स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलन उपचार सेवालाई प्रभावकारी बनाउने विषयमा विज्ञहरूसँग छलफल गरेकी छन्।
मन्त्री मेहताले नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर कीर्तिपुरका डा. किरण नकर्मी, डा. शंकरमान राई तथा जलन अभियन्ता उज्जल थापासँग छलफल गरेकी हुन्। नेपालमा जलन उपचारको वर्तमान अवस्था, चुनौती र सुधारका प्राथमिकताबारे विस्तृत छलफल भएको जनाइएको छ।
जलनका बिरामीले दुर्घटना भएको पहिलो क्षणदेखि नै सही उपचार पाउनुपर्ने आवश्यकता औंल्याइएको छ। यससँगै प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीप स्वास्थ्यकर्मीमा विस्तार गर्नुपर्नेमा जोड दिइएको छ।
स्थानीय स्वास्थ्य संस्था, एम्बुलेन्स सेवा, जिल्ला अस्पतालदेखि प्रदेश र संघीय अस्पतालसम्म कार्यरत स्वास्थ्यकर्मीलाई जलन व्यवस्थापनसम्बन्धी विशेष तालिम सञ्चालन गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ। जलन उपचारलाई स्थानीय, प्रदेश र संघीय तीनै तहमा चरणबद्ध रूपमा व्यवस्थित गर्ने, जटिल बिरामीको समयमै रेफरल सुनिश्चित गर्ने, उपचारमा पहुँच विस्तार गर्ने तथा गुणस्तरीय सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिएको मन्त्री मेहताले बताइन्।
जलन उपचार प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधार, विभिन्न तहका स्वास्थ्य संस्थाबीच समन्वय सुदृढ गर्ने तथा आगामी दिनमा सहकार्यका सम्भावित क्षेत्रबारे समेत विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।
Shares

प्रतिक्रिया