बागमती सफाइ महाअभियान शुरु भएको चार सय हप्ता हुन लागे पनि नदीमा फोहर गर्ने क्रम भने रोकिएको छैन।
पशुपति क्षेत्रको गौरीघाट, शङ्खमूललगायत सांस्कृतिक स्थलमा फोहर जम्मा भए पनि सरोकारवाला निकाय मौन बसेको सफाइ अभियानकर्मीको गुनासो छ । अभियानकर्मीले सफा गरिरहने र फोहर फाल्नेले फालिरहने हो भने बागमती सधैँ प्रदूषित नै हुने अभियानकर्मी चक्रबहादुर चन्द बताउँछन्। ‘शङ्खमूल क्षेत्रमा फोहर बढ्न थालेको छ। सफाइमा स्थानीय सरकारले आवश्यकताअनुसार ध्यान दिएको छैन,’ उनले भने।
पशुपति क्षेत्रको आर्यघाटबाट बगाएको बाँसका लाँक्रा तीनकुने आलोकनगरसम्म पुग्न थालेको छ। आलोकनगर सफाइ अभियानकर्मी प्रमिला पौडेल कोरोनाका कारण सफाइ अभियानमा पहिलेको भन्दा कम सहभागिता जुट्न थालेपछि फोहर बढ्न थालेको बताउँछिन्। फलस्वरुप नदीमा कालो पानी बग्न थालेको छ।
बागमती सफाइ महाअभियानको ३९३ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको सफाइ अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको छ। पशुपति भष्मेश्वर घाट क्षेत्रमा सफाइ गरिएको खरेलले बताए।
यसैगरी, शङ्खमूल क्षेत्रमा बागमती मनोहरा दोभान र बुद्धनगर सत्य साइबाबा उद्यान क्षेत्रमा सफाइ गरिएको छ । यस क्षेत्रको नदी किनारका दायाँबायाँमा रहेका घर, पसल, ग्यारेज व्यवसायी लगायतलाई जनचेतनामूलक अभियानसहित फोहर टिपेर कुहिने र नकुहिनेमा वर्गीकरणका साथ व्यवस्थापन गरिएको अभियानकर्मी डा.लक्ष्मी पौडेलले जानकारी दिए।
गुह्येश्वरीमाथिको बागमती सफाइ अभियानको ३५३औँ हप्तामा जोरपाटी क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । कोरोना महामारीका बाबजुद सफाइ अभियानमा सहभागिता बढ्न थालेको बागमती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए।
विष्णुमती सफाइ अभियानको ३२२औँ हप्तामा काठमाडौँ महानगरपालिका–१७ स्थित शोभाभगवती खुसीबुमा जम्मा भई छलफलसहित अर्को हप्ता शनिबारदेखि नदी स्काभेटर चलाएरै सफाइ गर्ने निर्णय भएको छ । महानगरको वडा नं १५, १६ र १७ मा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने निर्णय बैठकले गरेको अभियानकर्मी शोभाकान्त पाण्डेले बताए।
मनोहरा सफाइ महाअभियानको १९२औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित कृषिबजार अघिको नदी किनारमा सफाइ गरिएको छ । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिए। सफाइमा करीब ५० जना अभियानकर्मीको सहभागिता थियो।
ललितपुरको गोदावरी खोला सफाइ अभियानको ९०औँ हप्तामा खोलाका विभिन्न स्थानमा भौतिक दूरी कायम गर्दै सफाइ गरिएको छ । सबै क्षेत्रको सफाइ अभियान भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको छ।
विसं २०७० जेठ ५ गते बागमती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीसहित देशका प्रमुख नदी एवं शहर गरी हालसम्म १०६ स्थानमा सफाइ अभियान शुरु भइसकेको छ। कोरोनाबाट बच्न गत वर्ष चैतमा बन्दाबन्दी जारी गरिएपछि भने सफाइ अभियानमा सुस्तता छाएको छ। रासस

प्रतिक्रिया