन्।

समनका बा–आमा थिएनन्, त्यसैले उनी एक जीवनसाथी खोजिरहेका थिए। एकै नजरमा मन परेकी च्योनालाई समनले आफ्नो बा–आमा नभएको र आफू एक्लै भएको बताएका थिए। जुन कुरा सुन्दा च्योनालाई समनको खुबै माया लागेर आएको थियो।

‘रोधीमै गएको बेलामा मलाई बाले मन पराएर आएको नि त। आमा पनि बित्यो, बाउ पनि बित्यो भनेर दुःख देखेपछि आएको नि म,’ च्योनाले मुस्कुराउँदै आफ्नो १६ वर्षे उमेरको प्रेमकथा सुनाइन्। 

समनको दुःख सुनेर नै च्योनालाई उनको माया लागेको थियो। त्यसैले उनीहरूले रोधीबाटै भागेर विवाह गरेका थिए।

समन र च्योनाको विवाह भएको अहिले लगभग ४३ वर्ष भइसकेको छ। उनीहरूका २ छोरा र २ छोरी छन्। आफूसँग भएको सीप र साथमा भैँसीपालन, खेतीपाती गरेर नै उनीहरूले आफ्ना छोराछोरीलाई हुर्काए। अहिले उनीहरूको एक छोरा साउदीमा र अर्को छोरा बुहारीसँग रोमानियामा छन्। छोरीहरूले आफैँ राजीखुसी प्रेमविवाह गरेका छन्। सबै छोरा–छोरी आफ्नो जीवन चलाउन लाखा–पाखा लागिसके।

समन र च्योनाको साथी–सारथी जे भए पनि एकअर्काका लागि आफैँ नै हुन्।

च्योना अहिले पनि अन्य कामसँगै रोधीमा सिकेका काम गर्छिन्। तर उनले भेडा भने आफैँ पालेकी छैनन्। त्यसैले ऊन किन्ने गर्छिन्। एउटा राडी बनाउन उनलाई ६ मुठ्ठा ऊन चाहिन्छ। त्यसका लागि १ हजार ५० रुपैयाँ तिर्नुपर्छ। 

ऊन बनाउनदेखि लिएर एउटा राडी वा बख्खु बनाउन उनलाई लगातार काम गर्दा १५ देखि २० दिन लाग्ने उनी बताउँछिन्।

हरेक दिन एउटै काम मात्र नगर्ने भएकाले गुरुङले राडी–बख्खु बनाउने काममा मात्र समय दिन सक्दिनन्। उनले वार्षिक कम्तीमा पनि ६–७ वटा राडी–बख्खु बनाएर बेच्ने गरेको बताउँछिन्। बनाएर तयार पारेको सामग्रीलाई बेच्न उनी बजारसम्म पुग्नै पर्दैन। नयाँ वर्षको समयमा व्यापारीहरू वा पर्यटकहरू घरमै आएर किन्ने गर्छन्। एउटा राडी वा बख्खु उनले ५ देखि २० हजारसम्ममा बेच्छिन्।

तर, बनाइसकेको राडी लामो समय राख्न नमिल्ने र बिग्रिने भएकाले धेरैजसो अर्डर लिएर सो अनुसार नै उनी बनाउने गर्छिन्। 

‘हामी दुई जनालाई घर चलाउन छोरा–छोरीसँग पैसा माग्नु पर्दैन,’ च्योनाले नेपालखबरसँग भनिन्।

रोधीबाट आफूले सिकेको सीप र त्यही भेटिएका जीवनसाथीसँग उनी निकै खुसी छिन्। सुन्दर रोधीघरमा गाएको ती रमाइला रोधीका ठाडो भाका र थेत्तरको आवाज च्योनाको कानमा अझै पनि गुञ्जन्छ। 

त्यो सम्झँदा मात्र पनि चाउरी परेका उनको गालामा मुस्कान फुल्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad