समाज


चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ जान थाले गैँडा, उता गएका गैँडा ल्याउन भारतले दिँदैन

चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ जान थाले गैँडा, उता गएका गैँडा ल्याउन भारतले दिँदैन

नेपालखबर
माघ २३, २०७७ शुक्रबार १:६,

चितवन राष्ट्रिय निकुञ्जबाट आहार र बासस्थानकोको खोजीमा दुर्लभ एकसिङ्गे गैँडा भारतर्फ जान थालेका छन्। निकुञ्जको पश्चिमी क्षेत्रमा केन्द्रित भएका गैँडा विस्तारै भारततर्फ जान थालेका हुन्।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार यस वर्षको वर्षातमा दुई वटा गैँडा सुस्ता हुँदै भारततर्फ गएका छन् । ती गैँडा भारतको वाल्मीकी टाइगर रिजर्बमा पुगेका छन्।

बरालले निकुञ्जको टेम्पल, बगवन, भेलौजी हुँदै त्रिवेणीबाट गैंडा भारतर्फ जाने खतरा बढेको बताए। निकुञ्जको पश्चिमी क्षेत्रमा झण्डै ७० प्रतिशत गैँडा छन्। ‘पश्चिमी क्षेत्रका गैँडालाई निकुञ्जको पूर्वी भागमा स्थानान्तरण गरिएन भने भारततर्फ जाने खतरा बढेर गयो,’ बरालले भने।

नेपालमा हुर्काएर राप्ती र नारायणी नदीमा छाडिएका अधिकांश घडियाल गोही भारत जाने गरेका थिए। गोही जस्तै नेपालका गैँडा पनि भारततर्फ जाने खतरा बढेको उनले बताए। विसं २०७४ मा आएको बाढीले बगाएर ठूलो संख्यामा गैँडालाई भारत पु¥याएको थियो। उक्त समयमा भारतीय पक्षसँग समन्वय गरेर ११ वटा गैँडा उद्धार गरी नेपाल ल्याइएको भए पनि पछिल्लो समय भारतले गैँडा ल्याउन दिएको छैन।

निकुञ्जको पूर्वी क्षेत्रमा गैँडाको बासस्थान राम्रो हुन नसक्दा गैँडा पश्चिम क्षेत्रमा केन्द्रित हुँदै गएका हुन्। निकुञ्जले विगतका वर्षदेखि नै गैँडा पश्चिमबाट पूर्वमा ल्याउने जनाउँदै आएको भए पनि ठोस काम हुन सकेको छैन। बराल भने अब गैँडा पूर्व ल्याउनैपर्ने बताउछन्।

‘निकुञ्जभित्रको बासस्थान थप व्यवस्थित गरेर गैँडा स्थानान्तरण नगरे क्रमशः भारततर्फ जाने देखिन्छ,’ उनले भने, ‘आन्तरिक रुपमा निकुञ्जभित्र बासस्थानको व्यवस्थापनमा अरु बढी जुट्नुपर्ने देखिएको छ।’

निकुञ्जको पश्चिमी क्षेत्रमा एकै ठाउँमा धेरै गैँडा हुँदा खानाको अभाव हुने, एकआपसमा जुधेर मर्ने समस्यासमेत देखिएको छ । पोथीसँगको प्रजननको समयमा भाले गैँडा एकआपसमा जुध्ने गर्दछन्।

निकुञ्ज भारतीय सीमा क्षेत्रमा पर्छ। भारततर्फ वाल्मीकी टाइगर रिजर्व छ । यताका पाटेबाघलगायत अन्य वन्यजन्तु पनि भारत जाने आउने गर्छन्। दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा राज्य र दातृ निकायले ठूलो लगानी गरेको भए पनि भारततर्फ जाने समस्या समाधानतर्फ हालसम्म कुनै ठोस काम हुन सकेको छैन।

नेपालका निकुञ्जमा गत वर्ष गैँडा गणना गर्ने भनिए पनि कोरोना प्रभाव देखिएसँगै रोकिएको छ। यस वर्ष गैँडा गणना गर्ने तयारी भइरहेको छ । सन् २०१५ को गणनामा नेपालमा ६४५ गैँडा पाइएका थिए। जसमध्य चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ गैँडा थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad