बिहीबार साँझ सोलुखुम्बुमा बोलेरो गाडी दुर्घटना हुँदा ज्यान गुमाउने तीन जनामध्ये दुई जनाको मात्रै पहिचान खुलेको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।
साँझ साढे ६ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको ११ जना सवार बोलेरो गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए।
माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुना भन्ने ठाउँबाट गाडी सडकबाट करिब पाँचसय मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये महाकुलुङ गाउँपालिका-३ छेस्काम घर भएकी १६ वर्षीया हबी राई र सोही ठाउँकी २० वर्षीया शान्ति राईको मात्रै सनाखत भएको कुँवरले जानकारी दिए। ‘मृतक एक किशोरीको पहिचान खुलेको छैन, हामी पहिचानको प्रयास गरिरहेका छौँ,’ डीएसपी कुँवरले भने।
दुर्घटनामा घाइते भएका गाडी चालक महाकुलुङ-३ घर भएका ३२ वर्षीय श्रीध्वज राईको अवस्था गम्भीर छ।
त्यसैगरि महाकुलुङ ४ की १६ वर्षीया गंगा राई, सोही ठाउँकी १८ वर्षीया बस्तीकला राई, १६ वर्षीया समया राई, वर्ष १६ कै सजना राई र १० वर्षीय उमेश राई दुर्घटनामा घाइते भएका छन्।
घाइतेहरुको जिल्ल अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा दुईजना भने सकुशल छन्।
खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको गाडी फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया