ad ad

खेल


यी हुन् क्यानमा सचिव र उपाध्यक्ष पदका आकांक्षी

यी हुन् क्यानमा सचिव र उपाध्यक्ष पदका आकांक्षी

यज्ञराज जोशी
पुस १७, २०७८ शनिबार १६:५३, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) मा सचिव र उपाध्यक्षका आकांक्षीहरुले आ–आफ्नो पक्षमा माहौल बनाउँन छलफल र भेटघाट तीव्र बनाएका छन्। 

तत्कालिन सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजाबाबु श्रेष्ठले राजीनामा दिएपछि रिक्त रहेका ती स्थानमा आगामी साधारणसभाले पदपूर्ति गर्नेछन्। 

यसअघि पुस १४ र १५ गते तय भएको क्यानको साधारणसभा विभिन्न २० जिल्लाको ४ वर्षे अवधि सकिएपनि साधारणसभा हुन बाँकी रहेको भन्दै विवाद उत्पन्न भएपछि पछाडि धकेलिएको छ। 

क्यानले माघ ७ सम्म ती २० जिल्लालाई साधारणसभा गरिसक्न निर्देशन दिएको छ। जिल्लाहरुले माघ ७ गतेसम्म साधारणसभा सकेपछि तत्काल बोर्ड बैठक बसेर साधारणसभाको मिति घोषणा गर्ने क्यानको तयारी छ। 

उक्त साधारणसभाले क्यानको नयाँ सचिव र उपाध्यक्ष चयन गर्नेछ। जसमा अध्यक्ष चतुरबहादुर चन्द तथा विद्रोही मानिएका काठमाडौं अध्यक्ष अमितवीर पाण्डेको समूहले आ–आफ्नो पक्षका उम्मेदवार उठाउने पक्का छ। 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)सँग प्रत्यक्ष सम्पर्कमा रहने, कार्यकारी अधिकारको प्रयोग गर्न पाउने, एजेन्डा निर्माण गर्ने, निर्णय प्रक्रियामा बलियो भूमिका हुने भएकाले सचिव पदमा दुवै समूहले आ–आफ्नो व्यक्तिलाई जिताउन हरसम्भव प्रयास गरिरहेका छन्। 

त्यसका लागि साधारणसभामा प्रतिनिधि पठाउने निर्वाचन हुन बाँकी जिल्लाबाट आ–आफ्नो मान्छे ल्याउन दुवै समूहले बैठक, छलफल, दौडधुप तीव्र पारेका छन। 

अध्यक्ष चन्दको प्यानलबाट सचिव पदमा वर्तमान कार्यवहाक सचिव प्रशान्तविक्रम मल्ल उठ्ने पक्का भइसकेको छ। साधारण सदस्यबाट सिधै कार्यवाहक सचिवमा ल्याइएका मल्ललाई नै सचिवमा उठाउने तयारी अध्यक्ष चन्द पक्षको छ। पछिल्लो समय चारजना खेलाडीहरुमाथि कारबाहीको विषयमा अध्यक्ष चन्द र मल्ल एक ठाउँमा उभिएका थिए। 

‘चन्द प्यानलबाट मल्ल सचिव पदका निर्विकल्प उम्मेदवार हुन। उनले कार्यवहाक सचिवको भूमिका पनि निर्वाह गरिसके र अध्यक्ष जीसँग पनि उनको सम्बन्ध निकै घनिष्ट छ,’ मल्ल निकट क्यानका एक कार्यसमिति सदस्यले नेपालखबरसँग भने। 

मल्ललाई क्यानको दुईवर्षअघि भएको क्यानको चुनावमा सर्वाधिक मत ल्याएका कोषाध्यक्ष रोशन सिंहको पनि दरिलो साथ छ। अध्यक्ष चन्द र कोषाध्यक्ष सिंहबाट ग्रिन सिंंग्नल पाएपछि मल्लले आफ्नो पक्षमा लबिङ गर्न थालिसकेका छन। 

मल्लले पनि बोर्डले अहिले कार्यवाहक दिनुको अर्थ ‘भविष्य’ हेरेर नै दिएकाले आफू सचिवको उम्मेदवार हुने जनाएका छन्। 

‘बोर्ड साथीभाईले अहिले कार्यवहाक सचिवको जिम्मेवारी दिनुको अर्थ पक्का पनि भविष्य हेरेर दिनुभएको होला,’ मल्लले नेपालखबरसँग भने, ‘चुनाव भएपछि साथीभाइको विश्वास गरेकाले म सचिव पदमा उठ्ने लगभग निश्चित छ।’ 

यता विद्रोही मानिएको समूहको साथ लिएर नेपाली राष्ट्रिय क्रिकेट टोलीको पहिलो कप्तान उत्तम कर्माचार्य सचिवमा उठ्ने जनाइसकेका छन्। सचिव पदमा उठ्नकै लागि उनले राष्ट्रिय टोलीको मुख्य छनोटकर्ताको पदबाट राजीनामा समेत दिएका छन्। 

‘मैले सचिव पदमा उठ्ने निर्णय गर्दै राजीनामा दिएको हुँ। दुबै पदमा बस्नु नैतिकताले पनि दिँदैन,’ कर्माचार्य भन्छन्, ‘आगामी साधारणसभामा मेरो सचिव पदमा उम्मेदवारी रहनेछ। सचिव भएमा सबैलाई मिलाएर लैजानका लागि पनि मैले सचिव पदमा उम्मेदवारी दिन लागेको हुँ।’ 

२०७६ सालमा भएको क्यानको चुनावमा आफूपनि अध्यक्ष चन्दकै साथमा रहेकाले उनीहरुको साथ मिल्ने विश्वास कर्माचार्यको छ। 

उपाध्यक्षमा तीन जना
क्यानको उपाध्यक्ष पदका लागि भर्खरै काठमाडौं जिल्ला क्रिकेट संघबाट सदस्यमा मनोनित भएका दिवाकर घले, कैलालीबाट मनोनित भएका रतन कठायत र तनहुँ जिल्लाका साधारणसभा प्रतिनिधि तथा हिमालय क्रिकेट एकेडेमीका सञ्चालक सुदीप शर्माको चर्चामा छ। 

कठायत अध्यक्ष चन्द पक्ष, घले विद्रोही पक्षबाट उम्मेदवार बन्न लागेका हुन। शर्मा यही समूहबाट भन्ने खुलेको छैन्। 

घलेले सबै साथीभाईले साथ दिएमा आफू उम्मेदवार हुने बताए। ‘टिम मिल्यो, साथीभाईले सहयोग गरे भने जाने हो,’ घलेले नेपालखबरसँग भने, ‘साथीभाईसँग सरसल्लाह गर्छु। सबैले ‘घले दाई’ चाहिन्छ भन्यो भने जान्छु। हैन भने हार्ने गरी त जादिँन।’

यद्यपी कार्यसमितिमा आउन कै लागि काठमाडौं जिल्लामा उनी मनोनित सदस्यका रुपमा आएका हुन। काठमाडौंले उनलाई साधारणसभा प्रतिनिधिका रुपमा मनोनित गरेर समेत पठाउने तयारी गरेको छ। 

घलेसँगै कठायतलाई आइसीसीले अघिल्लो चुनावमा पेस्की फच्र्छौट नगरेको भन्दै सहभागि हुन रोक लगाएको थियो। तर कार्यसमितिमा आउने चाहनाकै कारण कठायत पनि कैलालीको जिल्ला सदस्य मनोनित भएका छन्। कैलालीले पनि उपाध्यक्षमा दाबी गरिरहेका कठायतलाई साधारणसभा प्रतिनिधिका रुपमा पठाउने तयारी गरेको छ। 

मदन भण्डारी स्पोर्टस एकेडेमीसँगै लामो समयदेखि हिमालय क्रिकेट एकेडेमी सञ्चालन गर्दै आएका शर्मा फुटबलमा पनि आवद्ध छन्। नेपालको पहिलो फ्रेन्चाइजी प्रतियोगिता नेपाल सुपर लिगको आयोजक समेत रहेका शर्माले सबैको साथ रहेमा उपाध्यक्षमा उठ्ने तयारीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .