हाल (शनिबार बिहान) कोसी प्रदेशमा पूर्णतया बादल तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको छ। अनि कोसी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार नेपालमा अहिले पश्चिमी र स्थानीय वायुका साथै देशको पूर्वी क्षेत्रनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि छ।
मौसम महाशाखाले आज दिउँसो र राति मौसम अर्थात् वर्षा-हिमपातको सम्भावना कस्तो छ भन्ने विषयमा बिहान ८ बजे जारी गरेको प्रक्षेपण यस्तो छ:
दिउँसो : कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भेगमा साधारणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागका केही स्थान तथा मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ हावाहुरी, असिनासहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ।
राति :कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्ने र तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ हावाहुरी, असिनासहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ।
काठमाडौँ उपत्यकामा हल्का वर्षाको सम्भावना
आज काठमाडौँ उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज अपराह्न वा साँझपख काठमाडौँ उपत्यकामा हल्का खालको वर्षा हुने सम्भावना देखिएको हो।
‘हिजो-अस्ति जत्तिको वर्षा आज हुने देखिँदैन’, उनले शनिबार बिहान नेपालखबरसँग भने, ‘हल्का किसिमको वर्षा मात्र हुने सम्भावना छ।’
अहिले भने काठमाडौँ उपत्यकाको आकाशमा आंशिक बादल लागेको उनले बताए। आंशिक बादल लाग्दा घाम पनि देखिन्छ।
काठमाडौँ उपत्यकाको मौसम आज दिनभर नै करिब यस्तै रहने अनुमान मौसमविद् दाहालले गरेका छन्।
Shares

प्रतिक्रिया