समाज


गाभीको उच्चस्तरीय टोलीसँग स्वाथ्यमन्त्री मेहताको छलफल

गाभीको उच्चस्तरीय टोलीसँग स्वाथ्यमन्त्री मेहताको छलफल

नेपालखबर
जेठ ९, २०८३ शनिबार १६:५६, काठमाडौँ

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी उपलब्धताबारे खोपका लागि ग्लोबल एलायन्स (गाभी) को उच्चस्तरीय टोलीसँग छलफल गरेकी छन्। 

स्विट्जरल्यान्डको जेनेभामा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को ७९औँ विश्व स्वास्थ्य सभामा भाग लिनेक्रममा गाभीको उच्चस्तरीय टोलीसँग भएको छलफलमा स्वास्थ्यमन्त्री मेहताले सङ्क्रमणकालमा खोप कार्यक्रमलाई प्रभावित हुन नदिन गाभीसँगको निरन्तर सहयोग अपरिहार्य रहेको बताइन्। नेपालको सार्वजनिक स्वास्थ्य खर्च अझै पनि कुल गार्हस्थ्य उत्पादनको करिब ५ प्रतिशतको हाराहारीमा मात्र सीमित रहेको अवस्थामा गाभीसँगको निरन्तर सहयोग र घनिष्ठ समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो। 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार, छलफलमा पारस्परिक सहकार्यलाई निरन्तरता दिने र सङ्क्रमणकालीन वित्तीय व्यवस्थापनलाई अवरोध नहुने विषयमा सहमति भएको छ। बैठकले नेपालको राष्ट्रिय स्वास्थ्य प्रणालीलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको उनको भनाइ छ। 

गाभी सन् २००० यता नेपालको राष्ट्रिय खोप कार्यक्रमको एक प्रमुख साझेदार रहँदै आएको छ। सन् २०२५ मा नेपालले हासिल गरेको ‘रुबेला निवारण’ लगायत एचपीभी र अन्य जीवनरक्षक खोपको सफल विस्तारमा गाभीको महत्त्वपूर्ण प्राविधिक तथा वित्तीय भूमिका रहेको मन्त्री मेहताले उल्लेख गरिन्। 

जेठ ३ गते जेनेभा गएकी मन्त्री मेहताले विभिन्न देशबाट आएका आफ्ना समकक्षी, दातृ निकायका प्रमुखसँग ‘साइडलाइन’ वार्ता गरिरहेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad