न्युजिल्यान्डका बलिङ अलराउन्डर स्कट कुगेलेइनले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।
न्युजिल्यान्डका लागि टेस्ट, ओडीआई र टि२०आई तीनै फर्म्याटमा खेलेका स्कटले पछिल्लो पटक यसै वर्ष मार्चमा अष्ट्रेलियाविरुद्ध टेस्ट खेलेका थिए।
कुगेलेइनको आगमनले टोलीको बलिङ थप मजबुत हुने विश्वास टिमले लिएको छ। सुदूरपश्चिम रोयल्सले पनि अनुभवी खेलाडीको आगमनले रोयल्स टिम मात्र नभएर समग्र नेपाली क्रिकेटलाई फाइदा पुग्ने विश्वास लिएको बताएका छन्।
स्कटसँग विश्वका क्रिकेटको शीर्ष फ्रेन्चाइज लिग खेलेको अनुभव छ। वहाँले सन् २०११ देखि प्रथम श्रेणी क्रिकेट खेल्दै आएका छन्।
टी२० क्रिकेटमा २६ को औसतले १ सय ६८ विकेट लिनुका साथै ब्याटिङतर्फ १ सय ३४ को स्ट्राइक रेटले १ हजार २२ रन वहाँको नाममा छ।
यसबाहेक प्रथम श्रेणी क्रिकेटमा उनले २७ को औसतमा रन जोड्दै ४ शतक र १८ अर्धशतक प्रहार गरेका छन्।
रोयल्सले यसअघि विदेशी खेलाडीको रुपमा स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई अनुबन्ध गरिसकेको छ।
त्यस्तै अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हज प्रमुख मेन्टरमा छन्। दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन्।
रोयल्सले आइकोनिक खेलाडी टोलीमा समेट्न खुला छनोट पनि गर्दैछ। रोयल्सले कार्तिक २८ गते गर्ने ट्यालेन्ट हन्टबाट एक आइकोनिक खेलाडी र ४ सुदुरपश्चिम हिरोज छनोट गर्नेछ।
छनोट कार्यक्रम धनगढीमा हुनेछ।
आइकोनिक खेलाडी रोयल्सको एनपिएल टोलीमा समावेश हुनुका साथै ४ हिरोज पनि टोलीसँग रहेर नै प्रशिक्षण गर्नेछन्। छनोटका लागि रोयल्सले सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँग समन्वय गरिरहेको छ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपीएल सुरु हुनेछ।
टोली
दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन, सेफ अलि जेब।
Shares

प्रतिक्रिया