समाज


स्वास्थ्यकर्मीले दिए मन्त्रीलाई ज्ञापनपत्र, आन्दोलनमा उत्रिने चेतावनी

स्वास्थ्यकर्मीले दिए मन्त्रीलाई ज्ञापनपत्र, आन्दोलनमा उत्रिने चेतावनी

नेपालखबर
बैशाख २३, २०८३ बुधबार १३:५६, काठमाडौँ

स्वास्थ्यकर्मीले यसअघि भएका सहमति कार्यान्वयन गर्न माग गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई ज्ञापनपत्र बुझाएका छन्। माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। 

बुधबार डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालका अध्यक्ष माइकल देवकोटा, नेपाल जनस्वास्थ्य संघका कार्यवाहक अध्यक्ष तेजप्रसाद दुलाल, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपालका रेशम अधिकारी, हेल्थ असिस्टेन्ट संघ नेपालका दाताराम अधिकारी र नेपाल सिएमए संघका उपाध्यक्ष गोपाल उपाध्यायले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन्। उनीहरूले नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले काम गर्न नसकेको जनाएका छन्। 

परिषद्‌मा आवश्यक सदस्य संख्या नपुगेका कारण दर्ता, नवीकरण, अनुशासनात्मक कारबाही तथा नियमनका कार्यहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उल्लेख गरेका छन्। यसले सम्पूर्ण स्वास्थ्य व्यवसायीको पेशागत भविष्य, सेवाको गुणस्तर र आम नागरिकको स्वास्थ्य अधिकारमाथि प्रत्यक्ष असर परेको जनाएका छन्। 

परिषद् काउन्सिलमा आफ्नो संस्थाको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन्। यसअघि बारम्बार माग गर्दा पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ। 

त्यस्तै, नर्स तथा स्वास्थ्यकर्मीको तलब भत्ता लगायत विषयमा स्वास्थ्य मन्त्रालयसँग भएको सम्झौता अझैसम्म पूर्ण रूपमा कार्यान्वयन नभएको स्मरण गराएका छन्। ‘मन्त्रालयले सर्वपक्षीय सहमति गरी भएको सम्झौताको कुनै पनि बुँदा कार्यान्वयन नगर्नुले आम चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्स लगायतको आत्मबल कमजोर बनाएको छ,’ ज्ञापनपत्रमा भनिएको छ।

जसका कारण देशभरिका स्वास्थ्यकर्मी सहमति कार्यान्वयनको आन्दोलनका लागि तयार भएको र आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गर्न बाध्य भएको जनाएका छन्। उनीहरूले वैशाख २५ गते पत्रकार सम्मेलन गरेर आन्दोलनमा कार्यक्रम घोषणा गर्ने जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad