समाज


थाइल्यान्डमा गिरफ्तार टिकटकर तुलसालाई मध्यराति ल्याइयो काठमाडौँ, अदालतमा पेस गर्ने तयारी

थाइल्यान्डमा गिरफ्तार टिकटकर तुलसालाई मध्यराति ल्याइयो काठमाडौँ, अदालतमा पेस गर्ने तयारी

तुलसी उर्फ तुलास अधिकारी। (फाइल फोटो)


नेपालखबर
जेठ १७, २०८३ आइतबार ११:१५, काठमाडौँ

सम्पत्ति शुद्धीकरण, ठगी तथा आपराधिक विश्वासघात कसुरमा प्रहरीले खोजी गरिरहेकी तुलसी अधिकारी थाइल्यान्डबाट पक्राउ परेकी छन्। सामाजिक सञ्जालमा भने उनले ‘तुलसा’ नामबाट कारोबार गरिरहेकी थिइन्।

प्रहरीको इन्टरपोल शाखाको सहयोगमा थाइल्यान्डमा गिरफ्तार अधिकारीलाई गएराति काठमाडौँस्थित त्रिभुवन विमानस्थल ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए।

‘राति १ बजेतिर अधिकारीलाई त्रिभुवन विमास्थलबाट जिम्मा लियौँ र अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखेका छौँ’, एसपी मिश्रले आइतबार बिहान नेपालखबरसँग भने, ‘अब उनलाई अदालतमा पेस गर्ने तयारीमा छौँ।’

तर आज सार्वजनिक बिदा परेकाले उनलाई सोमबार जिल्ला अदालत ललितपुरमा पेस गरिने उनले बताए।

सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी कसुरमा उनीविरुद्ध अदालतमा मुद्दा दर्ता भइसकेको छ।

उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ। 'हनी ट्र्याप'  र ठगी कसुरमा एक जना पीडितले जाहेरी दिएपछि उनीविरुद्ध अनुसन्धान थालिएको थियो। 

तुलसाविरुद्ध आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पठाएको थियो।

अनुसन्धान क्रममा उनको बैंक अकाउन्ट जाँच गर्दा ठूलो रकमको कारोबारको विवरण प्रहरीले पाएको थियो। त्यसपछि ललितपुर प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको क्षेत्रमा पनि अनुसन्धान अघि बढाएको थियो।

सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका थिए।

तुलसी त्यतिबेला चीनमा भएको निष्कर्ष प्रहरीले निकालेको थियो। चीनमा बसेर उनले त्यहीँबाट पनि टिकटकमार्फत ब्ल्याकमेलिङ गरेको देखिएपछि प्रहरीले इन्टरपोलमार्फत उनलाइ पक्राउ गर्ने प्रक्रिया अघि बढाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad