समाज


बागलुङका न्यायिक समिति सक्रिय

बागलुङका न्यायिक समिति सक्रिय

नेपालखबर
फागुन २२, २०८१ बिहिबार १४:१०, बागलुङ

स्थानीय तहको न्यायिक निरुपण, असल अभ्यास आदानप्रदान तथा न्यायिक क्षेत्रलाई चलायमान बनाउन बागलुङका स्थानीय तहका न्यायिक समिति सक्रिय भएका छन्।

न्यायिक समितलाई कानुनसम्मत बनाउँदै नागरिकका समस्या स्थानीय सरकारबाट निरुपण गर्ने उद्देश्यले यहाँका स्थानीय पालिकाका न्यायिक समितिका संयोजकहरू जुटेका हुन्।

जिल्लाका १० पालिकाका न्यायिक समिति, न्यायिक सहजकर्ता तथा मेलमिलापकर्ताहरूको सहभागितामा भएको दोस्रो न्यायिक सम्मेलनबाट १२ बुँदे घोषणापत्र जारी गरिएको छ। बडिगाड गाउँपालिकाको आयोजनामा वडा नं ७ को पर्यटकीयस्थल थामचौरमा न्यायिक सम्मेलन सम्पन्न गरिएको थियो।

दोस्रो जिल्लास्तरीय न्यायिक सम्मेलनले १२ बुँदे घोषणापत्र र १५ बुँदे आचारसंहिता जारी गरेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक भिमसेन वनले जानकारी दिए। उनका अनुसार न्यायिक निरुपणमा आएका समस्या, कठिनाइ, असल अभ्यासलगायत विषयमा छलफल गरी घोषणापत्र र आचारसंहिता जारी गरिएको हो।

'पालैपालो स्थानीय तहको आयोजनामा न्यायिक सम्मेलन गर्दै जाने न्याय, निरुपणलाई सहज बनाउँदै न्यायका लागि जनताको विश्वास जित्नेलगायत काममा यहाँका स्थानीय तहका न्यायिक समिति जुटेका छन्', वनले भने, 'बडिगाडको पर्यटकीयस्थल थामचौरमा आयोजना गरिएको दोस्रो जिल्लास्तरीय सम्मेलनमा असल अभ्यास सुनाउन छिमेकी जिल्ला गुल्मीको मुसिकोट र मालिका गाउँपालिकाबाट समेत न्यायिक संयोजक आउनुभएको थियो। हामीले नेपालको संविधानको धारा २१७ मा उल्लेख भएबमोजिम स्थानीय सरकारमा न्यायिक समिति रहने संवैधानिक व्यवस्थाअन्र्तगत रहेर प्रविधि मैत्री काम गर्ने, छिटो न्याय सम्पादन गर्ने र गोपनियता कायम गर्ने लगायत विषय समेटेर घोषणपत्र जारी गरेका छौँ।'

न्यायिक समितिको काम, कर्तव्य र अधिकारका विषयमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ देखि ५३ सम्म उल्लेख भएअनुसार संवैधानिक र कानुनी जिम्मेवारीलाई प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन स्पष्ट व्यवहारिक र सर्वस्वीकार्य बनाई नागरिकलाई सहज, न्यायोचित र निष्पक्ष न्याय उपलब्ध गराउन वार्षिक रूपमा न्यायिक सम्मेलन गर्दै आइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए।

उनका अनुसार न्यायिक समितिसँग सहज पहुँच, न्याय सम्पादन प्रक्रियामा कुनै आर्थिक लाभ नलिने, ढिलासुस्ती तथा प्रक्रियागत झन्झट हटाउने, संवेदनशील सूचना गोप्य राखिने, न्यायिक समिति सञ्चालनसम्बन्धी छुट्टै कार्यविधी बनाइने र अन्तर न्यायिक समितिबीच अनुभव आदानप्रदान र असल अभ्यासको अनुसरणलगायत रचनात्मक कार्यलाई नियमित सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ।

साथै समुदायस्तरमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गर्ने, ज्येष्ठ नागरिक, महिला, फरक क्षमता भएका व्यक्ति र पछाडि पारिएका समुदायलाई विशेष प्राथमिकता दिने, न्याय सम्पादनमा राजनैतिक हस्तक्षेप नगर्ने र न्यायिक समितिका पदाधिकारीले संयुक्त रूपमा संशोधनको मस्यौदा प्रस्ताव तयार पारी स्थानीय सरकारको न्यायिक समितिको कार्यसम्पादनमा एकरुपता बनाइने घोषणपत्रमा उल्लेख गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad