समाज


विनाशकारी भूकम्प गएको १० वर्ष पूरा

विनाशकारी भूकम्प गएको १० वर्ष पूरा

गोरखाको बारपाक: फाइल तस्बिर


नेपालखबर
बैशाख १२, २०८३ शनिबार ७:३२, काठमाडौँ

नेपालमा विनाशकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ। 

१२ वैशाख २०७२ (२५ अप्रिल २०१५) का दिन गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो। 

बिहान ११ बजेर ५६ मिनेटमा बिनासकारी भूकम्प गएपछि त्यसको भोलिपल्ट वैशाख १३ गते र वैशाख २९ गते पनि शक्तिशाली परकम्पहरु गएका थिए। 

यो भूकम्पको कारण काठमाडौँ उपत्यकासहित देशका १४ जिल्ला अति प्रभावित बनेका थिए। 

यो भूकम्पको कारण भत्किएकार भौतिक संरचनामा परेर कबिर नौ हजार मानिसको मृत्यु भएको थियो भने २२ हजार भन्दा धेरै मानिस घाइते भएका थिए। 

त्यो भूकम्पले लाखौँ मानिस घरबारविहीन भई विस्थापित हुन पुगेका थिए।

भूकम्पले काठमाडौँका धरहरा, दरबार स्क्वायर लगायतका सयौँ ऐतिहासिक धरोहर र लाखौँ घरहरू ध्वस्त  भएका थिए। 

भूकम्पको कारण ६ लाख भन्दा बढी घरहरू पूर्ण रूपमा भत्किएका थिए। नेपालको इतिहासमा वि.सं. १९९० सालपछि यो नै सबैभन्दा ठुलो भूकम्प थियो, जसले काठमाडौँ उपत्यकाका धेरै विश्व सम्पदा पनि क्षेत्रमा क्षति पुर्‍याएको थियो।  

यो भूकम्पबाट सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, रामेछाप, ओखलढुङ्गा, गोरखा, धादिङ, मकवानपुर, सिन्धुली, रसुवा, सोलुखुम्बू लागयतका जिल्लामा बढी क्षति गरेको थियो।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी रहेको बताएका छन्। 

दसौँ भूकम्प स्मृति दिवसमा शनिबार बिहान सन्देश जारी गर्दै उनले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्वतयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याएका हुन्। 

‘हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका हुँदा आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्व तयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरूरी रहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरूरी छ, ’ सन्देशमा भनिएको छ। 

राष्ट्रपति पौडेलले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई विसं २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी ज्यान गुमाउनु हुने सबै दिदीबहिनी तथा दाजुभाइको स्मरण गर्दै श्रद्धासुमन पनि अर्पण गरेका छन्।

‘भूकम्प एक प्राकृतिक विपत् हो। प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ,’ उनको सन्देशमा भनिएको छ,  ‘भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने आफूलाई जोगाउन सकिन्छ।’ 

नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मित भौतिक संरचना भूकम्पीय जोखिमका प्रमुख कारण रहेकाले सुरक्षित निर्माण र सतर्कताका अभियानमा निरन्तर लागि रहनुपर्नेमा पनि उनले जोड दिएका छन्। 

नवनिर्मित एवम् पुननिर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोग हुनु पर्ने उल्लेख गर्दै उनले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यमा प्रत्यक्ष तथा परोक्षरूपमा सहयोग पुर्याउने सबैलाई धन्यवादसमेत दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad