सिमानाकामा रोकिएका ५ सय १० जना नेपालीलाई रुपन्देहीको बेलही नाकाबाट नेपाल प्रवेश गराइएको छ। उनीहरुलाई रुपन्देही प्रवेश गराएर क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको छ।
भारतमा २१ दिन क्वारेन्टिनमा बसेका उनीहरुलाई अब पनि क्वारेन्टिनमा राखिने र स्वास्थ्य परीक्षण पछि मात्रै घर फर्काइने रुपन्देहीका प्रहरी प्रमुख एसपी हेम थापाले बताए।
उनीहरुलाई राख्नका लागि तिलोत्तमा नगरपालिकाको मधवलिया मावि, सिद्धार्थनगर नगरपालिकाको लिलाराम न्यौपाने मावि र भैरहवा माविमा क्वारेन्टिन बनाइएको एसपी थापाले बताए। उनका अनुसार रुपन्देही प्रशासनले झण्डै एक हजार जनालाई बिहीबार नेपाल ल्याउने तयारी गरेको छ।
२१ दिन क्वारेन्टिनमा बसिसकेकालाई मात्रै नेपाल प्रवेश गराउन लागिएको हो। नेपाल प्रवेश गर्न रोक्दा रातको समयमा लुकिछिपी आउन थालेपछि उनीहरुलाई सरकारले नै ल्याउने तयारी गरेको हो।
नेपाल भारत सीमामा सयौं नेपाली रोकिएका छन्। मंगलबारबाट रेल सेवा सुरु भएसँगै भारतबाट थप नेपाली आउने अनुमान गरिएको छ।
प्रतिक्रिया