समाज


चुनावी एजेण्डामै सिमित महेन्द्रनगर विमानस्थल र महाकाली अञ्चल अस्पताल

चुनावी एजेण्डामै सिमित महेन्द्रनगर विमानस्थल र महाकाली अञ्चल अस्पताल

शेरबहादुर सिंह
साउन १, २०७६ बुधबार ९:८,

दुई दशकअघि असुरक्षाको कारण देखाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ स्थित मझँगाँउ विमानस्थल बन्द गरियो। २०५६ सालमा बन्द भएको विमानस्थलको भौतिक संरचना जीर्ण भइसकेका छन् भने धावनमार्ग गौचरण बनेको छ।

०५६ यताका सबैखाले निर्वाचनमा विमानस्थल सञ्चालन गर्ने विषय प्राथमिकताका साथ उठ्यो तर निर्वाचन सकिएलगत्तै उक्त विषय ओझेलमा पर्न थालेको पनि दशक नाघिसक्यो।

केही दिनअघि भीमदत्तनगरका स्थानीय नागरिक समाज र सरोकारवालाहरुको पहलमा सङ्घर्ष समिति नै गठन भएर मझँगाँउ विमानस्थल पुनः सञ्चालनको विषय उठिरहेको भए पनि आश्वासन मात्रै पाइरहेको संघर्ष समितिका पदाधिकारीहरुको भनाइ छ।

दुई वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा भीमदत्त नगरपालिकाको प्रमुख र उपप्रमुख पदका सबै दलका उम्मेदवारहरुले मझगाउँ विमानस्थल सञ्चालनको प्रमुख एजेण्ट बनाए तर पहल भने भएको छैन। ‘अहिलेको हाम्रो आन्दोलनको पहिलो चरणको माग भनेको विमानस्थल घेरापर्खाल र भौतिक संरचना मर्मतका लागि बजेट हो।’ विमानस्थल सञ्चालन गर्न गठिन नागरिक सङ्घर्ष समितिका संयोजक रमेशबहादुर चन्दले भने, ‘साउन १५ गतेपछि यो विषय फेरि जोडदार रुपले उठाउँछौँ।’

उनले विमानस्थलको संरक्षणका लागि कञ्चनपुरका सबै स्थानीय तह, सुदूरपश्चिम प्रदेश सरकार र केन्द्रका जनप्रतिनिधिहरुसँग माग गरिएको बताए।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि दलीय प्रचारको एजेण्डा बने पनि सञ्चालनको कुनै पहल नभएको संयोजक चन्दको भनाइ छ।

‘विमानस्थलको क्षेत्रफल कम÷धेरै भएर सञ्चालन हुन नसकेको कुरा गफ मात्रै हो’, चन्दले भने, ‘केही तत्वहरु विमानस्थलको जग्गा दुरुपयोग गराउने खेलमा लागे पनि त्यो पूरा हुन दिन्नौँ।’

नागरिक समाज धनगढीको गेटा विमानस्थलको विकल्पमा मझँगाउँ विमानस्थल सञ्चालन हुनुपर्ने अडानमा छन्। ‘साउन १५ गतेसम्म बजेटको केही हुँदैन’, चन्दले भने, ‘अहिले स्थानीय तहहरुले कस्ले कति बजेट छुट्याए त्यो हेर्दैछौँ।’

मझगाउँ विमानस्थल सञ्चालन गरेर कञ्चनपुरको शुक्लाफाँटा, महाकाली नदीको झोलुङ्गे पुल, विभिन्न शक्तिपीठ तथा भारतीय शहरहरुको यात्रा सहज हुने चन्दको भनाइ छ।

झण्डै ५३ बिघा क्षेत्रफलमा रहेको विमानस्थलमा दुई किलोमिटर धावन मार्गसमेत रहेको छ। केही दिनअघि नागरिक सङ्घर्ष समितिले विमानस्थलका बारेमा गरिएको छलफल कार्यक्रममा यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरु मानबहादुर सुनार, लालबहादुर खड्कालगायत स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु सहभागी थिए।

सङ्घर्ष समितिले सुदूरपश्चिम प्रदेश सरकारलाई पनि विमानस्थल सञ्चालनमा गम्भीर बन्न ज्ञापनसमेत बुझाइसकेका छन्।

अस्पतालको हाल पनि उस्तै

स्थानीयदेखि प्रदेश हुँदै प्रतिनिधिसभाको निर्वाचनका बेला कञ्चनपुरका राजनीतिक दलको अर्को प्रमुख चुनावी एजेण्डा थियो, महाकाली अञ्चल अस्पताल सुधार र स्तरोन्नति।

दैनिक एक सय देखि १५० जना बिरामी उपचारका लागि धाउने महाकाली अञ्चल अस्पतालको सेवामा कुनै सुधार भएको छैन। अस्पतालको सुधारका लागि पनि अग्रज समाजसेवीहरुको अगुवाइमा दबाब दिने काम केही महीनाअघि सम्म भयो। तर न त अस्पतालमा दरबन्दीअनुसार चिकित्सक आएका छन्। न त चार वर्षअघि स्थापना भएको आइसियु सेवा नै सञ्चालन हुन सकेको छ।

Mahakali Zonal Hospital

‘चुनावका बेला जनतालाई अञ्चल अस्पतालबाट शिक्षण अस्पताल बनाउने घोषणा पनि दलहरुबाट भएकै हुन्।’ भीमदत्तनगरस्थित हेल्प नेपाल कञ्चनपुरका संयोजक मदन चन्दले भने, ‘अहिले सामान्य बिरामीहरुले पनि उपचारका लागि भारत र अन्यत्र जानुपर्ने बाध्यता यथावत् छ।’ २८ जना चिकित्सकको दरबन्दी रहेको अञ्चल अस्पतालमा हाल १२ जना चिकित्सक कार्यरत छन्।

बेलाबखत प्रतिनिधिसभामा समेत अस्पतालमा चिकित्सक नहुँदा बिरामीले सास्ती खेप्ने गरेको विषय उठ्ने गरेको भए पनि त्यसले सार्थकता पाउन नसकेको चन्दको भनाइ छ।

त्यसैगरी महाकाली अञ्चल अस्पतालका सूचना अधिकृत केशवदत्त अवस्थीले बजेट अभावकै कारण लक्षित वर्गलाई निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधि पनि साझाबाट उधारोमा मागेर काम चलाउनु परेको बताए। ‘धेरै पटक चिकित्सक अभाव भयो, चाहियो भनेर मन्त्रालय, विभागमा पत्राचार भएको छ’, सूचना अधिकृत अवस्थीले भने, ‘पठाउँछौँ भन्ने आश्वसान धेरै आए तर चिकित्सक आएनन्।’
कार्यरत केही चिकित्सक पनि अस्पताल व्यवस्थापन समितिको सुविधाबाट टिकेका छन्। अवस्थीले कर्मचारी समायोजनका कारण अस्पतालमा थप चिकित्सकको अभाव हुने बताए। पर्याप्त भौतिक संरचना हुँदा पनि बिरामीहरुले सामान्य उपचार बाहेक अरु जटिल रोगको उपचारका लागि रिफर हुनुपर्ने बाध्यता छ। दक्ष जनशक्तिको अभावमा चार वर्षअघि स्थापना गरिएको आइसियु सेवा सञ्चालन नहुँदै थन्किएको अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा हरिकुमार श्रेष्ठको आगमनले केही स्त्री रोगसम्बन्धी समस्या भएका बिरामीहरुले भने सुलभ सेवा पाएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad