समाज


नेपाल यात्रापछि केलीको अन्तरिक्ष अनुसन्धान: अब उनको शरीर उस्तै छैन

नेपाल यात्रापछि केलीको अन्तरिक्ष अनुसन्धान: अब उनको शरीर उस्तै छैन

कार्ल जिम्मर
भदौ ७, २०७६ शनिबार ७:११,

अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकहरुले स्कट केलीका पृथ्वीस्थित जुम्ल्याहासँग तुलनात्मक अध्ययन गरेका छन्। यो अध्ययनबाट मानिसले लामो अन्तरिक्ष यात्रामा के के सहनुपर्ने रहेछ भन्ने खास संकेतहरु मिलेका छन्।

३ सय ४० दिनसम्म स्कट केलीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रहेर आफ्नैबारे डाटा संकलन गरेका छन्। आफ्नो पाखुराबाट रगत निकाले। आफ्नो पिसाब बचत गरे। आँखाको आकार मापन गरे। कम्प्युटर गेमहरु खेल। यो सब स्मरणशक्ति र शारीरिक सन्तुलन मापनका लागि थियो।

त्यस्तै स्कटभन्दा २ सय ४० माइल तल पृथ्वीमा रहेका उनका जुम्ल्याहा दाजु मार्कले पनि उनले जस्तै जाँच गरे। मार्क पनि एक अन्तरिक्षयात्री नै हुन्। यो अध्ययनका क्रममा भने उनी पृथ्वीमा थिए।

यी जुम्ल्याहा दाजुभाइको भिन्नाभिन्नै परीक्षणबाट वैज्ञानिकहरुलाई पृथ्वी र अन्तरिक्षमा बस्दा हुने मानवीय शारीरिक अवस्थाको परिवर्तनबारे अनौठो तथ्य हासिल भएको छ। ५५ वर्षीय केलीले लामो समय अन्तरिक्षमा बिताएका छन्। पछिल्लो पटक उनी फर्किएसँगै नासाका अनुसन्धानकर्ताले ‘अर्बिट’मा रहँदा उनको शरीरमा धेरै परिवर्तन भएको निष्कर्ष निकालेका छन्।

अध्ययनले अनौठो निष्कर्ष के दियो भने कतिपय कोसहरुका डीएनए नै परिवर्तन भएको पाइयो। उनको शरीरको प्रतिरक्षा प्रणालीले नयाँ नयाँ संकेत विकास गरेको देखियो। माइक्रोबायोमीले जीवाणुका नयाँ प्रजाति ग्रहण गरेको भेटियो।

कतिपय यी परिवर्तनहरु जोखिमरहित थिए। केही स्कट पृथ्वीमा फर्किएसँगै हराए पनि। उनको अनुसन्धानले जिनसम्बन्धी परिवर्तनका संकेतहरु पनि भेटिएका छन्। यो परिणामले विश्वभरिकै वैज्ञानिकहरुको ध्यानाकर्षण गराएको छ।

केही विषय जोखिम व्यवस्थापन गर्न सकिने खालकै छन्। मंगलग्रह वा अन्य गन्तव्यजस्ता लामो अन्तरिक्ष यात्रा कति सुरक्षित छन् भन्नेमा निश्चिन्त हुन नसकिएको कतिपयको बुझाइ छ। यसबारे अन्तिम उत्तर पाउन धेरैभन्दा धेरै अन्तरिक्ष यात्रीहरुमा आधारित अध्ययन आवश्यक छ।

६ दशकयता यात्रीहरुले अन्तरिक्षा यात्रा गरिरहेका छन्। अन्तरिक्षमा जीवनबारे अझै धेरै खोजी गर्न बाँकी छ। सबै विषय वैज्ञानिकहरुले पनि राम्रोसँग बुझिसकेका छैनन्। साइन्स जर्नलमा प्रकाशित भएको नासाका जुम्ल्याहा दाजुभाइको यो अध्ययन लामो अन्तरिक्ष यात्राका लागि कोशेढुंगा हुने अपेक्षा छ।

सन् २०१२ मा नासाले केलीलाई रसियाली अन्तरिक्षयात्री (कोस्मोनाउट) मिखाइल कोर्निन्कोसँग स्पेस स्टेसन पठाएको थियो। त्यतिबेला उनले अन्तरिक्ष यात्राको चुनौतीबारे अध्ययन तथा परीक्षण गरेका थिए। अहिलेको उनको अनुसन्धानले केही महत्वपूर्ण निष्कर्ष दिएको छ। अध्ययनका क्रममा केलीले ३ सय ४० दिन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा बिताए। त्यहाँ उनले अन्तरिक्ष यात्रामा दौडबाट हुने शारीरिक असरबारे अनौठो अध्ययन गरे।

kely bhaktapurसन् २०१३ मा नेपाल भ्रमणका क्रममा भक्तपुरमा स्कट केली र उनकी प्रेमिका।

नेपाल यात्रापछिको अनुसन्धान
मिसन घोषणा भएसँगै केलीले अधिकारीहरुलाई आफ्नो जुम्ल्याहा दाजुसँग तुलना गर्नेसम्बन्धी केही विषय भए भन्न आग्रह गरेका थिए। अधिकारीहरुसँग त्यस्तो केही योजना थिएन। यद्यपि उनीहरुले चाँडै यसबारे केही निर्णय लिए। उनीहरुको कुरामा केलीले सहमत थिए।

परिणामतः ‘नासा ट्विन्स स्टडी’ जन्मियो। केली नासाकै पूर्वपदाधिकारी हुन्, उनी सन् २०११ अवकास पाए। त्यसको २ वर्षपछि उनले नेपाल यात्रा गरेका थिए। सगरमाथा चढ्ने उनको धोको छ। अहिले उनी एरिजोनाबाट जोन म्याकेनको खाली सिटका लागि निर्वाचनमा होमिएका छन्।

नासाले जुम्ल्याहा दाजुभाइको तुलनात्मक अध्ययनबाट अन्तरिक्षमा बस्दा अनुभूत हुने विषय पृथ्वीमा रहने मानिसको भन्दा कति फरक हुन्छ भन्ने थाहा पाउने अपेक्षा गरेको छ। ‘उनीहरुबारेको अध्ययनले धेरै कुराहरु पत्ता लाग्नेछ’, कोलोराडो स्टेट युनिभर्सिटीमा क्यान्सर बायोलजिष्ट सुसान बेली भन्छिन्, ‘हामी के भन्न सक्छौँ भने अन्तरिक्ष उडानकै कारण केलीमा ती परिवर्तनहरु देखिएका हुन्। यसले अन्तरिक्ष यात्राको समस्या र समाधान खोज्न प्रेरित गरेको छ।’

यी जुम्ल्याहाका लागि १० वटा रिसर्च टोलीले अलग अलग रुपमा डिजाइन गरिएका परीक्षण गरिएका थिए। स्कटका लागि भने यो परीक्षण पहिलेभन्दा धेरै फरक नभएको उनको बुझाइ छ। ‘शून्य गुरुत्व बलमा शरीरबाट रगत निकाल्नु नियमित कामजस्तै हो। मेरा लागि यो पहिलेभन्दा खास फरक कुरा होइन’, केली भन्छन्।

धेरै हिसाबले वैज्ञानिकहरुले केलीमा परिवर्तन आएको पाएका छन्। उनी पृथ्वीमा आएपछि विस्तारै शारीरिक परिवर्तनको प्रक्रिया सुस्त भयो। यसले अन्तरिक्षमा मानव शरीरले नयाँ सन्तुलन भेट्टाएको छ।

केलीको रगत पनि केही अनौठो रुपमा बदलिएको भेटियो। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको अर्बिटमा घुम्ने क्रममा उनीहरुले नासाको ‘ट्विन्स स्टडी’को लागि मात्रै डाटा संकलन गरिरहेका थिएनन्, केही तस्बिरहरु पनि खिच्न भ्याए।

mark kelyअन्तरिक्ष यात्री स्कट केली अन्तरार्ष्ट्रिय अन्तरिक्ष केन्द्रमा। तस्विर: नासा

अन्तरिक्ष यौवनमैत्री स्थान हो?
डा. बेलीले केलीको डीएनएका केही विशेष भागहरुको अध्ययन गरिन्, त्यसलाई टेलोमर्स भनिन्छ। जुन क्रोमाजम्सको अन्त्यतिर रहन्छ, यसले क्रोमोजोमलाई बिग्रिनबाट जोगाउँछ। मानिसको उमेर बढ्दा टेलोमर्स छोटो हुँदै जान्छन्। विकिरण र प्रदूषणजन्य दबाबले टेलोमर्सलाई सामान्यभन्दा द्रुतगतिमा खुम्च्याउने सम्भावना हुन्छ।

अन्तरिक्ष स्टेसनमा रहँदा उनको तौल १५ पाउन्ड घटेको थियो।

अचम्म के भइदियो भने केलीको टेलोमर्स भने अन्तरिक्षमा केही बढेको पाइयो। मानौँ केलीका कोशिकाहरु झन् कलिला हुँदै छन्। दैनिक व्यायाम र स्वस्थ आहार यसका कारणहरु हुनसक्छन्। तर अन्तरिक्षमा गएकै कारण केलीको शरीरमा कोशिकाको संख्या जागेको हुनसक्ने बेलीको भनाइ छ।

अन्तरिक्ष बसाईले केलीको शरीरमा जेनेटिक मिलान समेत गरेको देखाएको छ। हजारौँ जिनहरु कुनै बेला शान्त रहेको भए पनि विस्तारै सक्रिय भएको पाइयो। तिनै जिनहरु यता पृथ्वीमा रहेका मार्क केलीको शरीरमा भने शान्त नै थिए। केलीका जिनहरु सक्रिय भएको विषयलाई वैज्ञानिकले थप अनुसन्धानको रुपमा लिएका छन्।

प्रोटिनलाई संकेत गर्ने जिनहरुले क्षतिग्रस्त डीएनएको समाधानमा भूमिका खेलेको पाइएयो। पृथ्वीभन्दा धेरै परिमाणमा अन्तरिक्षमा विकिरण तह हुने गर्छ। एक जना अनुसन्धानकर्ता क्रिस्टोफर म्यासन पृथ्वीमाभन्दा वार्षिक ४८ गुणा बढी विकिरण भएको वातावरणमा केली रहेको अनुमान गर्छन्। पछिल्लो केही अध्ययनहरुले अज्ञात भाइरस पनि अन्तरिक्ष यात्रीमा ब्युँझिनसक्ने देखाएको छ। मानव शरीरको प्रतिरक्षा प्रणाली नै असमञ्जस्य अवस्थामा पुगेको रुपमा यसलाई लिइएको छ।

सन् २०१६ को मार्च १ मा केली पृथ्वीमा अवतरण गर्दा उनको मिसनले नै शारीरिक अवस्थाबारे धेरै कुरा बोलिरहेको थियो। शरीरमा भित्री तनावका संकेतहरु देखिनुका साथै प्रतिरक्षा प्रणाली पनि उच्च स्तरमा थियो। स्ट्यानफोर्ड युनिभर्सिटीका एक जेनेटिसिस्ट माइकेल स्नाइडर यस्तो प्रतिक्रिया सामान्य नभएको बताउँछन्। ‘सम्भवतः केलीलाई भाइरल इन्फेक्सन भएको हुनुपर्छ’, उनको अनुमान छ।

यो शंका उपशंका चलिरहँदा केलीको रगत अन्तरिक्ष उडानको ठीक अघिकै अवस्थामा फर्किइसकेको छ। जीवाणुका केही प्रजाति जो अन्तरिक्षमा सक्रिय थिए, तिनीहरु पृथ्वीमा फर्किँदा विरलै भेटिए। पृथ्वीमा अवतरण गरेको ४८ घण्टाभन्दा कम समयमा केलीका अचम्मसँग बढेका टेलोमर्स हराए।

‘मानिसहरुले मलाई अन्तरिक्ष यौवनमैत्री स्थान हो त भनेर पनि सोधे’, डा. बेली भन्छिन्, ‘मलाई त्यस्तो लाग्दैन, यदि त्यस्तो हो भने त सधैँका लागि उतै गएर बसे भइहाल्यो नि!’

सन् २०१७ को संस्मरण ‘एन्ड्युरेन्स’मा केलीले दुःखाइ, अनिद्रा र अन्य थकानहरुसँग पृथ्वीमा फर्किएपछि गर्नुपरेको कठिनाइबारे वर्णन गरेका छन्। एक रात त उनलाई बालुवाको घर भत्काउन पनि संघर्ष गरेजस्तो अनुभव भएको उनले लेखेका छन्। ‘जब कोही पूर्ण तन्दुरुस्त हुँदैन, उसलाई एकाग्र हुन कठिन हुनसक्छ’, उनले एउटा अन्तर्वार्तामा भनेका छन्।

यो अध्ययनमा समावेश नरहेका बेलायती वेलकम स्यांगर इन्स्टिच्युटका क्यान्सर बायोलजिस्ट पिटर क्याम्पबेलले वैज्ञानिकहरुले एक्स्ट्रा म्युटेसनले केलीको स्वास्थ्यमा के गर्ला भन्ने भविष्यवाणी गर्न नसक्ने बताउँछन्। ‘निश्चित हुन गाह्रो हुनसक्छ तर मलाई के लाग्छ भने त्यसले क्यान्सर जोखिम बढाउन सक्ने सम्भावना हुनसक्छ’, उनी भन्छन्।

केलीमा देखिएको डीएनएसम्बन्धी परिवर्तनले मंगलग्रहसम्मको लामो अन्तरिक्ष यात्रालाई लिएर विज्ञहरुको ध्यान तानेको छ। मंगल ग्रहमा पुग्न एक वर्षसम्म लाग्छ।

mark kely1स्कट केली अन्तरिक्षबाट फर्किने क्रममा ताजिकास्तान आकाशमाथि हेलिकोप्टरमा। तस्विर: नासा

हाडबर्ड मेडिकल स्कुलका एक साइकोलजिस्ट ग्यारी स्ट्रेन्जमेन लामो अन्तरिक्ष यात्रामा जाँदा गति र तथ्यको सुस्तताले गम्भीर परिणाम आउन सक्ने बताउँछन्। धेरैभन्दा धेरै जेनेटिक म्युटेसनले तुरुन्तै कोही पनि अन्तरिक्ष यात्रीलाई जोखिम नपार्ने वैज्ञानिकहरु बताउँछन्। यसले जीवनमा लामो समयसम्म क्यान्सरको जोखिमचाहिँ बढाउँछ। डा. म्यासनका अनुसार मंगल मिसनले अन्तरिक्ष यात्री केलीले अनुभव गरेभन्दा आठ गुणा धेरै परिमाणको विकिरणको सामना गर्नुपर्ने हुन्छ।

त्यसलाई घटाउने गरी काम गर्न आवश्यक छ। स्क्रिप्स इन्स्टिच्युटका डा. टोपोल यो कुरा देख्दा देख्दै डरलाग्दो मिसनमा कोही किन जाने भन्ने प्रश्न गर्छन्। तर फेरि टेक्सास साउथवेस्टर्न मेडिकल सेन्टर युनिभर्सिटीका कोशिका बायोलजिस्ट जेरी शे भने यसबाट आशावादी हुनसकिने बताउँछन्। यसको समाधानको लागि आवश्यक कदम चालेर अन्तरिक्ष यात्रीको सुरक्षालाई ध्यान दिनुपर्ने उनको भनाइ छ।

उनी र उनका सहयोगीहरु यतिबेला विकिरणले डीएनएमा पार्ने क्षति रोक्ने औषधिको परीक्षण गरिरहेका छन्। जेरी शेका अनुसार यो समस्या समाधान गर्न सकिन्छ। नासाले पनि अहिलेसम्मका परिणामहरुलाई आधार मानेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा अर्को मिसन पुर्याउने योजना बनाएको छ। नासाले यसलाई ट्विन्स स्टडीको अनुसरण नहुने बताएको छ। (न्युयोर्क टाइम्समा प्रकाशित कार्ल जिम्मरको रिपोर्टमा आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .