कप्तान रुविना क्षत्रीको अर्धशतक मद्दतमा दोस्रो टि–२० आई खेलमा नेपालले कतारसामु १ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ।
दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रनको योगफल तयार पारेको हो।
नेपालका लागि कप्तान रुविना क्षेत्रीले अर्धशतक प्रहार गरिन्। ४८ बलको सामना गरेकी कप्तान रुविनाले ४ चौका र १ छक्का हान्दै अर्धशतक पुरा गरेकी हुन्। रुविना अन्त्मि ओभरको चौथो बलमा क्याच आउट हुन पुगिन्।
ओपनर कविता कुँवरले ३१ को योगदान दिईन्। ३० बलको सामना गरेकी उनले २ छक्का प्रहार गरिन्। अप्सरी वेगम २३ र कविता जोशी शुन्य रनमा नटआउट रहे।
अप्सरीले १७ बलमा १ चौका हानिन्। ज्योति पाण्डेले ६, सरिता मगरले ४ र काजल श्रेष्ठले ३ रन थपे। डोली भट्ट शुन्य रनमा रन आउट भइन्।
कतारका लागि एन्जेलिना मेरीले २ तथा एलिना खान, सविजा पनायाम र साची डाडवालले एक एक विकेट लिए।
नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले हराएको थियो। नेपाल र कतारबीचको तेस्रो खेल बिहीबार हुनेछ।
आइसिसी वुमन्स टि–२० एसिया छनोटको तयारीका लागि नेपालले कतारसँग तीन टि२० आई सिरिज खेलेको हो।
सिरिजपछि नेपाली टोली शुक्रबार युएईतर्फ जानेछ। सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपका लागि एसिया छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन्।
नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ। मंसिर ७ गते भुटानसँग, ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग खेल्ने तालिका छ। छनोट खेलको विजेताले अर्को वर्ष हुने टि–२० ग्लोबल छनोट खेल्नेछ।
Shares

प्रतिक्रिया