सहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरणअन्तर्गत चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटारबीचको खेलमा तनाव भएको छ।
दुई टीमका खेलाडीबीच तनाव हुँदा खेल नै केहीबेर रोकियो।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबारको पहिलो खेलको इन्ज्युरी समयमा विवाद भएपछि खेलमा तनाव सुरु भएको हो।
खुमलटारका अफिसियल र बेन्चमा रहेका खेलाडीले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाएपछि विवाद सुरु भएको थियो।
खुमलटारका अफिसियल र बेन्चका खेलाडीहरु रेफ्रीलाई हातपात गर्न नै मैदान प्रवेश गरेका थिए। खुमलटारका अफिसियल र खेलाडीले रेफ्रीलाई अपशब्द प्रयोग गरेका थिए।
विवादपछि रेफ्री प्रज्वल क्षेत्रीले खुमलटारका तिन अफिसियल र बेन्चका एक खेलाडीलाई सिधै रातो कार्ड दिएका थिए।
तर रातो कार्ड पाएपछि पनि खुमलटारका अफिसियलले बेन्च छाड्न नमान्दा रेफ्रीले सुरक्षा कारण देखाउँदै खेल रोकेका थिए।
विवादका कारण मैदानमा प्रहरी नै बोलाइएको थियो। प्रहरी आएपछि मात्रै खेल सुरु भएको छ।
खेलको पहिलो हाफ जारी रहँदा चर्च ब्वाइजले १–० को अग्रता बनाएको छ।
खेलको १३ औं मिनेटमा एरिक विष्टको फ्रिकिकमा सुशील शाहको गोलमा चर्चब्वाइजले सुरुवाती अग्रता बनाएको थियो।
खेलको २५ औं मिनेटमा खुमटारका मेसुके अन्मान्डको पेनाल्टी पोष्टमा लाग्दा गोलको सुन्दर मौकालाई सदुपयोग गर्न सकेनन्।
२४ औं मिनेटमा चर्च ब्वाइजका गोलरक्षक प्रिसोले मेसुकेलाई पेनाल्टी एरियामा धकेलेपछि रेफ्रीले खुमलटारलाई पेनाल्टीको मौका दिएका थिए।
पहिलो हाफको इन्ज्युरी समयमा जोस्जे ओउसु बेम्प्हाले गोल गर्दै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाएका छन्।



Shares

प्रतिक्रिया