हिउँद याम (विन्टर सिजन) सकिनै लाग्दा देशभर चिसो घट्न र तापक्रम बढ्न थालेको छ।
यसै क्रममा चार दिनदेखि काठमाडौँ उपत्यकाको तापक्रम लगातार वृद्धि भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) काठमाडौँको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियसमा उक्लिएको छ।
गत सोमबार ७.९ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम लगातार बढेर बिहीबार १० डिग्री सेल्सियसमा उक्लिएको थियो भने आज त्यसभन्दा २ डिग्री सेल्सियस माथि पुगेको हो।
यस्तै आज काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम झन्डै २४ डिग्री सेल्सियसमा चढेको छ।
मौसम महाशाखाको विवरणअनुसार आज उपत्यकाको अधिकतम तापक्रम २३.८ डिग्री सेल्सियस छ। बिहीबार २२.३ डिग्री सेल्सियस थियो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको अवस्था बताउँछ।
हेर्नुहोस् आजको तापक्रम सूची

हिउँद यही फेब्रुअरीसम्म, त्यसपछि?
मौसमविद्का अनुसार नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ: प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर।
अहिले देशमा विन्टर अर्थात् हिउँद याम छ। डिसेम्बरदेखि जारी विन्टरको अवधि यही फेब्रुअरी महिनासम्म हो।
यसपछि मार्चदेखि प्रि-मनसुन लाग्छ। यो पनि ३ महिना- मार्च, अप्रिल र मेसम्म रहन्छ।
यसपछि जुन महिनादेखि मनसुन लाग्छ। यो सिजन ४ महिना- जुन, जुलाई, अगस्ट र सेप्टेम्बरसम्म रहन्छ।
मनसुन सकिएपछि पोस्ट-मनसुन सुरु हुन्छ। यो सिजन २ महिना- अक्टोबर र नोभेम्बरसम्म रहन्छ।
अनि डिसेम्बरदेखि फेरि विन्टर अर्थात् जाडो याम लाग्छ।
Shares

प्रतिक्रिया