खेल


एसियाली खेलकुद छनोट: पहिलो खेलमा चीनविरुद्ध नेपालको सानदार जित

एसियाली खेलकुद छनोट: पहिलो खेलमा चीनविरुद्ध नेपालको सानदार जित

नेपालखबर
जेठ १७, २०८३ आइतबार १०:३२, काठमाडौँ

एसियाली खेलकुद छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले चीनविरुद्ध सानदार जित हासिल गरेको छ।

आज (आइतबार) बिहान सिंगापुरको सिंगापुर नेसनल क्रिकेट स्टेडियममा  भएको खेलमा नेपालले चीनविरुद्ध २ सय २१ रनको फराकिलो जित दर्ता गरेको हो। 

नेपालले दिएको ३ सय १४ रनको विशाल लक्ष्य पछ्याएको चीन ४ बलअगावै ९२ रनमा समेटियो। 

चीनलाई सस्तैमा रोक्न नेपालका लागि कुशल मल्लले ३ विकेट लिए। उनले १.२ ओभरमा १ मेडन राख्दै ३ विकेट लिएका हुन्।

सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए। नन्दन यादवको नाममा १ विकेट रह्यो। 

सेनजियान झेङले बनाएको ३१ रन नै चीनका लागि सर्वाधिक रह्यो। डु जिनहाओले १७ र कप्तान टियान सेनक्वुनले १२ रन बनाए। 

त्यसअघि चीनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ३ सय १३ रनको योगफल तयार पारेको हो। 

टी-२० आई इतिहासमा नेपालले दिएको यो दोस्रो ठुलो विशाल लक्ष्य हो। नेपालले यसअघि २०२३ मा हाङझाओमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्ध निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो। 

दोस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले १ सय ७५ रनको साझेदारी गरे। योसँगै भुर्तेल र मल्लले सन् २०१९ मा सिंगापुर टी-२० त्रिकोणात्मक सिरिजमा पारस खड्का र आरिफ शेखले दोस्रो विकेटका लागि गरेको साझेदारीको कीर्तिमान तोडेका छन्।

सिंगापुरमै पारस र आरिफले सिंगापुरविरुद्ध दोस्रो विकेटका लागि १ सय ४५ रनको अविजित साझेदारी गरेका थिए। 

समग्रमा यो नेपालका लागि कुनै पनि विकेटका लागि भएको दोस्रो ठुलो साझेदारी हो। यसअघि २०२३ को हाङझाउमा भएको एसियाली खेलकुदमा रोहित पौडेल र कुशल मल्लले मंगोलियाविरुद्ध तेस्रो विकेटका लागि १ सय ९३ रनको साझेदारी गरेका थिए। 

विस्फोटक ब्याटिङ गरेका ओपनर कुशल भुर्तेल १ सय २९ रन बनाउँदै पेभेलियन फर्के। ४३ बलमा ५ चौका र १६ छक्का सहयोगमा १ सय २९ रन बनाएका कुशल डेङ जिंकीको बलमा क्याच आउट हुन पुगे। कुशलले ३५ बलमा ४ चौका र १२ छक्का सहयोगमा शतक पूरा गरेका थिए। 

नेपालका लागि टी-२० आईमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको शीर्ष स्थानमा भुर्तेल उक्लेका छन्। भुर्तेलले ७७ खेलमा २ शतक सहयोगमा ९९ छक्का प्रहार गरेका छन्। यसअघि दीपेन्द्रसिंह ऐरीले टी-२० आईमा ८९ छक्का प्रहार गरेका थिए। 

रोहित पौडेल १९ बलमा ५ चौका र ६ छक्का सहयोगमा ६९ रनमा अविजित रहे। कुशल मल्लले ४७ बलमा ८ चौका र ५ छक्का प्रहार सहयोगमा ९५ रनमा अविजित रहे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad