ad ad

समाज


काठमाडौं महानगरलाई घेरेका १० नगरपालिकामा यस्तो छ कोरोना संक्रमणको अवस्था

काठमाडौं महानगरलाई घेरेका १० नगरपालिकामा यस्तो छ कोरोना संक्रमणको अवस्था

यज्ञराज जोशी
भदौ ३, २०७७ बुधबार १२:१८,

काठमाडौं महानगरपालिकाका वरिपरी रहेका दश नगरपालिकामा पनि कोरोना संक्रमण तीब्ररुपमा बढ्दै गएको छ।

कतिपय नगरपालिकामा यात्रा विवरण (ट्राभल हिस्ट्री) नभएका संक्रमित पनि भेटिएकाले त्यहाँ समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ। केही नगरपालिकामा केहि संक्रमितको निधन समेत भइसकेको छ।

कागेश्वरी मनहरा नगरपालिका
कागेश्वरी मनोहरामा हालसम्म ७० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ। नगरप्रवक्ता राजाराम पुडासैनीका अनुसार बैशाखदेखि साउनसम्म जम्मा १० जनामा संक्रमण भेटिएको सो नगरमा सार्वजनिक यातायात खुलेपछि ६० जनामा संक्रमण पुष्टि भइसकेको छ।

सोही कारण मंगलबार बसेको नगरकार्यपालिका बैठकले भाद्र १५ सम्म नगरभित्र सार्वजनिक यातायात बन्द गर्ने, मास्क नलगाई हिडडुल गर्न प्रतिबन्ध गर्ने, अत्यावश्यकबाहेक पसल व्यवसाय बन्द गर्ने लगायतका निर्णय गरेको उनले बताए।

कीर्तिपुर नगरपालिका
कीर्तिपुर नगरपालिकामा बुधबार दिउँसोसम्म २२ जनामा संक्रमण पुष्टि भइसकेको नगरकी उपप्रमुख सरस्वती खड्काले जानकारी दिइन।

‘बाहिरबाट आएका र स्थानीय दुबैथरी व्यक्तिहरुमा संक्रमण भेटिएको छ,’ उनले भनिन्, ‘स्थानीय होटल सञ्चालकदेखि तराईबाट आएमा मानिसहरुमा पुष्टि भएको छ। वडानम्बर २ स्थित मैत्रीनगर, वडा ९ र १० मा रहेको नयाँ बजार क्षेत्र, वडानम्बर ४ र वडा ६ स्थित टौदह क्षेत्र बढी जोखिममा देखिएको छ।’

नगरपालिकाले २० दिनयता तराईबाट आएका र कामको सिलसिलामा नगरप्रवेश गरेकालाई स्वाव परीक्षण गराउन अुनरोध गरेको छ। यस्तै भदौ ९ देखि नगरभित्र यातायात बन्द गर्ने र औषधि पसलबाहेक अन्य पसल बिहान ७ देखि ११ सम्ममात्र खोल्न पाउने निर्णय गरिएको उनले जनाइन्।

गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर नगर प्रवक्ता मनोजकुमार ढुंगानाका अनुसार हालसम्म नगरमा ३१ जना संक्रमित भेटिइसकेका छन। तीमध्ये ३ जना सक्रिय संक्रमित छन भने एक जनाको निधन भैसकेको छ।

‘हालसम्म बाहिरबाट आएकाहरुमा नै संक्रमण देखिएको छ। बाहिरबाट आउनेहरुबाट चुनौति देखिएको छ,’ उनले भने, ‘तीन सक्रिय संक्रमितमध्ये १ जना होम आइसोलेसन र दुई जना अस्पतालको आइसोलेसनमा छन।’

कुशे औंसीमा नगर क्षेत्रको गोकर्णेश्वर महादेव मन्दिरमा मेला लाग्ने भएपनि यसवर्ष कोभिडका कारण धार्मिक समारोहहरु बन्द गर्न नगरले अनुरोध गरेको छ। यस्तै नगरपालिका र वडा कार्यालयका अत्यावश्यक बाहेकका सेवा भदौ ९ सम्म स्थगित गरिएको उनले जानकारी दिए।

चन्द्रागिरी नगरपालिका
चन्द्रागिरी नगरपालिकाका स्वास्थ्य अधिकृत जगदिश्वरी अवस्थी पाण्डेका अनुसार नगरपालिकामा हालसम्म ४७ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यसमध्ये १५ जना सक्रिय संक्रमित छन।

नगरपालिकाको सतुंगल, बलम्बु, तीनथाना, थानकोट, पूरानो नैकाप क्षेत्रमा बढी संक्रमित भेटिएका छन। पाण्डेले नगरभित्र समुदायमै फैलिएको संकेत देखिएको बताइन्।

‘स्थानीय स्थास्थ्यकर्मी तथा घरमै बसिरहेका व्यक्तिलाई पनि संक्रमण देखिएको छ,’ उनले भनिन्, ‘एकै स्थानका समेत ५–७ जनालाई संक्रमण देखिएको छ।’

नगरले मास्क नलगाई हिड्न निषेधित गरेको छ। मास्क नलगाउने व्यक्तिलाई एक सय रुपैयाँ जरिवाना गरि दुईवटा मास्क दिने निर्णय नगरपालिकाको छ। यसका साथै जनस्वास्थ्यको नियम पालना नगर्नेलाई एक हजार जरिवाना गर्ने नगरपालिकाले निर्णय गरेको छ।

टोखा नगरपालिका
टोखा नगरपालिकामा मंगलबारसम्म ७७ जनामा कोरोना पुष्टि भएको छ। नगरपालिकामा दुई जनाको निधन भईसकेको छ।

हाल नगरमा ५१ जना सक्रिय संक्रमित रहेको नगरपालिकाले जनाएको छ। नगरभित्र १६ जना बाहिरबाट आएकामा कोरोना पुष्टि भएको नगरप्रवक्ता बच्चुराज बस्यालले जनाए।

टोखा नगरपालिका अन्तर्गत मुख्य गरी गोंगबु, धापासी, टोखा लगायतका क्षेत्रमा संक्रमितहरु भेटिएका छन।

तारकेश्वर नगरपालिका
तारकेश्वर नगरपालिकामा हालसम्म ४४ जनामा संक्रमण पुष्टि भएको छ। नगरको स्वास्थ्य शाखाका तथ्यांक सहायक केशव खरेलका अनुसार त्यसमध्ये ६ जनालाई निको भएको छ भने हाल सो नगरमा ३८ जना सक्रिय संक्रमित रहेका छन।

कन्ट्याक्ट ट्रेसिङका क्रममा १२ जना स्थानीयलाई संक्रमण भेटिएपछि उनीहरु एकै घरको भेटिएकाले स्थानीय संक्रमण पुष्टि नभएको उनले बताए। नगरको वडानम्बर १० मा बढी संक्रमितहरु भेटिएका छन।

दक्षिणकाली नगरपालिका
यस नगरपालिकाभित्र हालसम्म आठ जनामा कोरोना संक्रमण भेटिएको छ। नगरप्रवक्ता अमरिका बलामीका अनुसार एक जना निको भइसके भने सात जना सक्रिय संक्रमित छन।

पाँचजना होम आइसोलेसनमा छन भने संक्रमित एकजना आर्मी अस्पतालमा तथा अर्का एकजना नगरपालिकाले बनाएको आइसोलेसनमा बसिरहेका छन।

चार नम्बर वडामा एकै घरपरिवारका तीन जनामा संक्रमण देखिएपनि समुदायमा संक्रमण नदेखिएको उनले बताए। तर मकवानपुरसँग जोडिने नाका हुनुका साथै काठमाडौं आवातजावत गर्ने धेरै मानिसहरु भएकाले संक्रमणको जोखिम उच्च रहेको उनले बताए।

नगरपालिकाले साउन मसान्तदेखि भाद्र ८ गतेसम्म लकडाउन घोषणा गरेको छ।

नागार्जुन नगरपालिका
यस नगरपालिकामा हालसम्म २५ जना संक्रमित भेटिएको र त्यसमध्ये आधा जति सक्रिय रहेको नगरप्रवक्ता थुमराज केसीले जानकारी दिए।

संक्रिय संक्रमितहरुलाई घरमै आइसोलेसनमा राखिएको छ। नगरपालिकाको वडानम्बर ४ सितापाइला क्षेत्रमा बढी संक्रमित भएको उनले बताए। यस वडामा मात्रै १४ जना संक्रमित भेटिइसकेका छन।

‘नयाँ वस्तीको एक घरमा चार जनालाई संक्रमण भेटिएको छ। त्यसबाहेक स्थानीयस्तरमा संक्रमित भेटिएका छैनन,’ केसीले भने, ‘संक्रमित देखिएका अधिकांश बाहिरबाट आएका नै छन।’

बुढानिलकण्ठ नगरपालिका
काठमाडौं जिल्लाका दश नगरपालिकामध्ये बुढानिलकण्ठ नगरपालिका सर्वाधिक संक्रमित भएको नगरपालिका हो। नगरप्रमुख उद्धवप्रसाद खरेलका अनुसार नगरमा मंगलबारसम्म ८५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

खरेलले बाहिरी जिल्लाबाट आउनेसँगै स्थानीय स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कामदारमा पनि संक्रमण देखिएको बताए। गम्भीर रुपमा अस्पताल भर्ना हुनेमध्ये केही नगरपालिकाका पनि रहेको उनले बताए।

हालसम्म एक हजार जनाको पीसीआर परीक्षण गरिएको जनाउँदै उनले संक्रमण रोकथामका लागि सबैलाई सहयोग गर्न अनुरोध गरे। नगरपालिका तथा वडामा आगामी भाद्र १५ सम्म अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ।

शंकरापुर नगरपालिका
शंकरापुरका नगर प्रवक्ता हितमान तामाङका अनुसार हालसम्म नगरपालिकामा ११ जना संक्रमित भेटिएका छन। सबै सक्रिय संक्रमित हुन।

संक्रमितमध्ये चार जना अस्पतालको आइसोलेसन र बाँकी घरकै आइसोलेसनमा रहेको उनले बताए। नगरको साँखु बजार क्षेत्र, इन्द्रेणी तथा वडानम्बर ५ बढी जोखिममा रहेको उनले बताए।

‘केहीलाई बाहिरबाट आएकाबाट सरेको र केहीको यात्रा विवरण नै नभएर पनि सरेको देखिन्छ। नगरपालिकामा लगभग समुदायमै संक्रमण पुगेको अनुमान गरेका छौं,’ उनले भने।

नगरपालिकाका एकजना कर्मचारीलाई समेत संक्रमण देखिएपछि सोमबारदेखि एकहप्ताका लागि कार्यालय सिल गरिएको छ।

याे पनि: 
यस्तो छ काठमाडौँ महानगरका बत्तीसै वडामा कोरोना संक्रमणको अवस्था

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .