नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (फेब्रुअरी १४) प्रेम दिवस (भ्यालेन्टाइन्स डे) का दिन आफ्नी दिवंगत पत्नी सीता दाहाल सम्झेर भावुक भएका छन्।
अझै पनि श्रीमती सीता आफ्नो साथमा छैन भन्ने विश्वास नलाग्ने उल्लेख गर्दै प्रचण्डले ५५ वर्षसम्म सँगै बिताएका पल सम्झिएका छन्।
‘जीवनका ५५ वसन्त हामीले सँगै बितायौँ। जीवन-मृत्युका अनेक उतारचढावमा तिमीले जीवनसंगिनीका रूपमा दिएको साथ, उकाली-ओराली र कुनाकन्दरामा खुट्टाका फोकालाई समेत नजरअन्दाज गर्दै हरेक पाइला साथ दिएको ती अमूल्य क्षणहरूको म सधैँ ऋणी रहनेछु’, फेसबुकमा पत्नी सीतालाई अँगालो मारेको तस्बिर राख्दै प्रचण्डले लेखेका छन्, ‘तिमी भौतिक रूपमा आज मसँग छैनौ भन्ने कुरा अझै विश्वास लाग्दैन, तर सत्य स्वीकार्नुको विकल्प पनि छैन।’
उनले अगाडि लेखेका छन्, ‘महिला हकका लागि तिमीले दिएको साथ, प्रेरणा र दृढता अविस्मरणीय छन्। बाँकी जीवन रहेसम्म महिला अधिकार तथा उत्पीडित वर्गको हकहितका लागि म निरन्तर लडिरहनेछु, यो नै तिमीप्रतिको मेरो सच्चा श्रद्धाञ्जली हुनेछ।’
प्रिय सीता,
आज प्रणय दिवस!!
तिमीप्रति उच्च सम्मानसहित स्नेहपूर्ण सम्झना।
जीवनका ५५ वसन्त हामीले सँगै बितायौँ। जीवन-मृत्युका अनेक उतारचढावमा तिमीले जीवनसंगिनीका रूपमा दिएको साथ, उकाली-ओराली र कुनाकन्दरामा खुट्टाका फोकालाई समेत नजरअन्दाज गर्दै हरेक पाइला साथ दिएको ती अमूल्य क्षणहरूको म सधैंँ ऋणी रहनेछु।
हामीले सँगै बिताएका हरेक पल मेरा मनमस्तिष्कमा जीवन रहेसम्म सधैँ ताजा रहनेछन्। तिमी भौतिक रूपमा आज मसँग छैनौ भन्ने कुरा अझै विश्वास लाग्दैन, तर सत्य स्वीकार्नुको विकल्प पनि छैन।
महिला हकका लागि तिमीले दिएको साथ, प्रेरणा र दृढता अविस्मरणीय छन्। बाँकी जीवन रहेसम्म महिला अधिकार तथा उत्पीडित वर्गको हकहितका लागि म निरन्तर लडिरहनेछु, यो नै तिमीप्रतिको मेरो सच्चा श्रद्धाञ्जली हुनेछ।
हार्दिक श्रद्धासुमनसहित,
Happy Valentine’s Day, सीता!!
Shares

प्रतिक्रिया