समाज


कीर्तिपुर होल्डिङ सेन्टरमा सुत्केरीको बिचल्ली : न पौष्टिक खाना न गतिलो खाट (भिडिओ)

कीर्तिपुर होल्डिङ सेन्टरमा सुत्केरीको बिचल्ली : न पौष्टिक खाना न गतिलो खाट (भिडिओ)

आयुषा ढकाल
जेठ ३, २०८३ आइतबार २१:४९, काठमाडौँ

अँध्यारो कोठा। त्यही कोठा पनि बाफिएको छ, गर्मीले। बिस्तारामा पल्टिरहेकी छन्, १० दिने सुत्केरी। उनी सुत्केरी भएर पनि सुत्केरीजस्ती छैनन्। पोषिलो खाना चाहिएजति खान नपाएर होला खिङ्ग्रिङ्ग परेकी छन्। नजिकै उनकी सासु उनलाई हेरेर टोलाइरहेकी छन्।

यो दृश्य हो, कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यासको छानोमुनि बनाइएका टेन्टहरूमध्येकै एक टेन्टको। बाहिरबाट हेर्दा होल्डिङ सेन्टर जति हरियाली र सुन्दर देखिन्छ, भित्रको माहोल त्यस्तो छैन। एउटै टेन्टभित्र सात जनासम्मको बसाइँले उकुसमुकुस छ।

रिपोर्टिङका लागि हामी सुत्केरी सुस्मिता राईगाईको टेन्टमा पुग्दा उनकी सासुको आँखामा कौतूहलता देखिन्थ्यो। उनी केही भन्न खोजिरहेकी थिइन्।

‘कोठालाई खुल्ला र सफा राख्नु भन्नुभएको छ, यत्तिका परिवार छौँ, कसरी खुल्ला राख्नू?’, सुस्मिताकी सासु कृष्णमाया परियारले भनिन्।

उनले आफूहरूलाई कैदीजस्तो व्यवहार गर्ने गरेको बताइन्। ‘बाहिर निस्कन पर्‍यो भने कहाँ हिँडेको? के कसो सबै विवरणहरू लेखेर हिँड्नुपर्छ,’ उनले भनिन्, ‘हिजो नानीको नाभिबाट रगत आयो, राति ९ बजेतिर अस्पताल लिएर गयौँ। त्यस्तो हतारको बेला र बच्चाको अवस्था देख्दासमेत हामीलाई कहाँ हिँडेको, किन लगायतका सबै प्रश्न सोध्नुभयो।’ उनले आफूहरूको समस्यालाई सामान्य ठान्ने गरेको उनको गुनासो छ।

होल्डिङ सेन्टरमा सुत्केरीका लागि छुट्टै किसिमको खाना पाक्दैन, यसले कृष्णमायालाई पिरोलेको छ। सबैका लागि पाक्ने खाना न सुस्मिता निल्न सक्छिन्, न त अमिलोपिरो खाननै।

कृष्णमायाले सुत्केरी बुहारीलाई ज्वानोको झोल र जाउलो बनाउन टेन्टबाहिर ग्यास चुल्हो जोडेकी छन्। वस्ती उठाउँदा बाँकी रहेको चामल पिसेर बुहारीका लागि जाउलो बनाउने गरेकी छन्।

‘सुत्केरीलाई पौष्टिक खाना नपुगेर बच्चालाई खुवाउन दूध आएकै छैन,’ कृष्णमाया पिरोलिन्छिन्, ‘सुत्केरीलाई त माछामासु खुवाउनु पर्थ्यो, त्यो पनि खान मिल्दैन यहाँ।’

होल्डिङ सेन्टरले सुस्मिताका लागि रातिको समयमा एक गिलास दूध भने दिने गरेको छ। बिहान नास्ताको रूपमा चिया बाँड्ने गरिन्छ।

गुलियो धेरै भएको चियाले सुस्मिताको अप्रेसनको घाउ पाक्ने डर भएकाले बिहानको नास्ता पनि उनका लागि उपयुक्त नहुने कृष्णमाया बताउँछिन्।

अप्रेसन गरेकाले सुस्मिता खासै हिँड्न सक्दिनन्। यता बिस्तारा पनि उनका लागि खासै सहज र राम्रो छैन। घरको खाट वस्ती उठाउन आउँदा डोजरले पुर्‍यो। सुस्मितालाई चिसो भुइँमा सुताउन नमिल्ने भएकाले प्रवेश (सुस्मिताका श्रीमान्) र कृष्णमायाले अन्य टेन्टका मानिसहरूसँग प्लाइलगायतका सामान मागेर सुस्मिताका लागि एउटा बिस्तारा तयार पारेका हुन्। कृष्णमाया भन्छिन्, ‘सुत्केरीलाई अस्पतालको जस्तो बेड ल्याइदिन्छौँ भनेका थिए, त्यो पनि ल्याइदिएनन्।’

अप्रेसन गरेको घाउ पोल्ने र टेन्टभित्र बस्न गर्मी हुने सुस्मिता बताउँछिन्। ‘घाउ दुख्छ बाहिर बस्न हिँड्न पनि सक्दिनँ,’ सुस्मिताले निराश अनुहार लिएर नेपालखबरसँग भनिन्।

सरकार पक्षले राम्रो देखिने गरेर मात्र फोटो खिचेको तर मिडियालाई सत्य कुरा देखाउन भने नदिएको उनको गुनासो छ।

‘मिडियालाई त यहाँ पस्नै दिँदैनन्, हाम्रो समस्या सबैले देख्लान् भनेर पो हो कि?,’ कृष्णमाया भन्छिन्।  धेरै समस्या भएपछि आफूहरूले नै मिडिया बोलाएर आफ्नो कुरा राखेको उनको भनाइ छ। 

सुस्मिताका श्रीमान् प्रवेश ज्यामीको काम गर्छन्। प्रवेशले धेरै पछि बबरमहलमा एउटा काम भेट्टाएका छन्। त्यसैले आजबाट उनी श्रीमती र १० दिने शिशु आफ्नी आमालाई जिम्मा लगाएर काममा गएका छन्। ‘काम गरेर पैसा आएपछि नातिनीलाई ल्याक्टोजिन ल्याउनु छ,’ कृष्णमायाले भनिन्, ‘आमाको दूधले पुग्दैन।’

अलिक ठूला बच्चाको लागि होल्डिङ सेन्टरमा ‘स्यार्लेक’ छ। तर साना शिशुलाई खुवाउन ‘ल्याक्टोजिन’को व्यवस्था आफैँले गर्नुपर्ने कृष्णमायाले बताइन्।

सुस्मिताले थापाथलीमा रहेको परोपकार प्रसूति गृहमा वैशाख २५ गते छोरीलाई जन्म दिएकी हुन्। उनको डेलिभरी सामान्य थिएन। चिकित्सकले जेठ ८ गतेलाई ‘डेट’ (सुत्केरी हुने मिति) दिएका थिए। तर, वस्ती उठाउनुभन्दा अघिल्लो दिन वैशाख ११ गते देखि नै चिन्ता र दौडधूपले सुस्मितालाई थकित बनाएको थियो।

यसै पनि कम बोल्ने सुस्मिताले हत्तपत्त आफूलाई गाह्रो भएको कुरा कसैलाई भनिनन्। तर होल्डिङ सेन्टरको बसाइँ, लामखुट्टेको टोकाइ, हल्लाखल्लाले उनलाई शारीरिकरूपमा कमजोर र मानसिकरूपमा विक्षिप्त बनाएको थियो। उनी हाल २० वर्षकी मात्र भइन्।

डेलिभरी सामान्य नभएकाले सुस्मिताले अप्ठ्यारो मानिरहेकी थिइन्। तर बच्चा जन्मिएको चार दिनमै उनलाई अस्पतालबाट डिस्चार्ज गरियो। सुत्केरीको लागि अव्यवस्थित ठाउँमा ल्याइयो। धेरै स्याहार पाउनुपर्ने समयमा उनी आधा पेट खाएर ओछ्यानमा पल्टिनु परेको छ।

उनको स्वास्थ्यमा समस्या देखिइरहेकाले वैशाख २० गते सुस्मितालाई सासु र श्रीमान‍्को साथमा परोपकार प्रसूति गृह लगेर राखियो, जहाँ उनलाई दिनको दुईपटक मात्र खाना दिइन्थ्यो। ‘काचाककुचुक भएको घरको जस्ता बेचेर बुहारीलाई थप खाना खुवायौँ,’ कृष्णमायाले बताइन्। अस्पतालमा सबै कुरा नि:शुल्क भनिए पनि भनेजस्तो केही नभएको दु:खेसो उनले पोखिन्।

‘खानपिन केही छैन यस्तो गर्मीमा टेन्ट भित्र सुत्नु परेको छ,’ कृष्णमाया भन्छिन्, ‘अप्रेसनको घाउ पाक्यो भने के गर्नू!’

कृष्णमायाले नेपालखबरसँग भनिन्, ‘हामी दु:खसुख गरेर भए पनि आफ्नो ठाउँमा बसेका थियौँ। अहिले न यहाँ काम छ न त भनेजस्तो व्यवस्थानै। हामीलाई छिटोभन्दा छिटो छानबिन गर्नू भनेर भनेका हौँ तर कसैलाई हाम्रो वास्तै छैन।’

सुत्केरीलाई होल्डिङ सेन्टरमा राख्न असहज भए बाहिरै कोठा खोजेर राख्नू भन्ने कुरा पनि सरकार पक्षबाट कृष्णमायाको परिवारलाई आएको थियो। ‘सरकार भन्छ कोठा खोजेर भाडा तिर्ने ठाउँमा बस्नुहोस्। भाडा तिर्न सक्ने भएको भए किन यहाँ आएर बस्थ्यौँ हामी?,’ कृष्णमाया भन्छिन्, ‘हामीलाई कोठा कतिञ्जेलका लागि खोज्दिन्छन् तिनीहरूले? दुई-तीन महिनाको मात्र भाडा तिरेर त हुँदैन, त्यत्तिकै लखेट्न खोजेको हो हामीलाई। त्यसैले हामी आफैँले नजाने भनेका हौँ।’

कीर्तिपुरको राधास्वामी सत्संग व्यासमा सुकुम्वासीहरू विगत २२ दिनदेखि बस्दै आइरहेका छन्। आफूहरूलाई त्यहाँबाट व्यवस्थित ठाउँमा कहिले लैजाने हो भन्ने उनीहरू अन्योलमा देखिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad