काठमाडौँ महानगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या करिब १० हजार पुगेको छ।
कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट संक्रमण भएका छन्। यसमध्ये सबैभन्दा बढी १५ नं वडाका छन् जहाँ ८७१ संक्रमित भएका छन्।
त्यसैगरी वडा नं ३, ११, १३, १६ मा पनि ५०० बढी संक्रमित रहेको कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए। होम आइसोलेसनमा बस्नेको संख्या दुई हजार ९९० रहेको छ। अस्पतालमा उपचार गराइरहेका ५७२, संस्थागत आइसोलेसनमा ५८३ रहेका छन्। पाँच हजार ५०९ जना निको भएर घर फर्किसकेको कामपाको भनाइ छ। प्रमुख कुँवरका अनुसार संक्रमणको कारण ८० जनाको मृत्यु भएको छ।
सरकारले भने अनुरुप पछिल्लो समय भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचक्र्याइँ बढेपछि काठमाडौँ उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ। उपत्यकासहित देशभर व्यक्ति–व्यक्तिबीच भौतिक दूरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग नगर्दा जोखिम अत्यधिक बढिरहेको छ।
सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थलमा दैनिकजसो बढ्दो भीडभाडले कोरोनाको गति उच्च हुन थालेको प्रमुख कुँवरको भनाइ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिकी सञ्चालन गर्नका लागि बजार खुला गरे पनि नागरिकहरु स्वयं सतर्क रहन आवश्यक रहेको बताउँदै आएको छ। अहिले देशभरिको कूल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ। उनीहरुमध्ये ५२८ जनाको मृत्यु भएको छ भने ६२ हजार ७४० जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर २१ हजार ३०२ सक्रिय संक्रमित छन्।

प्रतिक्रिया