समाज


हिरासतका गार्डको क्वार्टरमा बस्छन् रवि र छवि

हिरासतका गार्डको क्वार्टरमा बस्छन् रवि र छवि

उजिर कार्की
कात्तिक ४, २०८१ आइतबार १३:५०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दुई दिनदेखि हिरासतमा छन्। सहकारी ठगीको आरोपमा पक्राउ परेका उनलाई म्याद थपका लागि आइतबार जिल्ला अदालतमा लगिँदैछ। 

शुक्रबार काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई शनिबार बिहान ३ बजे कास्की लगेर हिरासतमा राखिएको छ।

उनलाई प्रहरीले हिरासत रुंग्ने प्रहरीको क्वार्टरमा राखेको कास्की प्रहरी स्रोतले जानकारी दिएको छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीमा ५ वटा हिरासत कक्ष छन्। त्यसमध्ये एउटा महिलाका लागि, एउटा तेस्रो लिंगीका लागि र बाँकी तीनवटा पुरुषका लागि हिरासत कक्ष छुट्याइएको छ। 

लामिछानेलाई भने यी हिरासतमा राखिएको छैन। उनलाई हिरासत रुंग्ने प्रहरी सुत्ने कोठामा राखिएको छ। हिरासत रुंग्ने प्रहरीका दुई वटा कोठा छन्। अहिले दुवै कोठामा सहकारी ठगीका दुई आरोपी छन्। 

एउटा कोठामा पूर्वडीआईजी छविलाल जोशी र अर्को कोठामा रवि लामिछानेलाई राखिएको छ। 

जोशीलाई पहिलो दिन हिरासतमै राखिएको थियो। तर बिरामी परेपछि उनलाई अस्पताल लगिएको थियो। डाक्टरले चिसोबाट जोगिनु भनेपछि उनलाई हिरासतमा ड्यूटी गर्ने प्रहरी सुत्ने कोठामा राखिएको थियो। 

केही दिन त्यहाँ राखेपछि जोशी फेरि अस्फताल भर्ना भए। उनी फिस्टेल अस्पताल पोखरामा भर्ना भएका थिए। तर उनलाई शुक्रबार बेलुका भने पहिलेकै कोठामा फर्काइएको छ। 

जोशीलाई गार्ड सुत्ने एउटा कोठामा र अर्को कोठामा लामिछाने छन्। यी दुवै कोठामा हिरासतमा डीयूटी गर्ने प्रहरी पनि सुत्छन्। यी कोठाभित्र खाटसहितको सुत्ने व्यवस्था छ।

लामिछाने भएको कोठामा हवल्दार र जवान सुत्छन्। जोशीको कोठामा पनि एक जना हवल्दार र जवान सुत्ने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकारीले बताए। 

‘उहाँहरु अहिले हाम्रै प्रहरीसँग बस्नुहुन्छ। दिनभरि प्रहरी डीयूटी गर्छन् र बेलुका पूर्व गृहमन्त्री र पूर्व डीआईजीलाई सल्युट गरेर सँगै सुत्छन्’, प्रहरीका ती अधिकारीले भने। 

जोशीलाई असोज ६ गते काठमाडौँमा पक्राउ गरेर जहाजमा पोखरा लगिएको थियो। लामिछानेलाई गत शुक्रबार पक्राउ गरिएको हो। उनीहरु दुवै जनाले सहकारीका बचतकर्तालाई ठगेको भन्दै गत वर्ष माघमा उजुरी परेको थियो।

यसअघि नै उजुरी परेर जीबी भनिने गितेन्द्रबाबु राईसहितका प्रतिवादीविरुद्ध अदालतमा मुद्दा बिचाराधीन छ। तर छवि र रविविरुद्ध भने पुरक जाहेरी परेको हो। 

पुरक जाहेरी परे पनि रवि लामिछाने गृहमन्त्री भएका कारण प्रहरीले अनुसन्धान अगाडी बढाउन सकेको थिएन। रवि गृहमन्त्रीबाट हटेपछि अनुसन्धानले गति लिएको हो। 

गत शुक्रबार अदालतबाट अनुमति लिएरै प्रहरीले रविलाई पक्राउ गरेको हो। अरु १३ जनालाई पनि पक्राउ गर्न अदालतले अनुमति दिइसकेको छ। 

रवि र छविविरुद्ध प्रहरीले सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान अगाडी बढाएको छ। यस्तै सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा चलाउने तयारी छ। 

गत शुक्रबार छविलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। रविलाई भने आइतबार अदालत पुर्‍याइएको छ। प्रहरीले छविलाई जति नै म्याद माग्ने छ।

रविलाई पनि शुक्रबारबाट गणना हुने गरी पहिलो पटक ५ दिन हिरासतमा राख्न अनुमति मागिएको छ। 

यसअघि पक्राउ पुर्जी जारी गर्दा अदालतले उनीहरुलाई पक्राउ गरेर बयान लगायतका अनुसन्धान गर्नुपर्ने प्रहरीको माग मनासिव देखिएको भन्दै अनुमति दिएको थियो। 

रवि पक्राउ परेपछि रास्वपाका कार्यकर्ताले पोखरामा नाराबाजी गरिरहेका छन्। रवि लामिछाने लगायतबाट ठगिएका सहकारी पीडितले पनि प्रदर्शन गरेपछि पोखरा तनावग्रस्त बनेको छ। 

प्रशासनले निशेधाज्ञा जारी गरिसकेको छ। 

यता लामिछानेलाई हिरासतमा राख्न म्याद माग गरेपछि जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा बहस भइरहेको छ। बहसपछि न्यायाधीश दाहालले म्याद थप गर्ने नगर्ने आदेश गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad