काठमाडौँको प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन हरेक शनिबार विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ।
काठमाडौँ–२७ को वडा कार्यालयको नेतृत्व, अन्नपूर्ण आरसीटी क्लबसहित स्थानीय क्लब, टोल सुधार समिति, गुठियार, सरोकारवाला र साझेदारहरूको सहभागिता तथा स्थानीय अपनत्वमा कार्यक्रम सुरु हुने भएको हो। शुक्रबार कार्यवाहक प्रमुख सुनिता डंगोलसहितको भेटघाट कार्यक्रममा प्रवक्ता नविन मानन्धरले यससम्बन्धी जानकारी दिएका हुन्।
भेटघाट कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. २७ का वडाध्यक्ष योगेशकुमार खड्गी, वडा नं. २५ का वडाध्यक्ष राजेश डंगोलसहित पदाधिकारी सहभागी रहेका थिए।
कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुनेछ। हरेक शनिबार सञ्चालन हुने कार्यक्रम अवधिमा त्यस क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिने भएको छ।
मानवीय तथा सवारी आवागमन चापका कारण पछिल्लो समय काठमाडौँका भित्री सहरी क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएको महानगरका प्रवक्ता मानन्धरले बताए।
सांस्कृतिक तथा सामाजिक चलनलाई मौलिक स्वरुपमा निरन्तरता दिन कठिन भएको बताउँदै उनले भने, ‘नुनदेखि सुनसम्म अर्थात् जन्मदेखि मृत्यु पर्यन्तका संस्कार र संस्कृतिमा चाहिने सामान पाइने ठाउँ, वीउ विजन र विरुवा पाइने ठाउँ, परम्परागत उपचार पद्धति भएको र आयुर्वेदिक औषधि पाइने ठाउँ नासिँदै गएको छ। यसले वस्तु तथा सामान मात्र नासेको छैन । काठमाडौँको पहिचानमा समेत नकारात्मक प्रभाव पारेको छ।’
यो असर र नकारात्मक प्रभाव रोक्न तथा पूर्खाको ज्ञान, सिपमा आधारित धार्मिक, सांस्कृतिक र सामाजिक जीवनशैलीको पुनरुत्थान गर्ने प्रयासका रुपमा असन कार्यक्रम गर्न लागेको उनले बताए।
Shares

प्रतिक्रिया