धनुषामा आफ्नै बुबा र मामा मिलेर अपहरण गरिएका बालकको ७ घण्टाभित्रै सकुशल उद्धार गरिएको छ।
जिल्लाको नगइराइन नगरपालिका-६ निवासी रमेश दासका ७ वर्षीय छोरालाई प्रहरीले सकुशल उद्धार गरेको हो। प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको नेतृत्वमा खटेको टोलीले उद्धार गरेको हो।
अपहरण आरोपमा बालकका बुबा रमेश र दुई मामालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
हिजो शनिबार दिउँसो १ बजेबाट घरबाटै अपहरणमा परेका बालकलाई राति ८ बजे जनकपुरस्थित माछा बजारबाट सकुशल उद्धार गरिएको प्रदेश २ का प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले जानकारी दिए।
‘शनिबार दिउँसोबाट बालक बेपत्ता भएका थिए। अपराह्न ४ बजे बालकको घरमा एक करोड फिरौती लिएर आऊ नत्र बालकलाई मारिदिन्छु भनेर फोन गयो,’ डीआईजी सिंहले नेपालखबरसँग भने, ‘साढे ४ बजे हामीलाई जानकारी आएलगतै बालकको रेस्क्युमा लागेका थियौं। राति ८ बजे जनकपुरको माछा बजारस्थित एक घरबाट सकुशल उद्धार गर्यौँ।’
रमेशले आफ्ना बुबा हरिचनसँग रकम असुल्न आफ्नै छोरा अपहरणको नाटक गरेको आशंका भए पनि घटना रहस्यमय देखिएको डीआईजी सिंहले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया