मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (सोमबार बिहान) कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया र कोसी, बागमती र गण्डकी प्रदेशका तराई तथा बाँकी हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लागेको छ। बाँकी तराईमा भने मौसम मुख्यतया सफा छ। अनि गण्डकी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रको आकाशमा साधारणतया र मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी तराईमा मौसम मुख्यतया सफा रहनेछ।
यस क्रममा कोसी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। हिमाली भेगमा हिमपातको पनि सम्भावना छ।
साथै दिउँसो मधेस प्रदेशसहित कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा बाँकी पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। अनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा तापक्रम बढ्ने सम्भावना छ।
यस्तै राति कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भुभागमा मौसम मुख्यतया सफा रहनेछ।
अनि कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। हिमाली भेगमा हिमपातको सम्भावना छ।
‘काठमाडौँमा पनि वर्षाको सम्भावना त छ तर कम छ’
आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना त रहेको तर सम्भावना कम देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
मौसम महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार अपराह्न वा साँझपख काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना देखिएको हो।
‘अहिले बिहान काठमाडौँ उपत्यकाको आकाशमा थोरै मात्र बादल लागेको छ, दिउँसो अलि बढ्ने र अपराह्न वा साँझपख हल्का वर्षा हुने सम्भावना देखिएको छ’, उनले नेपालखबरसँग भने, ‘तर पानी पर्ने सम्भावना अलि कम नै देखिएको छ।’
मौसमविद् ढकालका अनुसार आज दिनभर काठमाडौँ उपत्यकाको मौसम घाम-बादल, घाम-बादल हुने सम्भावना छ।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया