सुर्खेत उपत्यका नगर विकास समितिमा सटर कवल तथा जग्गा भाडा वापत उठेको राजस्व रकम हिनामिना गरेको आरोपमा पाँच जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समितिका तत्कालीन सदस्य सचिवहरू टीकाराम ढकाल, नरहरि तिवारी, गेहेन्द्रबहादुर डाँगी, लेखा अधिकृत हरिबहादुर क्षेत्री र सह-लेखापाल खड्कबहादुर रानाविरुद्ध मुद्दा दायर गरेको हो। क्षेत्रीको भने मृत्यु भइसकेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (ग) बमोजिम कसुर अभियोग लगाउँदै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।
आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म सटर तथा जग्गा भाडाबाट जम्मा चार करोड १८ लाख चार हजार ३०३ रुपैयाँ राजस्व आम्दानी भएको थियो। उनीहरूले कानुनअनुसार, सम्पूर्ण रकम समितिको खातामा दाखिला गर्नुपर्ने दायित्व पूरा नगरी एक करोड २३ लाख २५ हजार ६२२ रुपैयाँ मात्रै बैंक दाखिला गरेको अख्तियारको दाबी छ।
बाँकी दुई करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ बैंक दाखिला नगरी हिनामिना गरिएको तथा त्यसलाई लुकाउन गलत आय-व्यय विवरण तयार गरी समितिको बैठकबाट अनुमोदनसमेत गराइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
यस्तै, समितिको कार्यालयमा सह-लेखापाल पदमा कार्यरत खड्कबहादुर रानाले भाडा वापत उठेको रकम बैंकमा दाखिला नगरी भन्दै उजुरी दिएका थिए। उजुरीका आधारमा गरिएको अनुसन्धानमा समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीको मिलेमतोमा ठूलो रकम हिनामिना भएको पुष्टि भएको अख्तियारको दाबी छ।
Shares

प्रतिक्रिया