ad ad

खेल


एनएसएलको दोस्रो संस्करणका १० मार्की खेलाडी

एनएसएलको दोस्रो संस्करणका १० मार्की खेलाडी

लक्ष्मी जि.सी
फागुन २७, २०७८ शुक्रबार ७:३९, काठमाडौँ

घरेलु क्रिकेटमा फ्रेन्चाइज लिग स्थापित भइसकेको छ। यद्यपि कोरोना महामारीका कारण डीपीएल र पीपीएल हुन सकेन।

ईपीएल भने यो वर्ष आयोजना भइसकेको छ। फुटबलमा भने फ्रेन्चाइज लिग स्थापित हुने क्रम देखिएको छ। यद्दपी यसपटक पहिलो संस्करण जस्तो एनएसएल विवादरहित भने रहन सकेन। खेलाडीको दोहोरो अनुबन्धनका कारण कठिनाइ हुन सक्ने भन्दै सहिद स्मारक ए डिभिजन लिगका ८ क्लबले असहमति जनाउँदै संयुक्त विज्ञप्ति नै जारी गरेका थिए।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले तत्कालका लागि रोक्नु भन्ने पत्र जारी गर्दा पनि एनएसएल आयोजकले खेलाडीको अक्सन गरि छाडेको छ। पूर्व निर्धारित समयमा भएको अवस्थामा अबको एक महिनामा नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण सुरु हुनेछ। ३ नयाँ टोलीसँगै चैत २६ गतेबाट सुरु हुने लिगमा यसपटक १० टोलीले प्रतिस्पर्धा गर्दै छन्। १० टोलीले मार्की खेलाडीको छनोट गरिसकेका छन् भने अक्सनबाट खेलाडी लिने प्रक्रिया पनि गत साता सकिएको छ। 

टोलीको केन्द्रबिन्दुका रुपमा रहने मार्की खेलाडीका लागि एनएसएलको आयोजक  नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्टले २० खेलाडीको नाम सार्वजनिक गरेको थियो। जसमा व्यावसायिक फुटबलका लागि माल्दिभ्समा रहेका राष्ट्रिय टोलीका कप्तान गोलरक्षक किरण चेम्जोङ र इन्डोनेसियामा रहेका रोहित चन्दको पनि नाम समावेश थियो। 

तर, उनीहरु कुनै टोलीको मार्की खेलाडीका रुपमा घोषणा गरिएन। किरणले पहिलो सिजन धनगढी एफसीबाट एनएसएल खेलेका थिए। किरण र रोहितबाहेक १८ बाट १० खेलाडी मार्की खेलाडी चुनिएका छन्। बाँकी खेलाडी भने अक्सनबाट विक्री भए।  मार्की खेलाडीको सम्झौता रकम उल्लेख भने कुनै पनि टोलीले गरेका छैनन्। यद्यपि अधिकांश मार्कीले ५ लाख रुपैयाँ भन्दा बढीमा सम्झौता गरेको बताइन्छ। नयाँ टोली झापा एफसीले भने राष्ट्रिय टोलीका सदस्य एवंम मनाङ मर्स्याङ्दी क्लबका कप्तान अन्जन विष्टलाई १० लाख रुपैयाँ भन्दा बढी खर्च गरेको चर्चा छ।

अन्जन गत सिजन ललितपुर एफसीको मार्की खेलाडी थिए। फ्रेन्चाइज टोली होस् वा मार्की खेलाडीले सम्झौता रकमका बारेमा बताउन चाहँदैनन्। 

मार्की हुने १० खेलाडीमध्ये अधिकांश राष्ट्रिय टोलीका सदस्य छन्। अहिले टोलीमा नरहे पनि कुनै बेला राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। भर्खरै सकिएको सहिद स्मारक ए डिभिजन लिगको प्रदर्शन र राष्ट्रिय टोलीमा रहेकै कारण नै उनीहरु मार्कीका रुपमा छनोट भएको देखिन्छ। 

मार्की खेलाडीमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका खेलाडीको बाहुल्यता छ। तीनै मार्की खेलाडीको लिगमा प्रदर्शन यस्तो रह्यो। 

अन्जन विष्ट (झापा एफसी) 


एनएसएलको पहिलो सिजनमा अन्जन ललितपुरको सिटी एफसीको मार्की खेलाडी थिए। यसपटक उनी झापाको रोजाइमा परे। दोस्रो संस्करणका लागि मार्की घोषणा हुने उनी पहिलो खेलाडी बने। उनलाई ठूलो रकममा झापाले भित्राएको बताइएको छ। उनी यो सिजनका सर्वाधिक महँगा खेलाडी भएको चर्चा फुटबलमा छ। यद्यपि उनको कप्तानीमा रहेको मनाङले लिगमा भने यसपटक सन्तोषजनक प्रदर्शन गर्न सकेन।

पाँचौं स्थानमा रहँदै लिगको अन्त्य गरेको मनाङबाट अन्जनले १३ मध्ये १२ खेल खेले। सबैमा उनी पहिलो रोजाइमा थिए। त्यसक्रममा उनले १ हजार ८० मिनेट मैदानमा बिताए। दोहोरो पहेँलो कार्डका कारण उनले एक खेल गुमाएका थिए। लिग भर ५ गोल गरेका उनले ३ गोलमा असिष्ट गरेका थिए। 

सुजल श्रेष्ठ (पोखरा थन्डर्स) 


पोखरा थन्डर्सका मार्की खेलाडी सुजल मछिन्द्र फुटबल क्लबका कप्तान हुन्। गत सिजन सर्वाधिक २ लाख रुपैयाँमा विक्री हुने ८ मध्ये सुजललाई अक्सनबाट पोखराले लिएको थियो।

तर चोटका कारण उनले एनएसएल गुमाए। उनी व्यवस्थापकका रुपमा पोखरामा रहिरहे। यसपटक उनलाई पोखराले झन महत्वका साथ मार्की चुनेको छ। राष्ट्रिय टोलीमा समेत पुनरागमन गरेका मिडफिल्डर सुजल टोलीका आवश्यकता अनुसार लेफ्ट विङ्स वा ब्याक दुवै पोजिसन खेल्न सक्छन्।

उनकै कप्तानीमा मछिन्द्रले लगातार दोस्रोपटक लिग उपाधि जितेको छ। लिगमा मछिन्द्रका १३ मध्ये ११ खेलमा उनी मैदान उत्रिए। १० खेलमा सुरुवाती र अर्को खेलमा भने उनी परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए। दोहोरो पहेलो कार्डका कारण उनले एपिएफ फुटबल क्लबविरुद्ध टोलीको अन्तिम खेल भने गुमाएका थिए। संकटा क्लबविरुद्धको खेल उनले चोटका कारण खेल्न सकेनन्। सुजलले थ्रीस्टारविरुद्धको खेलमा गोल गरे। २ खेलमा असिष्ट दिएका थिए। 

विशाल राई (धनगढी एफसी)


राष्टिय टोली र मछिन्द्रका मिडफिल्डर विशाल लाई धनगढी एफसीले यो सिजन पनि मार्की खेलाडीमा निरन्तरता दिएको छ। उनको कप्तानीमा धनगढी पहिलो सिजनको फाइनल पुगेको थियो। मछिन्द्रलाई लिग उपाधि जिताउने क्रममा उनले टोलीका १३ मध्ये ११ खेल खेले। ११ खेलमा उनले ९ सय ६५ मिनेट मैदानमा बिताए। लिगमा उनले ३ गोलमा असिष्ट दिएका थिए। 

विशाल श्रेष्ठ (बुटवल लुम्बीनी एफसी) 


बुटवल लुम्बिनी एफसीले राष्ट्रिय टोली तथा मछिन्द्रका गोलरक्षक विशाललाई यसपटक पनि मार्की खेलाडीका रुपमा निरन्तरता दिएको छ। घरेलु फुटबलमा उच्च प्रदर्शन गरिरहेका उनी मार्की चुनिने दुई गोलकिपर मध्ये एक हुन्। सहिद स्मारक ए डिभिजन लिगमा नयाँ शक्तिका रुपमा उदाएको मछिन्द्रको गोलपोष्ट सम्हाल्ने क्रममा लिगका १३ मध्ये ११ खेलमा विशालले क्लिनसिट राखेका थिए। सबै १३ खेलमा उनले पोष्ट सम्हाले। उनले ११ सय ७० मिनेट मैदानमा बिताएका थिए। विशालले लिगमा एपीएफ र एनआरटीविरुद्धको खेलमा मात्र गोल खाए। एनएसएलमा गत संस्करण बुटवलले प्लेअफसम्म पुग्दा खेलेका सबै सात खेलमा विशालले पोष्ट सम्हालेका थिए। 


रञ्जित धिमाल (विराटनगर सिटी एफसी) 


मोरङका रन्जित धिमाल यो सिजन पनि विराटनगरको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन्। मछिन्द्र फुटबल क्लबका डिफेन्डर रञ्जितले लिगका सबै खेल खेले। १३ खेलमा १ गोल गरेका उनले समान १ खेलमा असिष्ट दिए। जावलाखेल युथ क्लबविरुद्धको खेलमा पेनाल्टीमा गोल गरेका उनले च्यासल युथ क्लबविरुद्धको खेलमा असिष्ट दिएका थिए। लिगका १३ खेलमा उनले ९३३ मिनेट मैदानमा बिताउँदा एउटा पहेँलो कार्ड खाए। 

विमल घर्ती मगर ( ललितपुर सिटी एफसी)


ललितपुर सिटी एफसीले चोटमुक्त भएर फुटबलमा पुनरागमन गरेका विमललाई मार्की खेलाडीका रुपमा प्रस्तुत गरेको छ। विमल एनएसएलको पहिलो अनुभव बटुल्ने क्रममा छन्। लिग च्याम्पियन मछिन्द्रका महत्वपूर्ण सदस्य समेत रहेका विमलले माघमा राष्ट्रिय टोलीमा पुनरागमन गरेकै खेलमा मोरिससविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गोल गरेका थिए। 

चोट र प्रतिबन्धका झण्डै वर्ष दिन मैदान बाहिर रहेका विमलले लिगबाट आफू पुरानै लयमा फर्केको संकेत गरेका छन्। लिगमा मछिन्द्रका लागि १२ खेल खेलेका विमल ६ खेलमा सुरुवाती रोजाइमा खेले भने ६ खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान पसे। उनले  लिगमा ७६० मिनेट मैदानमा बिताए। लिगमा ४ गोल गरेका विमलले दुई गोलमा असिष्ट दिए। 

देवेन्द्र तामाङ (वीरगन्ज युनाईटेड एफसी)


एनएसएलको नयाँ टोली वीरगन्जले राष्ट्रिय टोली र मछिन्द्रका देवेन्द्र तामाङलाई मार्की खेलाडीका रुपमा प्रस्तुत गरेका छन्। मछिन्द्रलाई लिग उपाधि दिलाउन रक्षापंक्तिमा शसक्त प्रदर्शन गरेका टोलीको सबै १३ खेलमा पहिलो रोजाइमा परेका थिए। गोलकिपर विशालले जस्तै उनले पनि लिगमा ११ सय ७० मिनेट मैदानमा डटे। उनले लिगमा २ गोलमा असिष्ट पनि गरेका थिए। 

विकेश कुथु (काठमाडौँ रेजर्स)


काठमाडौँ रेजर्सले एनएसएलको दोस्रो संस्करणमा पनि त्रिभुवन आर्मी फुटबल क्लब गोलरक्षक विकेशलाई मार्की खेलाडीको रुपमा निरन्तरता दिएको छ। साविक विजेता समेत रहेको काठमाडौंले विकेशकै नेतृत्वमा उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ। दोस्रो स्थानमा रहँदै लिगको अन्त्य गरको आर्मीका लागि विकेशले १३ मध्ये १२ खेल खेलेका थिए। हिमालयन शेर्पाविरुद्धको खेलमा रातो कार्ड पाएका कारण उनले अर्को खेल प्रतिबन्धमा बिताउनु परेको थियो। १२ मध्ये ५ खेलमा क्लिनसिट राखेका उनले लिगमा ७ खेलमा भने गोल खाए। १२ खेलमा १ हजार ७७ मिनेट उनले मैदानमा बिताए। 

अनन्त तामाङ (एफसी चितवन)


राष्ट्रिय टोली तथा थ्रीस्टार क्लबका रक्षक अनन्त तामाङको एफसी चितवनको मार्की खेलाडीका रुपमा आबद्ध भएका छन्। एनएसएलमा उनी पहिलो पटक खेल्ने तयारीमा छन्। पहिलो सिजनमा उनी चोटका कारण मैदान बाहिर थिए। अनन्तले यसपटक लिगका १३ मध्ये ७ खेल मात्र खेले। लिगमा ६ सय १६ मिनेट मैदानमा बिताउने क्रममा उनले १ गोल गरे। लिग चल्दै गर्दा उनी इन्डियन सुपर लिग (आईएसएल) टोली स्पोर्टिङ क्लब इष्ट बंगालमा आबद्ध भए। उनले शनिबार आईएसएलमा डेब्यू पनि गरे। आईएसएल खेल्ने उनी पहिलो नेपाली बनेका छन्। 

तेज तामाङ (स्पोर्टिङ इलाम)


एनएसएलको पहिलो सिजनमा काठमाडौ रेजर्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका तेज नयाँ टोली स्पोर्टिङ इलामको मार्की खेलाडी बनेका छन्। नेपाल पुलिस क्लबका मिडफिल्डर तेज पहिलोपटक मार्की खेलाडीका रुपमा चुनिएका हुन्। 

राष्ट्रिय टोलीका समेत महत्वपूर्ण सदस्य रहँदै आएका उनले पुलिसका लागि लिगमा १३ मध्ये १२ खेल खेलेका थिए। उनले १ हजार ७२ मिनेट मैदानमा बिताएका थिए। लिगमा तीन पहेँलो कार्ड पाएका उनले दुई गोलमा असिष्ट दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .