समाज


भारतबाट हराएका थिए सुर्खेतका दिदीबहिनी, भक्तपुरमा भेटियो शव

भारतबाट हराएका थिए सुर्खेतका दिदीबहिनी, भक्तपुरमा भेटियो शव

दिनेश बुढा
साउन ८, २०८२ बिहिबार १०:४२, सुर्खेत

आज बिहान भक्तपुरमा मृत फेला परेका सुर्खेत घर हुने दिदीबहिनी भारतबाट हराएको खुलेको छ। 

भक्तपुरको बोडेमा बिहीबार बिहान मृत फेला परेकी १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल सुर्खेतको पञ्चपुरी नगरपालिका–८ तिनकुनेका स्थायी वासिन्दा हुन्। 

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा मेनुनका र सिर्जनाको शव फेला परेको हो। दुई तले ट्रष्टको घरको भुइँ तलामा उनीहरूको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका दिए। 

सुर्खेतकाे पञ्चपुरी नगरपालिका–८ का वडाध्यक्ष दिपककुमार थापाले शव फेला परेका दिदीबहिनी आफ्नै वडाको तिनकुने दुलालथाई गाउँका भएको जानकारी दिए। 

वडाध्यक्ष थापाले नेपालखबरसँग भने, ‘ती दिदीबहिनीका बुवाको नाम बालाराम (बासुदेव) कँडेल हो। उनी श्रीमतिसँगै रोजगारीको लागि भारतमा बस्दै आएका छन्। ती दिदीबहिनीका दुईजना अंकल चाँही कोरियामा छन्।’

वडाध्यक्ष थापाले उनीहरू केही समयअघि भारतबाटै हराएको खबर आफूले पाएको जानकारी दिए। 

मृतक दिदीबहिनीकी आमा उमा कँडेलले तीन साताअघि छोरीहरू मुम्बईको मिरा भाईन्दरबाट हराएको भन्दै स्थानीय सिगास टेलिभिजनलाई अन्तरवार्ता दिएकी थिइन्। 

उमा कँडेलले अन्तर्वार्ताका क्रममा छोरीहरू कम्प्युटर क्लास जान्छु भनेर घरबाट निस्किएको बताएकी छन्। उनले भनेकी छन्, ‘घरबाट कम्प्युटर कक्षा जान्छु भनेर निस्केका हुन्। कम्प्युटर कक्षाबाट घर आउँने समय ७ बजे हो। सात बज्येसम्म हेर्‍याैँ। घर नआएपछि फोन गरेँ। तर, लागेन्। कक्षामा भएको बेला फोन नलागेको होला भनेर भ्वाइस म्यासेज छोडेँ। नानीहरू घर आएर रोटी बनाउनु, खाना पकाउनु म काममा गएँ भनेर।’

त्यसपछि उनीहरूले पनि भ्वाइस म्यासेज पठाउँदै भनेका थिए, ‘हामी यहाँ छैनौँ। ब्यङ्लोर गयौँ। हामी पैसा कमाएपछि तपाईंलाई भेट्छौँ। त्यसभन्दा अगाडी भेट्न सक्दैनौँ’

त्यो म्यासेज कान्छी सिर्जनाले गरेकी थिइन्। 

छोरीले त्यसो भनेपछि उमाले श्रीमानलाई फोन गरेर त्यसको जानकारी दिएकी थिइन्। त्यसपछि कँडेल दम्पतिले छोरीहरूको खोजीको लागि सबैतिर आग्रह गरेका थिए। 

‘म काममा थिएँ। पछि घर गएर हेर्दा छोरीहरूले आफ्ना सबै लुगा, पैसा लगेका रहेछन्। यताउता हेर्दा देखिँन। आफन्तकोमा फोन गर्‍याैँ। भेटिएनन्। पछि प्रहरीलाई खबर गर्दा नेपालतिर गइरहेको भन्यो,’ उमाले भनेकी छन्। 

कँडेलको परिवार लामो सयमदेखि भारतमा बस्दै आएको वडाध्यक्ष थापाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad