खेल


युक्रेनमाथि आक्रमणपछि खेलकुदबाट पनि एक्लियो रुस

युद्धको मारमा रुसी खेलाडी, झेल्दै एकपछि अर्को प्रतिबन्ध
युक्रेनमाथि आक्रमणपछि खेलकुदबाट पनि एक्लियो रुस

युक्रेनमा रसियन आक्रमणविरुद्ध फ्रान्सेली क्लब पीएसजीका खेलाडी। तस्बिर : एजेन्सी


यज्ञराज जोशी
फागुन २२, २०७८ आइतबार १८:१९, काठमाडौँ

रसियाले युक्रेनमाथि आक्रमण गरेपछि त्यसको प्रभाव खेलकुद क्षेत्रमा पनि देखिएको छ। 

विश्व खेलकुद संस्थाले रुसलाई लगभग सबैखाले खेलकुदबाट प्रतिबन्ध लगाएका छन्। खेल संस्थाहरुको सदस्यता खारेज गरिएको छ, खेलाडी पनि प्रतिबन्धमा परेका छन्। 

युक्रेनमाथि आक्रमण गरेपछि गरेपछि रुसको खेलकुद पनि विश्व समुदायबाट एक्लिएको छ। पछिल्ला घटनाक्रमले रुस खेल विश्वबाट पनि एक्लिन पुगेको छ। 

फुटबल
रसियाका सबै फुटबल क्लब र राष्ट्रिय टोलीमाथि फिफा र युरोपियन फुटबल महासंघ(युइएफए)ले प्रतिबन्ध लगाइसकेको छ। 

अर्को सूचना जारी नभएसम्म विश्वकै यी दुई ठूला फुटबल संस्थाहरुले आयोजना गर्ने विश्वकप, च्याम्पियन्स लिग र युरोपा लिगसहितमा रुस सहभागी हुन पाउने छैन।

त्यहीकारण मार्च २४ मा पोल्याण्डविरुद्ध हुने फिफा विश्वकपको प्ले अफ खेल रसियाले गुमाउनेछ। रुसको महिला राष्ट्रिय टोलीलाई युरो २०२२ मा प्रतिबन्ध लगाइएको छ। यस्तै स्पार्टक मस्को फुटबल क्लबलाई युरोपा लिगबाट निकालिएको छ। 

क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलसमेत युइएफएले रुसबाट फ्रान्स सारिसकेको छ। 

‘युक्रेनका प्रभावित मानिसहरूप्रति सद्भाव राख्दै फुटबल पूर्ण रुपमा एकजुट भएको छ,’ रुसमाथि प्रतिबन्ध लगाउँदै फिफा र युइएफएले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ। 

युरोपियन क्लब एसोसियसनले पनि रसियाका आफ्ना सात सदस्य क्लबहरुलाई निलम्बन गरिसकेको छ। 

रुसलाई साथ दिएको बेलारुसमा पनि घरेलु खेलहरूमा प्रतिबन्ध लगाइएको छ। प्रतिबन्धपछि अब उसले आफ्नो घरेलु खेलहरु तटस्थ भूमिमा खेल्नुपर्नेछ, तर त्यहाँ दर्शकलाई उपस्थिति दिइने छैन। 

रग्बी  
विश्व रग्बी युनियनले पनि आफूले आयोजना गर्ने सबै प्रकारका खेलबाट रसिया र बेलारुसलाई प्रतिबन्ध लगाएको छ। 

रसियाको सदस्यता पनि युनियनले निलम्बन गरेको छ। यस्तै रग्बी युरोपले पनि रुसलाई सबै खेलबाट प्रतिबन्ध लगाउने निर्णयलाई कार्यान्वयन गर्ने भएको छ। जसकारण रुसले यसै वर्ष हुने युरोपियन रग्बी च्याम्पियनसिप गुमाउने भएको छ। 

टेनिस
अन्तर्राष्ट्रिय टेनिस फेडेरेशनले रसियन र बेलारुस टेनिस फेडेरेसनको सदस्यता खारेज गरेको छ। फेडेरेशनले रुसमा हुने सबै प्रतियोगिताहरु रोकेको छ। तर देशको नाम र झन्डाबिनै व्यक्तिगत रुपमा खेल्ने रसियन र बेलारुसका खेलाडीहरुलाई रोकिएको छैन। 

पछिल्लो १८ वर्षमा नोभाक जोकोभिच, राफाल नाडाल, रोजेर फेडेरर र एन्डी मुर्रेपछि रुसका ड्यानियल मेडभाडेभ भर्खरै मात्रै विश्वको नम्बर एक टेनिस खेलाडी बनेका थिए। 

गृष्मकालिन ओलम्पिक
यसअघि नै डोपिङका कारण विश्व एथ्लेटिक्सले रसियन एथ्लेटिक्स फेडेरेसनलाई प्रतिबन्ध लगाइसकेको छ। तर खेलाडीहरुलाई टोकियो ओलम्पिकको ट्रयाक एण्ड फिल्डमा तटस्थ खेल्न दिइएको  थियो। 

तर, रसियाले युक्रेनमाथि आक्रमण गरेसँगै एथ्लेटिक्सको सर्वोच्च निकायले पनि रुस र बेलारुसका सबै खेलाडी, अफिसियललाई आफूले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागिता नगराउने भएको छ। 

यस्तै पौडीको सर्वोच्च निकाय फिनाले २०१४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिएको अवार्ड फिर्ता गरेको छ। विश्व तेक्वान्दो महासंघले २०१३ मा दिएको मानार्थ ब्ल्याक बेल्टको उपाधि पनि पुटिनबाट खोसिएको छ। 

भलिबल
विश्व भलिबलको सर्वोच्च निकायले अगष्ट र सेप्टेम्बरमा रुसमा आयोजना तय भएको विश्व भलिबल च्याम्पियनसिपको आयोजना अधिकार पनि खोसेको छ। च्याम्पियनसिपको आयोजकबारे आगामी दिनमा जानकारी दिने महासंघले जनाएको छ। 

अन्य खेलकुद
साइक्लिङ सर्वोच्च संस्था निकायले पनि रुस र बेलारुसमाथि प्रतिबन्ध लगाएको छ। 

विश्व आर्चरीले पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा रुस र बेलारुसको झण्डा र राष्ट्रिय गान प्रयोग गर्न नदिने भएको छ। 

ब्याडमिन्टन विश्व फेडेरेसन, अन्तर्राष्ट्रिय बास्केटबल फेडेरेसन, अन्तर्राष्ट्रिय बक्सिङ एसोसिएसन, जिन्म्यास्टिक, जुडो लगायतले पनि रुस तथा बेलारुसका खेलाडीहरूमाथि प्रतिबन्ध सुनाइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .