महानगरीय ट्राफिक प्रहरी महाशाखाले छड्के चेकजाँच गर्दै यात्रुसँग बढी भाडा लिई ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ।
उपत्यकामा जारी भएको निषेधाज्ञा पश्चात वैदेशिक रोजगारबाट आई घर फर्किने र अत्यावश्यक परी उपत्यकाबाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेभन्दा तीन गुणा बढी भाडा लिने काउण्टरका कर्मचारीलाई गौशाला र कोटेश्वरबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।
महामारीको अवस्थामा यात्रुहरु ठगिन सक्ने कुरालाई मध्यनजर गरी विशेष टोली परिचालन गरेको र टोलीले त्यस्ता स्थानहरुमा गई कहिले आफैँ यात्रु बनेर भाडा मोलमोलाइ गर्ने र कहिले यात्रुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिएको पाइए निगरानीमा राखी नियन्त्रणमा लिने गरेको ट्राफिक महाशाखाले जनाएको छ।
कोटेश्वरबाट धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरादहका ४२ वर्षीय खड्ग बहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने ३४ वर्षीय राम सुरेललाई पक्राउ गरेको छ।
काठमाडौंदेखि पूर्व झापा, मोरङ्ग जाने यात्रुहरुसँग जनही तीन हजारदेखि ४५ सयसम्म भाडा लिने इन्द्रेणी हाइसको काउण्टर र प्रदेश३–०१–००६ख १४३१ नम्बरको सार्वजनिक बसका कर्मचारीलाई पक्राउ गरेको हो।
पक्राउ परेका सुरेललाई वृत्त गौशाला र अन्य दुई जनालाई आवश्यक कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ।
यसरी महामारीमा सार्वजनिक सवारी सञ्चालनमा पूर्ण रोक लगाएको भए पनि विभिन्न समस्यामा परेका र विदेशबाट आएकाहरुलाई लग्ने बहानामा बढी भाडा लिई ठगी गर्ने ६ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि हिजो प्रहरी प्रभाग गोंगबु र कलंकीमा बुझाएको थियो।
बढी भाडा लिएमा वा सार्वजनिक यातायातसम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया